बिचार

सोचे झै नेपाली राजनीति रैनछ

सुपेन्द्र बस्नेत, बोष्टन

(संझनामा: घोराही आक्रमण ०५८/०८/०८)

नेपाली सांगितिक क्षेत्रमा ‘साचे झै जीन्दगी रैनछ’ बोलको गीत एकाएक निकै चर्चित भयो। जो अहिले पनि उति नै सान्दर्भिक, समसामयिक र चर्चित छ।
गहन मन छुने शब्दहरु, कर्णप्रिय संगीत र सुमधुर स्वरको सर्वोत्तम समिश्रणका कारण यस गीतले रातारात वाह वाहीसहित चर्चा कमाउन सफल भयो। यस गीतले दिने मनोरञ्जनात्क आनन्द र सन्देश साच्चै कदरयोग्य छन्। नेपाली सांगितिक क्षेत्रको संरक्षण, संवर्द्धन र विकासका लागि यसले खेलेको भूमिकाको मुल्याङकनको छुट्टै पाटो छ। यसको अलवा, यस गीतको मुखडा ‘सोचे झै जिन्दगी रैनछ’ भन्ने वाक्यले मानव जीवन यापनको संक्षिप्त यथार्थ चित्रण गरेकाले जनजनको मन छुन र मनमा बस्न सफल भयो। जुन सारगर्भित वाक्यलाई यति बेला देशको राजनीति, नेतृत्वकर्ताका भूमिका र देश र जनताको वर्तमान अवस्थासंग जोडेर हेर्दा ‘सोचे झै राजनीति रैनछ’ भन्नेमा पुगेका छन् नेपाली जनता। नेपाली राजनीतिमा देश र जनतालाई सर्वोपरी ठानि समृद्धिको स्वाद चाख्ने सपना देखेर राजनीतिक परिवर्तनमा होमिएको पनि झण्डै एउटा पुस्ता कै आयु बराबर भै सक्यो। तर, उपलब्धिका हिसाबले राजनीति कोर्स जहाँको त्यही देखिन्छ । देशको वर्तमान ब्यवस्थालाई आफूले उठाएको प्रमुख मुद्दा र राजनीतिक उपलब्धि ठान्नेहरुको पृष्ठभूमि र राज्य ब्यवस्थाको परिवर्तनसंगै सत्तामा पुगेपछि उनिहरुले बोल्ने बोली, हिड्ने बाटो, निर्वाह गरेका भूमिकाहरु र उनिहरुको जिवनशैलीबीचको तारतम्यतालाई नियालेर हेर्दा ‘सोचे झै रैनछ राजनीति’ भन्ने निष्कर्ष निकाल्न गाह्रो छैन। २०५१ सालमा नयाँ नेपाल बनाउन आवश्यक आमूल राजनीतिक परिवर्तनको लागि भन्दै ‘जनयुद्ध’ का नाममा राज्य ब्यवस्था कै बिरुद्ध अन्तिम युद्ध लड्न बिगुल फुकेर जंगल पसेदेखि २०६२/०६३ को जनआन्दो हुदै आजसम्म आइपुग्दा यसबीचमा सत्ता र व्यवस्थाको बिद्रोही पक्षले जनबिद्रोहका नाममा र साशक पक्षले देशद्रोहीलाई सफाया गर्ने नाममा चलाएका आआफ्नै अभियानहरुले पुर्याएको क्षतिहरु साच्चै अपूरणीय र काहली लाग्दा छन्। जसबाट सारा जनता प्रत्यक्ष वा परोक्ष प्रभावित भए नै। त्यसबाट म पनि अछुतो रहन सकिन। आफूलाई भाग्यमानीको कित्तामा उभ्याउँ वा अभागीको कित्तामा। पञ्चायतकालदेखि प्रजातन्त्रको पुनर्स्थापना, राजाको प्रतक्ष्य शासन हुदै गणतन्त्रसम्म आइपुग्दा घटेका कयौं बिभत्स घटनाहरुको धेरथोर साक्षी किनारा बसेको छु। हरेक वर्षको मंसिर ८ नजिकिदै गर्दा तिनै साँक्षी किनारा बसेका घटनाहरुको विशेष याद आउँछ।तिनै मध्यको एक घटना हो तत्कालीन माओवादीले गरेको दाङ घोराही आक्रमण।जसलाई संझदा अहिले पनि अहिले आँङ नै सिरिङ्ग भएर आउछ। मंसिर ८ को पूर्व सन्ध्यामा आज त्यही घटनाको परिस्थितिसहित आफ्नो अनुभव यहाँहरु समक्ष पस्किने जमर्को गर्दैछु।जसलाई लिखित रुपमा पहिलो पटक सार्वजनिक गर्दैछु।
माओवादीले पश्चिमतिर आफ्ना क्रियाकलापहरुलाई उत्कर्षमा पुर्याई रहेका बेला म जिडब्लु/सेभ द चिल्ड्रेनमा आवद्ध भइ कपिबस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कन्चरपुर जिल्लाहरुलाई कार्यक्षेत्र बनाएको परियोजना सञ्चालनका लागि महत्वपूर्ण जिम्मेवारी वहन गरेर प्रभावकारी कार्यक्रम सञ्चालनका लागि कपिलबस्तुदेखि कन्चनपुरसम्म दौडाहामा व्यस्त थिएँ। यस कार्यक्रमको जिल्ला जिल्लामा कार्यक्षेत्र अनुसार शाखा कार्यालयहरु र लक्षित समुदायका लागि ड्रपइन सेन्टरहरु रहेका थिए। जसको मुख्य कार्यालय भने दाङ घोराहीमा थियो।जो मेरो मुख्य कार्य थलो थियो। यद्यपि, कार्क्रमको योजना तर्जुमा, सञ्चालन, अनुगमन, मुल्याङन, सरोकारहरुसंगको बैठक तथा तालिमका दौरानमा कार्य क्षेत्र भित्रको दौडाहा अत्यधिक नै हुन्यो। यसै सिलसिलामा २०५८ साल मंसिर ८ गतेको कुरा हो। म सरोकारवालहरुसंगको बैठक, तालिम र शाखा कार्यालहरु अनुगम तथा सहयोग गर्ने झण्डै एक साताको कार्यतालिका अनुसार महेन्द्रनगर, धनगढी, बर्दिया र नेपालगञ्ज हुदै दाङ घोराहीस्थित क्षेत्रीय कार्यालमा फर्किएको थिए।हुन त म नेपालगञ्जबाट ९ गते फर्किने योजना थियो। तर, काठमाण्डौंबाट भरत राउत सर दाङ आइपुग्नु भएको र कार्यक्रम सम्बन्धि विषेश छलफल र बैठक बस्नु पर्ने खबर पाए पछि बसाई छोट्याएर एक दिन अगाडि नै (मंसिर ८ गते)दाङ घोराही फर्किएको थिए। द्वन्द्वका कारण सुरक्षाका नाममा बाटो भरी हुने कष्टकर चेक जाँचका कारण नेपालगञ्जबाट बिहान सबेरै यात्रा गरेको भएपनि, बल्ल तल्ल १२ घन्टापछि घोराही कार्यालय बेलुका ६ बजे पुगें।कार्यालय पुगेर लामो स्वास फेर्दै कागतपत्रहरु थन्कोमन्को गरेर भोली पल्टको बैठकको तयारीका लागि केही बेर कम्प्युटरमा बसें। त्यतिबेला जिम्मेवारी र कामको चापले विहान बेलुका वा बिदाको दिन केही नभनी काम गरिन्थ्यो। तर, चाँडै रात पर्ने र सुरक्षाका दृष्टिकोणले अबेर गरी घर बाहिर निस्कन नहुने भएकाले कार्यालयमा धेरै अलमल नगरी बासस्थानतिर लागें।कार्यालय तत्कालिन नेपाल पत्रकार महासंघका सभापति के बि मसाल ज्यूको घरमा थियो, भने वासस्थान २०० मिटर पर उत्तर तर्फ घोराही चौराह नजिकै विद्युत कार्यालयको आडैमा रहेको घरमा थियो। हस्याङफस्याङ गरेर जादा जादै एक्कासि बाटैमा ड्वाङ र भटटट… पड्कियो। डरले आत्तिएर ज्यान जोगाउन यसरी कुलेलाम ठोकिएछ कि, केही फड्को मै बासस्थानको च्यानल गेट भित्र छिर्न सफल भएछु। धन्न च्यानल गेट बन्ध गरिसकिएको रहेनछ। भित्र साथीहरु मसंगै खाना खाने भनेर कुर्दै रहेछन्। बम र गोलीको पड्किएको आवाज रोकिनुको सट्टा झनझन बढ्न थाल्यो। पछि प्राप्त भएको जानकारी अनुसार त्यतिबेला माओवादी लडाकुहरुले घोराही आक्रमणलाई सफल बनाउन रणनितिक हिसाबले पहिला विद्युत अवरुध्द गराउनका लागि मेरो बासस्थानसंगै टाँसिएको विद्युत कार्यालयमा आक्रमण गर्दै गरेका रहेछन्। खाना खाने त परै जाओस्, साथीहरुसंग हेलो हाइ पनि गर्न भ्याइएन। हत्तनपत्त भर्याङमा घिस्रिदै माथिल्लो तलामा रहेको आफ्नो कोठातिर लागें। हतार र त्रासका कारण कोठाको ताला खोल्न हम्मे हम्मे नै पर्यो। बल्लतल्ल कोठा भित्र छिरेर केही राहतको सास फेरे। पड्किरहेको बम र चलिरहेको भटटट… गोलीका आवाजहरु तत्कालीन माओवादी र सुरक्षा निकायहरुका बीचको भिडन्तको हो भन्ने अनुमान लगाउन गाह्रो भएन। किनकि लामो समयदेखि घोराही आक्रमण हुन सक्ने गाँइगुई हल्ला चलिरहेको थियो। साथीहरु पनि आआफ्नो कोठाभित्र छिर्नु भयो। त्यस भवनको दोश्रो तलामा मसंगै काम गर्ने निर वाग्ले सर, वित्तीय क्षेत्रमा कार्यरत मित्र संजय गिरी, दूरसञ्चारमा कार्यरत सम्पूर्णमान श्रेष्ठ र निर्वाचन आयोगमा कार्यरत पोखरेलसर बस्थ्यौं। हरेकको छुट्टा छुट्टै कोठा भएकाले आआफ्नै कोठामा छिर्यौं। झण्डै २ घण्टा आआफ्नै कोठामा बन्दक भयौं। बम पड्किने र गोली चलेर घरका भित्ताहरुमा लाग्नेक्रम रोकिनुको सट्टा झनझन बढ्दै जाँदा झ्यालमा सिसा भएका कारण जोखिम झन बढेको महसुस गर्यौं । र, थप सुरक्षा आवश्य भएको महसुस गरेर सुस्त आवाजमा सबै जनाबीचको कोठा भएको साथीकोमा बस्ने सल्लाह गर्यौं। आडैमा रहेको विद्युतको कार्यालय र अन्यत्र दोहोरो भिडन्तमा अनवरत चारैतिरबाट चलिरहेको गोलीका कारण अब बाँचिन्न कि भन्ने लाग्यो। र, भगवान र परिवार संझदै सुरक्षाका लागि सबै जना बिचको कोठामा आश्रय लियौं।हामीलाई लक्षित गरेर गोली चलेको त थिएन । तर, चारैतिर दोहोरो भिडन्तको आवाज सुनिरहिएको, आडैमा रहेको विद्युत कार्यालय र चौराह आफ्नो कब्जामा रहेको सञ्चार माओवादी लडाकुहरुबीच भइरहेको प्रष्टै सुनिन्थ्यो। गोलीका आवाजहरु सुन्दा चलाइएका गोलीहरुको अन्तिम गन्तव्य हाम्रो बासस्थानका भित्ताहरु रहेको भान हुन्थ्यो। हाम्रो बासस्थान घोराहीको चौराहमै रहेकाले हामी माओवादी लडाकुहरुको घेराबन्दीमा परेका थियौं। चुइक्क आवाज निकाल्ने वा चल्ने चटपटाउने आँट कसैमा थिएन। परिवार संझने र भगवान पुकार्ने बाहेक अरु केही गर्ने आँट आएन। त्यस्तो अवस्थामा ज्यान जोगाउने त्यो भन्दा उत्तम उपाय अरु केही थिएन पनि। जति जति रात छिप्पिदै गयो, उतिउति भिडन्तले उग्ररुप लिदै थियो। मुख्य गरी बासस्थानको पूर्वमा रहेको प्रहरी कार्यालय, ट्राफिक कार्यालय, स्वास्थ्य कार्यालय, दक्षिणमा रहेको सिडियो कार्यालय, निर्वाचन कार्यालय, उत्तरमा रहेको सेनाको व्यारेक, जेल, मालपोत कार्यालय, बैंक, अन्य सरकारी कार्यालयहरु र पश्चिममा रहेको इलाका प्रहरी कार्यालय पनि माओवादी लडाकुहरुको आक्रमणको निसानामा परेका थिए ।

रातै भरी भिडन्त जारी रह्यो। जमीनमा भएको भिडन्तमा एकपछि अर्को गरी पराजय व्यहोर्दै हरेस खाएको सरकारी सुरक्षा कर्मीहरुलाई ढाडस दिन, थप बल पुर्याउन र माओवादी लडाकुहरुलाई तितरबितर पारी परिस्थितिलाई काबुमा लिन आकासमा नाइट भिजन पनि उडिरहेको थियो। साँझैदेखि सुरु भएको आक्रमण र बम गोली पड्केको आवाज विहानी पखसम्म पनि जारी नै थियो। त्यो भिडन्तको आवाज सुन्दा निकै ठूलो जनधनको क्षति भएको अनुमान गर्न गाह्रो थिएन।त्यतिबेला घटनाका बारेमा सार्वजनिक भएको तथ्याङ् अनुसार मेजरसहित १४ नेपाली सेना, सात प्रहरी र सात माओवादी लडाकुहरु मारिएका थिए। तर, हताहति, घाइते र क्षतिको यथार्थ पूर्ण विवरण नआएको आशंका आजसम्म पनि जिवित नै छ।
उत्त आक्रमणबाट माओवादी लडाकुहरुले सेनाको व्यारेक कब्जा गरेर ठूलो परिणाममा हातहतियार लिइ विजयाउत्सव मनाउदै हलेरीतिर लागेका थिए। त्यतिबेला समस्या समाधानका लागि भन्दै राज्य पक्ष र माओवादीकाबीच वार्ता चलिरहेको थियो। तर, माओवादीले घोराही आक्रमण गरेर युद्धविराम भङ्ग भएको घोषणा गरेको थियो। त्यस लगतै राज्य पक्षले मंसिर ११ गते संकटकाल लागू गरेको थियो।
उज्यालो हुन सुरु भएसंगै विस्तारै भिडन्तको आवाजहरु मलिन हुदै गए। उज्यालो त भयो। तर, परिस्थिति नउज्यालिएका कारण दुस्साहस गरेर घरबाट कोही बाहिर निस्किन सकिरहेका थिएनन्। निस्कुन पनि कसरी ? अरु दिन मानिसका चहलपहलले व्यस्त हुने घोराही चोक(चौराह) र चोक(चौराह)संग जोडिने शाखा सडकहरु अबेरसम्म चकमन्न झै थिए। सञ्चारका माध्यमहरु अवरुध्द भएका कारण परिस्थिति र परिणामका बारेमा अनुमान गर्नु बाहेक अरु केही गर्न सक्ने अवस्था थिएन। सुरक्षा निकाय प्रहरी र सेनामा कार्यरत चिनजानकाहरुको अवस्था बुझ्न र घटना स्थलहरु निरिक्षण गर्न मन आतुर गर्दै निकै उकुसमुकुस भैरहेको थियो। तर, साथीहरु बाहिर निस्किन सहमत भैरहेका थिएनन्। एउटै संस्थामा आबद्ध चितवनका सिताराम भट्ट सरको भाइ पनि रणसङ्ग्राम भएको घोराही व्यारेकमै कार्यरत भएकाले उहाँको वास्तविक अवस्था जान्नु र सोको जानकारी परिवारलाई दिनु आफ्नो कर्तव्य ठान्दै आआफ्नो सम्पर्क सुत्रका संयन्त्रहरु प्रयोग गरेर खोजी कार्यमा जुट्यौं।तर, सुरक्षा र सञ्चारको अवस्था तहसनहस भएका कारण खोजी कार्य निकै चुनौतीपूर्ण र लगभग असम्भव नै थियो। कार्यालय रहेको घरबेटी पत्रकार के बि मसालज्यूले पनि यथार्थ पत्तालगाउन भरमग्दूर प्रयास गर्नु भयो। हामीहरु पनि साहस जुटाएर मध्यान्नपछि सिधै व्यारेकतिर लाग्यौं।
फाट्टफुट्ट मानिसहरु बाहिर निस्किदै थिए। व्यारेकमा पुगेर लडाईका क्रममा ध्वस्त भएको र जल्दै गरेको घटना स्थलका भग्नावशेषहरुको बस्तुस्थिति हेर्दा उहाँ जिवीतै हुनुहुन्छ होला भन्ने दरिलो आशा एक्कासी लल्याकलुलुक नै भयो। सोधखोज गर्नका लागि त्यहाँ कसैसंग पनि सम्पर्क गर्न सकिएन। यद्यपि, निरासाले ढक्क फुलेको छातिमा झिनो आशा लिएर हामी फर्कियौं। फर्किने क्रममा लडाइका क्रममा ध्वस्त भएका दुरसञ्चार, मालपोत, बैंक, जेल लगायत ठाँउहरु हेर्दा भट्ट सरको भाइको जीवन रक्षा हुनु पर्छ भन्ने भित्रि चाहना भए पनि जीवन रक्षा भएको छ भन्ने आशालाई भने निकै कमजोर बनाइदियो।कसरी र के जानकारी गराउने होला भन्ने चिन्ताले साह्रै सताइरहेको थियो। भाग्य बस बासस्थानमा पुगेपछि सहकर्मी भाइ दिनेश चौलागाईसंग भेट भयो। र, उनले भट्टज्यू आफ्नो सम्पर्कमा आएको र सकुशल रहेको जानकारी दिएपछि खुसीको सिमा रहेन। यद्यपि, तहसनहस भएका घटना स्थलहरुको यथार्थ वस्तुस्थिति प्रतक्ष्य देखेका कारण झट्ट पत्याउन भने अझै गाह्रै पर्यो।

सरकारी, गैर सरकारी, वित्तीय संघसंस्था, सञ्चार, शिक्षा, स्वास्थ्य, यातायात, व्यापार लगायतका क्षेत्रहरु लामोसमयसम्म प्रभावित भइनै रहे।साराका सारा सरकारी संयन्त्र ध्वस्त भएकाले के गर्ने ? के नगर्ने ? कसरी उठ्ने ? कहिले पहलेको अवस्थामा पुग्ने ? आदि इत्यादीका बारेमा लामो समयसम्म अन्योमा रह्यो घोराही। यही घटनाका कारण दातृ निकायले यथासिघ्र क्षेत्रीय कार्यालय घोराहीबाट नेपालगन्ज सार्न अनुरोध गर्यो। परियोजनाको कार्य क्षेत्र र लक्षित समुदायका दृष्टिकोणले हामी नेपालगञ्ज सर्ने मनस्थितिमा त थिएनौं । तर, सहयोगी संस्थाको तारनतार ताकेता भएपछि दाङ जिल्लाको कार्यक्षेत्रलाई हेर्न शाखा कार्यालय(युनिट अफिस) सोही स्थानमा रहने गरी हतार हतारमा क्षेत्रीय कार्यालय नेपालगञ्ज सार्यौं। सुरक्षा र कार्यक्रम सञ्चालनका दृष्टिकोणले निकै चुनौती व्यहोर्नु पर्ने स्थान भएकाले अन्य कति संघसंस्थाहरुले आफ्ना गतिविधिहरुलाई खुम्च्याए, कतिले दाङ घोराही नै छाडे।
त्यो घटनाका परिदृष्यहरु र भोगाइहरु बेला बखतमा मेरो मानष्पटलमा ताजै झलझली याद आउछ। रौंहरु ठडिदै छाति ढक्क फुलेर आउछ।अझ त्यो रणसङ्ग्राममा राज्यपक्ष र विद्रोही पक्षबाट होमिएहरुलाई र तिनका परिवारहरुलाई कस्तो हुदो हो। मंसिर ८ गतेको पूर्व सन्ध्यामा उक्त अप्रिय घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै जीवन गुमाउनेहरुप्रति हार्दिक श्रध्दाञ्जलि अर्पण गर्दछु। र, परिवारजनहरुप्रति हार्दिक समवेदना प्रकट गर्दछु।आमुल परिवर्तनका लागि भन्दै जनयुद्धका नाममा भएका कयौं कहाली लाग्दा घटनाहरु मध्यको यो एक प्रतिनिधि घटना मात्र हो। कामको शिलशिलामा यसका अलवा जीवन मरणसंग सम्बन्धित धेरै घटनाहरु व्यहोर्नु पर्यो। द्वन्दकालमा यस्ता धेरै घटनाहरु घटे। जसले जनधनको ठूलो क्षति गर्यो। देश र जनताले निकै खति व्यहोर्नु पर्यो। यद्यपि, देश र जनताको नाममा भएका यस्ता राजनितिक विद्रोह र आन्दोलनहरुका क्रममै र किनारा लागेपछि जनतामा अब सुख,शान्ति, समृद्धि र अमन चयन स्थापित हुनेमा आशावादी थिए। देश संघीय लोकतान्त्रिक गणतन्त्र घोषित गरी संविधानसभा मार्फत संविधान निर्माण गरी कार्यान्वयन गर्ने क्रममा अघि बढ्दै गर्दा आफू र सन्ततिको उज्वल भविश्यका लागि आवश्यक समृध्दि मौलाउदै गएकोमा विश्वस्त हुदै गएका थिए। तर, आश्चर्य र घृणा लाग्दा पछिल्ला राजनितिक घटनाक्रमहरु, राजनितिक दलहरु र तिनका नेता भनाउदाहरुका भूमिकाहरुले भने ति आशा र भरोसाहरुका पालुवाहरु निर्मोही रुपमा निमोठी दिएका छन्। राजनितिक व्याख्याहरु, अभ्यासहरु, राजनिक दल तथा तिनका नेताहरुले लिएको मार्ग र खेलेका भूमिकाहरु र विदेशीहरुको बढ्दै गएको ताण्डव नृत्यहरुलाई नजिकबाट नियाल्दा प्राप्त उपलब्धिहरु गुम्ने खतरा मात्र हैन, नेपाल र नेपाली अस्तित्व नै नरहने खतराका संकेतहरु देखा पर्दै गइरहेका छन्। यि सबै परिस्थितिहरुले नेपाली जनतालाई ‘सोचे झैं नेपाली राजनिति रहेनछ’ भन्ने निष्कर्षमा पुर्याएको छ।जसका कारण सच्चा देशभक्त जनताहरुमा निकै सिथिलता, निरासा र निष्क्रियता देखिएको छ। तर, यही अवस्थालाई आफ्नो लक्ष्य पुरा गर्ने उपयुक्त अनुकुलताको अवस्था मानि सक्रियता देखाउनेहरुको भूमिकाहरु साच्चै कहाली लाग्दो देखिदैछ। यस्तो अवस्थामा देशभक्त जनताहरुले बढो सचेत र चनाखो भएर झन सक्रिय हुन जुरुरी छ।विश्वास र भरोसाका साथ सुम्पिएको आफ्नो अधिकारलाई दुरुपयोग गर्ने कुलङ्घार र गद्दाहरुबाट खोसेर तिनलाई दण्ड दिएर देशभक्त नेतृत्वहरुलाई अधिकारसहित जिम्मेवारी सुम्पन अब विलम्ब गर्नु हुदैन। आफ्नो मौलिक हकको संरक्षण, सम्वर्द्धन र सही सदुपयोग गर्न आम जनता चुक्नु हुदैन। देश र जनताको समृद्धिको मेरुदण्ड राजनितिलाई ‘सोचे झैं नै राजनीति रहेछ’ भन्ने अवस्थामा पुर्याउनु अपरिहार्य छ।जो सच्चा नागरिकको कर्तव्य पनि हो। हो, यो सत्य हो कि विविध कारणले नेपालको राजनीति सम्हालेर सहि मार्ग हुदै समृध्दिको गन्तव्यमा पुग्न पक्कै सहज छैन। वर्षौदेखि मौलाउदै आएको राजनीतिक व्यथिति र विसङ्गति झन झन जकडिदै गइरहेको छ। तर, यसो भन्दैमा राजनीतिका नाममा जनताको आसा र भरोसालाई तिलाञ्जली दिएर दाजुभाइ फुट्ने/ फुटाउने, देश र जनतालाई लुट्ने/लुटाउने, आफू र आफ्नाका लागि मात्र जुट्टे/जुटाउने निकृष्ट छुट राजनीतिकर्मीलाई कदाचित् छैन। चेतना भया !
नेपाली कहाँ रहौंला, नेपालै नरहे !