फिचर

धुर्मुस-सुन्तलीविरुद्ध अख्तियारमा पर्यो उजुरी

काठमाडौं । भरतपुरमा क्रिकेट रंगशाला बनाउन अभियान प्रारम्भ गरेपनि असफल भएका सामाजिक अभियन्ता धुर्मुस सुन्तली विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । सामाजिक सेवाको आवरणमा अनियमितता गरेको आरोप लगाउँदै भरतपुरका क्रिकेट प्रशिक्षक अनिल अधिकारीले उनीहरुमाथि रंगशाला निर्माणका नाममा चन्दा उठाएर रकम दुरुपयोग गरेको आरोप लगाएका छन् ।

आइतबार दर्ता भएको सी–०२३५०३ नम्बरको उजुरीमा नेपाल र विदेशमा रहेका नेपालीहरु अनि भरतपुर महानगरपालिकाबाट ५७ करोड रुपैयाँ चन्दा उठाएको तर काम भने नगरेको आरोप लगाइएको छ । केवल १४ प्रतिशत भौतिक संरचना मात्रै बनेको भन्दै उजुरीकर्ता अधिकारीले १७ करोड रुपैयाँ थप ऋण छ भनेर दावी गर्नु हास्यास्पद भएको प्रतिक्रिया दिएका छन् ।

दुई अर्ब रुपैयाँको लागत अनुमान गरिएको परियोजनामा रकम उठेजति काम समेत नभएको भन्दै उजुरी परेको हो । परियोजनालाई अलपत्र पारेर हिँडेको भन्दै छानविनको माग गरिएको हो ।