स्वास्थ्य

अमेरिकामा आइसोलेसन बस्ने अवधि आधा घट्यो

photo: google

न्यूयोर्क । अमेरिकामा लक्षण नदेखिएका कोरोनाभाइरस सङ्क्रमितले आइसोलेसनमा बस्नु पर्ने अवधि आधा घटाएको छ । यसअघि दश दिन रहेकोमा अब पाँच दिन मात्र बसेृ पुग्ने भएको हो । सेन्टर्स फर डिजिज कन्ट्रोलले त्यसपछिका पाँच दिन मास्क लगाउन सुझाव दिएको बीबीसीले जनाएको छ । अहिलेका नयाँ सुझावहरू बाध्यकारी छैनन्, तर त्यसलाई अमेरिकाका कैयौँ व्यापारिक समुदाय र नीति निर्माताहरूले नजिकबाट हेरिरहेको समाचारमा उल्लेख छ ।

कोभिड सङ्क्रमणमा वृद्धि भएर अमेरिकाभरिको यात्रा अस्तव्यस्त हुँदा पछिल्लो घोषणा आएको हो। ओमिक्रोन भेरिअन्टले अस्पतालमा भिडभाड बढाउने जोखिम रहँदा राष्ट्रपति बाइडनले परीक्षणमा रहेका कमजोरीसँग जुझ्ने प्रतिबद्धता जनाएका छन्। सीडीसीले विज्ञानमा आधारित रहेरै अहिलेको परिवर्तन सिफारिस गरिएको भन्दै अधिकांश सङ्क्रमण प्रारम्भिक अवस्थाका बिरामीबाट सर्ने गरेको बताएको छ।

उसले कोभिड सङ्क्रमण भएका तर खोप नलगाएका वा बुस्टर खोप लगाउन बाँकी रहेका व्यक्तिहरूबारेका आफ्ना सुझावलाई पनि अद्यावधिक गरेको छ। यस्ता समूहहरूले पाँच दिन क्वारन्टीनमा बस्नुपर्ने र अर्को पाँच दिन कडाइपूर्वक मास्क प्रयोग गर्नुपर्ने उसको भनाइ छ।

बुस्टर खोप लगाएका व्यक्तिहरूले सङ्क्रमितसँग सम्पर्कमा पुगेपनि क्वारन्टीनमा बस्नुनपर्ने तर निरन्तर १० दिन मास्क लगाउनुपर्ने सुझावमा उल्लेख छ। पछिल्लो विवरणबारे जानकारी दिँदै सीडीसीकी निर्देशक रुसेल वुलेन्स्कीले नयाँ परिवर्तनहरूले मानिसहरूले सुरक्षित रूपमा आफ्नो दैनिक जीवनलाई निरन्तरता दिने सुनिश्चित गरेको बताइन्।

यसअघि सोमवार राष्ट्रपति बाइडनले कोरोनाभाइरसको सङ्क्रमणसँग जुझ्न चुनौती देखिए सङ्घीय सहयोगका लागि अनुरोध गर्न गभर्नरहरूलाई अनुरोध गरेका थिए। हाल अमेरिकामा ओमिक्रोन सबैभन्दा सक्रिय प्रकारको भेरिअन्टका रूपमा देखिएको छ र त्यहाँ पछिल्ला दुई दिनमा दैनिक दुई लाखभन्दा बढी सङ्क्रमणका घटना देखा परेका छन्।