समाचार

कोरोनाको नयाँ भेरियन्टलाई विश्व स्वास्थ्य संगठनले दियो ओमिक्रोन नाम, विश्वभर बढाइयो सतर्कता

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसको नयाँ भेरिअन्टलाई भेरिअन्ट अफ कन्सर्न घोषणा गरेको छ । सो भाइरसलाई ओमिक्रोन नाम दिइएको छ। यो भेरिअन्टको ठूलो सङ्ख्यामा उत्परिवर्तित भएको समाचार छ । बीबीसीका अनुसार प्रारम्भिक प्रमाण अनुसार यो भेरिअन्टबाट सङ्क्रमणको जोखिम उच्च रहेको डब्लुएचओले जनाएको छ। यो भेरिअन्ट पहिलो पटक नोभेम्बर २४ तारिखमा दक्षिण अफ्रिकामा पाइएको हो । हालसम्म ‌ओमिक्रोन बोत्स्वाना, बेल्जियम, हङकङ र इजरायलमा पुष्टि भएको छ।

कैयौँ देशहरूले दक्षिण अफ्रिका जाने वा आउने क्रमलाई पूर्ण प्रतिबन्ध लगाएका वा सीमित पारेका छन्। दक्षिण अफ्रिका, जिम्बाब्वे, बोत्स्वाना, लेसेथो अनि इस्वाटीटीबाट आउने यात्रुहरूमा उनीहरू यूके वा आयरल्यान्डका नागरिक वा यूकेका वासिन्दा रहेको अवस्था बाहेक अन्यलाई प्रवेशमा रोक लगाइएको छ। अमेरिकाले पनि यस्तै खाले व्यवस्था कायम गरेको छ। यी व्यवस्था सोमवारबाट लागु हुने छ। युरोपेली सङ्घ अन्तर्गतका राष्ट्र र स्वीट्जरल्याण्डले पनि अस्थायी रूपमा दक्षिण अफ्रिकी राष्ट्रहरूसँगको हवाई यात्रामा रोक लगाएका छन्।