विश्व

अमेरिकामा एकै दिन १० लाख माथि कोरोना पुष्टि

GETTY IMAGES

वासिङ्टन डिसि । अमेरिकामा एकै दिन १० लाखभन्दा बढीमा मानिसमा कोरोना संक्रमण पुष्टि भएको तथ्यांक आएको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको यो आङ्कडा अनुसार सोमबार अमेरिकामा १० लाख ८० हजार २११ नयाँ संक्रमित फेला परेका हुन् । यो कुनै पनि मुलुकमा देखिएको हालसम्म कै सबैभन्दा ठूलो सङ्ख्यामा सङ्क्रमण हो । 
संक्रमण बढ्दो क्रममा रहे पनि राष्ट्रपति जो बाइडनले स्कुलहरु खुला राख्न निर्देशन दिएका छन् । जुन निर्णयको यहाँ आलोचना भएको छ ।

कोरोनाको लहर बढिरहेको बेला अमेरिकी अधिकारीहरुले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण उच्च विन्दुमा पुग्न बाँकी रहेको बताएका छन् । प्रमुख स्वास्थ्य सल्लाहकार एन्थोनी फाउचीले अमेरिकामा कोरोनाको ग्राफ तीव्ररुपमा बढिरहेको र महामारी उच्चविन्दुमा पुग्न अझै बाँकी रहेको बताएका छन् ।

अहिले कोरोनाविरुद्धको खोप नलगाएकाहरु अस्पतालमा भर्ना हुने र मृत्यु हुने क्रम जारी रहेको भन्दै उनले सबैलाई खोप लगाउन आह्वान गरेका छन् ।