स्वास्थ्य

भारतमा कोरोनाको विष्फोटक रुप, एकैदिन साढे १ लाख मानिसमा पुष्टी

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसले विष्फोटक रुप लिएको छ । जहाँ एकै दिन १ लाख ४१ हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको तथ्यांक सार्वजनिक भएको छ । यसले नेपालमा अझ बढी जोखिम बढाएको छ । किनकी नेपाल र भारतमा खुला सीमानाका कारण मानिसहरुको निर्वाध आवागमन रहेको छ । भारतमा पछिल्लो २४ घन्टामा १ लाख ४१ हजार ९ सय ८६ नयाँ संक्रमित फेला परेका छन्।

यो अघिल्लो दिनको तुलनामा २१ प्रतिशतले बढी हो। यो संख्या पछिल्लो ६ महिनायता कै धेरै हो । केन्द्रीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा भारतमा सक्रिय संक्रमितको संख्या ४ लाख ७२ हजार १ सय ६९ पुगेको छ। पछिल्लो २४ घन्टामा ४० हजार ८ सय ९५ जना संक्रमणमुक्त भएका छन्। यस अवधिमा २८५ जनाको मृत्यु भएको छ।

मन्त्रालयका अनुसार भारतको महाराष्ट्र, पश्चिम बंगाल र दिल्लीमा सर्वाधिक संक्रमित फेला परेका छन्। महाराष्ट्रमा मात्र पछिल्लो २४ घन्टामा ४० हजारभन्दा बढी कोरोना संक्रमित फेला परेका छन्। राजधानी नयाँ दिल्लीमा शनिबार २० हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ।