फिचर

उच्च अंकले बढ्यो नेपाली शेयर बजार, ९ अर्ब ६७ करोडको कारोबार

काठमाडौं । साताको कारोबारको पहिलोदिन शेयर बजार उच्च अंकले बढेको छ ।

केहीदिन देखि लगातार उकालो लागेको शेयर बजार ६९ अंकले बढेको हो । कारोबार शुरु भएदेखि नै उकालो ओरोलो भैरहेको शेयर बजार मापक सूचक (नेप्से) ६९ अंकले बढेर २९२६.७४ बिन्दुमा पुगेकको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २२९ कम्पनीको ९ अर्ब ६७ करोड ६३ लाख १७ हजार ५९ रुपैयाँ बराबरको १ करोड ८२ लाख ५४ हजार ४२५ कित्ता शेयर किनबेच भएका छन् । आज कारोबारमा आएका १३ समूहको परिसूचक हरियो भएको छ ।

उच्च अंकले बढेको बजारमा बैंकिङ ३९ , होटल तथा पर्यटन ५५, निर्जीवन बीमा २६६, माइक्रोफाइनान्स ११०, जलविद्युत ७५ अंकले बढेको छ ।

विकास बैंक १४३, फाइनान्स ५६, उत्पादन समूह ४०९ र लगानी समूह १ अंकले बढेको छ । अन्य उपसमूह ६६ अंकले बढेको छ ।

आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा मध्यभोटेकोशी जलविद्युत कम्पनी, स्ट्याण्डर्ड चार्टर्ड बैंक र किसान लघुवित्त वित्तीय संस्था रहेका छन् । यी कम्पनीको शेयरमूल्य आज सर्किट लेभलमा बढेका छन् ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अरुणभ्याली हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको आज ३६ करोड ४३ लाख भन्दा बढीको कारोबार भएको छ ।