फिचर

आइएमएफद्धारा नेपालले पाउने ऋण स्वीकृत

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोषद्धारा नेपालले लिने २८२.४२ मिलियन एसडीआर (करिब रू.४६ अर्ब ७० करोड) बराबरको शून्य ब्याज दरको सहुलियतपूर्ण ऋण स्वीकृत गरेको छ । उक्त क्रण सहायतामध्ये ११० मिलियन अमेरिकी डलर बराबर रकम तत्काल पहिलो किस्तामा प्राप्त हुनेछ र बाँकी रकम विभिन्न किस्तामा क्रमशः प्राप्त हुने अर्थ मन्त्रालयको भनाई छ ।

उक्त सहायताले कोभिड १९ का कारण जनस्वास्थ्य र आर्थिक गतिविधिमा परेको नकारात्मक प्रभाव कम गर्न, विपन्न वर्गलाई संरक्षण गर्न, समष्टिगत आर्थिक तथा वित्तीय स्थिरता कायम गर्न र दिगो विकास तथा गरिबी निवारण सम्बन्धी नेपालले लिएको सुधारका प्रयासलाई निरन्तरता दिन सहयोग गर्ने मन्त्रालयले जानकारी दिएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषबाट प्राप्त हुने उक्त सहायता नेपालको आवश्यकता र प्राथमिकताका आधारमा बजेटमा समावेश गरी खर्च गर्न सकिनेछ । उक्त कोषसँग भएको प्रारम्भिक छलफलका आधारमा चालू आवको बजेटमा समेत उक्त स्रोत कायम गरिएको छ,’ कोषले भनेको छ ।

कोभिडका कारण उत्पन्न असहज परिस्थितिलाई सामना गर्न नेपाल सरकारले अख्तियार गरेको नीति र प्रयासको अन्तर्राष्ट्रिय मुद्रा कोषको बोर्डका कार्यकारी निर्देशकहरुले उच्च प्रशंसा गर्दै परिपूरकको रुपमा उक्त सहयोग प्रदान गरेको जानकारी गराएका छन् ।