फिचर

के अमेरिकाले चीनमा हुने शीतकालिन ओलम्पिक बहिष्कार गर्दैछ ?

GETTY IMAGES

काठमाडौं । पश्चिमा संचारमाध्यमहरुका अनुसार चीनमा आयोजना हुने शीतकालिन ओलम्पिकलाई अमेरिकाले बहिष्कार गर्ने योजना बनाइरहेको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले आगामी वर्ष बेइजिङमा हुन लागेको शीतकालीन ओलिम्पिक्सको कूटनीतिक बहिष्कारबारे आफूले सोचविचार गरिरहेको बताएको बीबीसीले लेखेको छ । मेक्सिको र क्यानडाका नेताहरूसँगको वार्ताअघि उनले संवाददातासँग यस्तो बताएका हुन्. ।

यसो भएमा अमेरिकी खेल अधिकारीहरु चीन जान पाउने छैनन् । तर, खेलमा भाग लिने खेलाडीलाई भने बहिष्कारले असर नगर्ने समाचारमा जनाइएको छ । पाँच वर्षपछि भएको पहिलो उत्तर अमेरिकी सम्मेलनमा मेक्सिको र क्यानडाका नेता वासिङ्टनमा भेला भएका छन् ।


अमेरिका र चीनबीच व्यापार, मानवअधिकार र हङकङ तथा ताइवान मामिलालाई लिएर तनाव बढिरहेको छ।गत सोमवार बाइडनले चिनियाँ समकक्षी सी जिन्पिङसँग गरेको भिडियो कुराकानीमा ओलिम्पिक्सबारे भने कुराकानी नगरेको बताइएको छ । चीनमा मानवअधिकार हनन भएको र उसलाई दवाव दिनु पर्ने भन्दै अमेरिकामथि चीनसँग कूटनीतिक बहिष्कार गर्न दवाव बढेको हो । बेइजिङमा आगामी फेब्रुअरी ४ तारिखमा शीतकालीन ओलम्पिक्स सुरु हुँदै छ।