समाचार

महाधिवेशन छाडेर काठमाडौं हान्निए लालबाबु पण्डित, केन्द्रीय सदस्य परित्याग

काठमाडौं । यतिबेला नेकपा एमालेको दशौं महाधिवेशन चितवनको सौराहामा चलिरहेको छ । निर्वाचन हुने भएसँगै उम्मेदवारीको दाबी विरोध चलिरहेको छ । राति ९ बजेदेखि मतदान हुँदैछ । अध्यक्षमा केपी शर्मा ओली र डा. भीमबहादुर रावल आमने सामने भएका छन् ।

तर ओलीका प्रियपात्र नेता लालबाबु पण्डित भने महाधिवेशनस्थल छोडेर काठमाडौं आइपुगेका छन् । पदाधिकारीका आकांक्षी पण्डितलाई ओलीले पदाधिकारी सूचीमा नअटाएपछि केन्द्रीय सदस्य नबन्ने घोषणा गर्दै काठमाडौं फर्किएका हुन् ।

‘मैले पहिला नै पदाधिकारीबाहेक अन्य पदमा बस्दिन भनेर घोषणा गरेको थिएँ, सोहीअनुसार केन्द्रीय सदस्य त्याग गरेको हुँ,’ पण्डितले भने, ‘बिहानको खाना खाएर म अहिले काठमाडौं फर्किसकेको छु ।’

उनका अनुसार निर्वाचन समितिले उम्मेदवार दिने अवसर दिए पनि कुनै पनि कार्यकारी पदमा उम्मेदवार रहन भने अनिच्छुक भएकाले काठमाडौं फर्किएका हुन् ।