समाचार

नेपालमा अब १८ वर्ष भन्दा माथिका सबैले कोरोनाको खोप लगाउन सक्ने

Photo : BBC

काठमाडौं । नेपालमा अब १८ वर्ष माथिका सबै नागरिकले कोरोना विरुद्धकोखोप लगाउन सक्ने भएका छन् । यसअघि सरकारले लक्षित वर्ग र उमेर समुह तोक्दै खोप लगाइरहेको थियो । अब भने छुटपुट सबै नागरिकले खोप लगाउन सक्ने भएका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यस्तो व्यवस्था गरेको हो । सोही अनुसार सोमबार अधिकांश स्थानीय तहले सूचना निकाल्दै खोप लगाउन आउन आह्वान गरेका छन् ।

यसअघि खोप लगाउन छुटेका सबैलाई खोप केन्द्रमा गई खोप लगाउन मन्त्रालय र स्थानीय तहले आह्वान गरेका छन् । सरकारले आगामी पुस मसान्तभित्र दुई तिहाई र चैतमसान्तसम्म लक्षित सबैलाई खोप लगाउने लक्ष्य लिएको छ । यसबीचमा दुई करोड १७ लाख नागरिकमा खोप पुर्याउने लक्ष्य लिइएको छ । अहिलेसम्म कूल जनसङ्ख्याको ३० प्रतिशत जनसङ्ख्याले पहिलो मात्रा र २६ प्रतिशत जनसङ्ख्याले दोस्रो मात्रा समेत पाइसकेको तथ्यांक छ ।