विश्व

अफगान महिलालाई टेलिभिजन नाटकमा अभिनय रोक, यस्ता छन् तालिबानका नयाँ प्रतिबन्ध

एजेन्सी । अफगानिस्तानमा महिलालाई टेलिभिजन नाटकमा अभिनय गर्न प्रतिबन्ध लगाइएको छ । तालिबान सरकारले एउटा नयाँ निर्देशिका जारी गर्दै महिलालाई टेलिभिजन नाटकमा प्रतिबन्ध लगाएको हो ।

त्यसैगरी महिला पत्रकार र टेलिभिजन प्रस्तोतालाई सम्पूर्ण अनुहार छोप्ने बस्त्र लगाउन निर्देशन दिइएको छ । अफगानिस्तान टेलिभिजन च्यानलका लागि जारी गरिएको निर्देशिकामा आठ ओटा नयाँ नियम रहेको जनाइएको छ ।

जसअनुसार मुसलमानहरुको मूल्य र मान्यताविपरीत वा शारिया सिद्धान्तविरोधी फिल्मदेखि कमेडी शृंखला प्रसारणमा रोक लगाइएको छ ।

मुस्लिम धर्म वा आमअफगानिका लागि अपमानित हुने हास्य तथा रमाइला कार्यक्रममाथि पनि प्रतिबन्ध लगाइएको छ । विदेशी सांस्कृतिक मूल्य र मान्यता प्रबद्र्धन हुने चलचित्रलाई प्रतिबन्ध लगाउन तालिबानले जोड दिँदै आएको छ । अफगान टेलिभिजन च्यानहरुले प्रायः विदेशी नाटक प्रसारण गर्छन् ।

ती नाटकहरुमा अफगान महिलाहरु मुख्य भूमिकामा देखिन्छन् । अफगानिस्तानको पत्रकारहरुको संगठनका सदस्य हुजातुल्लाह मुजाडेडीले नयाँ प्रतिबन्ध अप्रत्यासित भएको प्रतिकृया दिएका छन् ।