विज्ञान प्रविधि

आजबाट मौसम खुल्यो, उच्च भेगमा हिमपात भने हुन सक्ने

THT

काठमाडौं । विगत एक सातायता प्रतिकुल बनेको मौसममा आजबाट सुधार देखिएको छ । काठमाडौं उपत्यकासहितका क्षेत्रमा घाम लागेका छन् । अरब सागरमा बनेको न्यूनचापीय प्रणालीबाट प्रभावित नेपालको मौसम प्रणालीमा आजबाट सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर सामान्यतया मौसम सफा रहने भए पनि प्रदेश १ मा वर्षा र हिमपातको सम्भावना छ।

महाशाखाका अनुसार नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएका कारण मौसममा ठूलो परिवर्तन आउने छैन । प्रदेश नं १, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहेको र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जानकारी गराएको छ ।

मध्याह्नबाट मौसम क्रमिक सुधार हुँदै जानेछ । यस अवधिमा देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदलीका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का हिमपात सम्भावना छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । तर, ठूलो पानी पर्ने सम्भावना छैन ।