विश्व

नाइजेरियामा लुटेरा समुहले गरे दुई सय जनाको हत्या

जाम्फारा । नाइजेरियामा लुटेर समूहले एक साताको अवधिमा २ सय जनाको हत्या गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । बन्दुकधारीहरूले नाइजेरियामा स्थानीयको हत्या गरेको परिवारले जानकारी गराएका हुन् । लुटेरा समूहले पछिल्लो एक हप्ताको अवधिमा देशको उत्तरपश्चिमी क्षेत्रको जाम्फारामा यस्तो आतंक फैलाएको रोयटर्सले लेखेको छ ।

आक्रमणबाट श्रीमती र आफ्ना तीन सन्तान गुमाएका उमारी माकेरी नाम गरेका एक व्यक्तिले समाचार एजेन्सी रोयटर्ससँग भने अनुसार बन्दुकधारीहरुले १५४ जनाको शव गाडेका छन् । केही शव संकलन गरी सेनाले सामूहिक अन्त्येष्टि गरेको खबर छ । मोटरसाइकल चढेर आएका करीब ३ सय जना आक्रमणकारीले १० वटा गाउँमा आक्रमण गरेका थिए ।

आक्रमणकारीहरूले घर घरमै गएर गोली प्रहार गर्ने, लटपाट गर्ने गरेको पाइएको छ । नाइजेरियामा लामो समयदेखि लडाकू तथा हिंस्रक समूहले आमनागरिकलाई दुःख दिने गरेका छन् भने उनीहरूसँग सरकारी पक्षले संघर्ष गरिरहनुपरेको छ । सरकारले उनीहरूलाई आतङ्कवादी समूहको रुपमा घोषणा गरेर सुरक्षा कारबाही पनि चलाउँदै आएको छ ।