विज्ञान प्रविधि

नेपालको आफ्नै भू-उपग्रहसम्बन्धी काम गर्न चार कम्पनी सर्टलिस्टमा, कसले पाउला जिम्मेवारी ?

काठमाडौं । नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) सम्बन्धी काम गर्ने सम्बन्धी अध्ययन गर्न चार कम्पनी छनोट (सर्टलिस्ट) मा परेका छन्। स्याटेलाइटको नियमन र सुरक्षासम्बन्धी आवश्यक नीति, बिजनेस मोडालिटी एवं संचालनबारे आशयपत्र बुझाएका ८ कम्पनीमध्ये नेपाल दूरसञ्चार प्राधिकरणले चार कम्पनी छनोट गरेको जनाएको छ । प्राधिकरणका अनुसार फ्रान्सको युरोकन्सल्ट, टर्कीको टर्कस्याट, यूएईको एसथ्री टेल इंक र थाइल्याण्डको थाइकम यस प्रयोजनका लागि छनोट भएका कम्पनी हुन् ।

प्राधिकरणका अनुसार सर्टलिस्टमा परेका ४ कम्पनीमध्ये उनीहरुको अनुभव र आर्थिक, प्राविधिक प्रस्तावका आधारमा पुनः छनोट प्रक्रिया अघि बढाइने भएको छ । प्राधिकरणले यसअघि दुई पटकसम्म योग्य कम्पनी नभेटेको भन्दै खारेज गरेको सेटलाइटसम्बन्धी ठेक्का प्रक्रिया पुनः थालेको थियो । सन् २०२२ भित्र आफ्नै स्याटेलाइट सञ्चालनमा ल्याउने भन्दै भू–उपग्रह सम्बन्धी नीति सार्वजनिक गरिएको छ ।

यसअघि नेपालको आफ्नै स्याटेलाइट राख्ने गरी प्राधिकरणले २०७३ साल असोज २० गते आह्वान गरेको आशयपत्रमा १२ देशका २२ कम्पनीले स्याटेलाइट राख्न रुचि देखाएका थिए । अमेरिका, चीन, भारत, थाइल्यान्ड, सिंगापुर, क्यानडा, फ्रान्स, जापान, कोरिया, साउदी अरेबिया, रसिया र इजरायलका गरी २२ कम्पनीले नेपालका लागि स्याटेलाइट राखिदिने रुचिसहित प्रस्ताव पेश गरेका थिए ।

२०७३ असोजमा पहिलो पटक मागिएको आशयपत्र समयसापेक्ष नभएको भन्दै २०७७ मंसिर २२ मा सबै प्रक्रिया खारेज गरिएको थियो । नेपालले हाल विभिन्न विदेशी भू(उपग्रहहरुको प्रयोग गरी दूरसंचार तथा टेलिभिज सेवा प्रशारण गरिहेको छ । जसका कारण नेपालले भू–उपग्रह शुल्कवापत अर्बौ रुपैयाँ विदेशिएको छ ।