फिचर

गैरआवासीय नेपाली संघको नयाँ निर्वाचन मिति तय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचनको नयाँ मिति तय गरिएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तका अनुसार संघको १० औं अन्तर्राष्ट्रिय महाधिवेशन आगामी डिसेम्बर १९ र २० मा आयोजना गरिनेछ । संघको नयाँ कार्यसमितिको नेतृत्वको लागि निर्वाचन डिसेम्बर भने १५ तारिखका दिन तोकिएको छ ।

गत महिनाको लागि तय गरिएको गैरआवासीय नेपाली संघको १० औं महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलन परराष्ट्र मन्त्रालयको परिपत्र अनुरुप स्थगित भएको थियो । विश्वभर फैलिएका गैरआवासीय नेपालीहरुले उत्साहका साथ तयारी गरिरहेको संघको महाधिवेशन तथा अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन प्रक्रिया स्थगित गर्न परराष्ट्र मन्त्रालयबाट १० सेप्टेम्बरमा पत्र गएको उनले बताएका छन् ।

मन्त्रालय र संघबीच पटक पटक औपचारिक तथा अनौपचारिक छलफल भएको समेत उनको भनाई छ । केहि समय अगाडि अध्यक्ष समेत संलग्न वार्तामा परराष्ट्र मन्त्री डा. नारायण खड्कासंग परराष्ट्र मन्त्रालयमा संघको महाविधेशनको बारेमा घनिभूत छलफल भएको समेत उनले बताएका छन् ।

संघले मन्त्रालय समक्ष महाधिवेशन तथा विश्व सम्मेलनको बारेमा प्राप्त असहमतिका बारेमा आफ्नो मार्गचित्र समेत प्रस्तुत गरेको अध्यक्ष पन्तद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । मन्त्रीबाट प्राप्त सकारात्मक प्रतिक्रिया र संघका विभिन्न बैठकले गरेका औपचारिक निर्णयहरुको आधारमा नयाँ निर्वाचन मिति तोकिएको उनको भनाई छ ।