समाचार

एमालेमा चरम विवाद, बिहान १० बजे हुने भएको बन्दसत्र अझै शुरु भएन

चितवन । नेकपा एमालेको १० औं महाधिवेशनको बन्दसत्र आइतबार बिहान १० बजेका लागि तोकिएको थियो । आजै निर्वाचन प्रक्रियामा गएर पदाधिकारीको टुंगो लगाउने भनिए पनि चरम विवादका कारण अहिलेसम्म बन्दसत्र समेत शुरु भएको छैन । अध्यक्ष केपी शर्मा ओलीले आफूनिकट नेताहरु विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङलाई केन्द्रीय सदस्यको सूची बनाउन लगाएर आफु छलफलमा जुटेका थिए ।

तर, दिनभरको कसरतमा समेत पदाधिकारीमा सहमति हुन सकेको छैन । ओलीले कुनै पनि हालतमा निर्वाचन हुन नदिने बरु आफुले घोषणा गरेको उमेदवारमा चित्त नबुझे ध्वनी मतका आधारमा अश्विरकार गराउने रणनीतिमा छन् । उनलाई भीम रावल, घनश्याम भुषाललगायतका नेताले चूनौति दिइरहेका छन् । राति ८ बजेपछि बन्दसत्र सुरु हुने भनिएपछि प्रतिनिधिहरु होटेलमा छिरेका छन् । तर, शुरु भने हुन सकेको छैन ।