समाचार

केन्द्रिय सदस्यमा सर्वसम्मत गराउने प्रयासमा एमाले, निर्वाचन प्रक्रिया पर धकेलियो

चितवन । एमालेको १०औं महाधिवेशनको निर्वाचन प्रकिया राती ९ बजेबाट शुरु गर्ने भनिए पनि अझै शुरु हुन सकेको छैन । सकेसम्म केन्द्रिय सदस्यहरुमा सर्वसम्मत गराएर पदाधिकारीमा मात्र निर्वाचन गराउने रणनीतिका साथ नेताहरुलाई मनाउने क्रम जारी रहेको छ । सोहीकारण निर्वाचनको प्रक्रिया समेत पर धकेलिएको हो । निर्वाचन तालिका अनुसार राति ९ बजे उम्मेदवारको अन्तिम नामावाली प्रकाशन गर्ने कार्यसूचि थियो ।

भूगोलबाट प्रतिनिधित्व गर्ने विभिन्न समूहबाट उम्मेदवारी दिएकालाई सर्वसम्मत गराउने कोसिस शीर्ष नेताहरुले गरेका छन् । अहिलेसम्म खुला महिलातर्फ ५३ जना सर्वसम्मत निर्वाचित भएका छन् । भूगोलमा प्रदेश नम्बर २ र कर्णालीमा सर्वसम्मत भएको छ । १९ सदस्यीय पदाधिकारीमा १, १ वरिष्ठ उपाध्यक्ष र महासचिव, ३ उपमहासचिव पदमा सर्वसम्मत चयन भएको छ । यस्तै, १ अध्यक्ष, ५ उपाध्यक्ष, ७ जना सचिवका लागि मतदान हुने निश्चित भएको छ ।