बिचार

सगरमाथाजस्तै परिचय छ शेर्पाहरूको

पासाङ शेर्पा, न्युयोर्क

जीवन स्मृतिको खात रहेछ । धेरै कुरा र प्रसंगहरुको अचेल सम्झना गर्न थालेको छु । धेरै स्मृतिहरुको लहरमा यो एउटा घटना पनि बिर्सन नसक्ने गरी मनमा बसिरहेको छ मेरो ।
सन् १९९८ तिरको कुरा हो । युरोप भ्रमणको क्रममा म स्वीजरल्याण्डको ठूलो शहर जुरिचबाट करिब ९ घण्टाको रेल यात्रापछि अस्ट्रियाको बेडआउसी पुगेको थिएँ । सानो तर पुरानो शहर रहेछ बेडआउसी ।
त्यहाँ मेरा अस्ट्रियन मित्र मार्कुस परिवारका साथ बस्ने गर्थे । उनलाई भेट्न भनेरै म त्यहाँ गएको थिएँ । रेलबाट उत्रिनासाथ साथी मार्कुसलाई देखेँ । मार्कुस र म करिब एक वर्ष पहिला नेपालमा संगै ट्रेकिङ गरेका थियौं । त्यो समयमा निकै रमाइलो भएको थियो। उनीहरुको देशमा फेरि भेट्दा निकै खुसी, आनन्द र हर्ष लाग्यो ।
हामी दुवै भेट्न निकै इच्छुक पनि थियौं । उनी मलाई नै कुरेर बसेका रहेछन् । साँझ पर्न लागिसकेको थियो । हामी उनका घरमा गयौँ । गाडीमा जाँदै गर्दा साथीले ‘मिस्टर शेर्पा, तिमी रिफ्रेस हुनु । हामी एउटा पार्टीमा जानुपर्छ है । मेरो परिवारहरु सबै नै अघि नै गइसके । आजको डिनर पनि उतै हुन्छ ।’ भने ।
उनीसँग भेटे लगत्तै त्यसरी निम्तो पाउँदा अत्यन्तै खुसी पनि लाग्यो मलाई । किनभने नयाँ समाज, नयाँ संस्कृतिसँग परिचित हुन पाइयो भनेर । म उनको घरमा पुगेर नुहाईधुहाई सकेर फ्रेस भएँ । त्यसपछि हामी पार्टीमा गयौंँ । पार्टी खुल्ला चौरमा गरिएको रहेछ ।
छेउछाउमा दुईवटा सानो, ठूलो टहरा भएको, फराकिलो चौरमा अनेकौँ रंगीविरंगी लुगामा मान्छेहरुको आत्मीक चहलपहल थियो । मान्छेहरु भेला हुने र हाइ, हेल्लो गर्ने क्रम पनि जारी नै थियो । टेबुल, कुर्सीहरु राखेर म्युजिक सिस्टमँगै ठूलो प्रोजेक्टर स्क्रिनमा टीभी देखाइरहेको थियो । कुनै ठूलो समारोहजस्तो अनुभव झ्वाट्टै भइहाल्यो मलाई ।
त्यो माहौल देखेर अघिल्ला दिनका थकाइहरु मेटिए मेरा । त्यहाँ नाचगान चलिरहेको थियो । युवायुवतीहरु कोही समूहमा त कोही एक्लै–एक्लै भए पनि रमाएर गप्फिँदै थिए । गफ, हाँसो र रमाइलो बढिरहेको थियो । विभिन्न परम्परागत खानाहरुका स्टलहरु थिए । केटाहरुले धेरै जसो परम्परागत पोसाक बमेरियन र केटीहरुले डिर्नडल लगाएका थिए । बमेरियन छालाको पाइन्ट तर पाइन्ट भने घुँडासम्म मात्रै हुँदो रहेछ । निकै आकर्षक खालको त्यो लुगा र जुत्ताले बेडआउसी र अल्ताउसी वरपरका स्थानीय युवाहरु झनै सुन्दर देखिन्थे ।
त्यस्तै गोरा ज्यानका युवतीहरुलाई त्यो पोशाक निकै राम्रो देखिन्थ्यो । पुरुषहरु बमेरियन सँगै उनीको मोजाले घुँडासम्म छोपेर लगाउने गर्दा रहेछन् । टोपी पनि परम्परागत टोपीमा पहिरिएका थिए । एक छेउमा चराको प्वाँखजस्तो सिँगरिएको थियो । त्यस्तै महिलाहरु परम्परागत भेष डिर्नडलमा चिटिक्क सजिएको देखिन्थे। डिर्नडल– लामो–लामो जामाजस्तो विभिन्न कलरका थिए । त्यस्तै कपाल पनि त्यसरी नै मिलाएर बनाएका थिए । पोशाक अनुसारको कपालहरु पनि मिलाएका थिए ।
म हरेक कुरा ध्यान दिएर हेरिरहेको थिएँ । उनीहरुका लुगा लगाइ, कपाल वा जुत्ता परस्पर मिल्दा थिए । त्यहाँको माहोल निकै रमाइलो थियो । त्यहाँ उपस्थित मान्छेहरु धेरै जना आफू–आफूमा गप्फिइरहेका देखिन्थे ।
मार्कुसले मलाई उनको परिवारसँग भेटघाट गराए । मैले नमस्कार गरेँ र गालामा चुम्बन गरेर एक–अर्कोमा अभिवादन गर्यौँ । युरोपेली समाजमा म निकै आत्मीकसँग प्रस्तुत भइरहेथेँ । चिनेका केटा–केटाहरु भेट्दा हग गर्ने, हात मिलाउने र केटा–केटी भेट्दा गालामा चुम्बन गर्ने चलन प्रायः पश्चिमी सभ्यतामा चलिआएको छ । गाला–गाला जोडेर चुम्बन गर्नु सामान्य चलनको रुपमा लिइन्छ । त्यहाँ पनि त्यस्तै गरिन्थ्यो । सुरुसुरुमा मलाई त्यसरी केटीहरुको गालामा चुम्बन गर्न अलि असहज महसुस हुन्थ्यो । तर पछि सबैले गरेको देखेपछि मैले पनि सहज रुपमै लिएँ । यो उनीहरुको अत्यन्तै श्रद्धा, आदर र प्रेमको संस्कार हो । योबाटै उनीहरुको संस्कृति र सभ्यताले उचाइ पाएको लाग्थ्यो ।
युवा केटाकेटीहरु आफ्नै उमेरका साथीहरुसँग रमाइला बातचित गरिरहेका देखिन्थे । झुरुप्प–झुरुप्प भेला भएर गफ गर्नेहरु देखिन्थे । बडो रमाइलो वातावरण देखिन्थ्यो । चौरको एक छेउमा भएको प्रोजेक्टरको ठूलो स्क्रिनमा फुटबल गेमका कमनटेटरहरुले फुटबल खेलको बारेमा बोलिरहेका थिए ।
परम्परागत चाडपर्व जस्तै भए पनि संयोगवस दिन त्यस दिन वल्र्ड कप– १९९८ को फाइनल म्याच पनि ब्राजिल र फ्रान्स बीच थियो । कसैका आँखा स्क्रिनतिर भए पनि हात र खुट्टाका चाल चलिरहेकै थिए । उनीहरु गफसँग हाँसोमा रमाइरहेका देखिन्थे । खेल कस्तो होला भन्ने धेरैको चाहनामा थियो । त्यसैले त्यहाँ भएकाहरु खेल सुरु हुनेको प्रतीक्षामा थिए ।
चौरको एउटा कुनामा बार चलिरहेको थियो । मैले सरर्र त्यता हेरेँ । वातावरण निकै गर्मिलो देखिन्थ्यो । अत्यन्तै खुसी दिने परिवेश थियो । युरोपमा कुनै किसिमको पार्टी अथवा कार्यक्रममा स्थानीय सरकारबाट अनुमति लिएर बाहिरै बार बनाएर मादक पदार्थ बेच्न र पिउन मिल्छ । बियर पिउँदै, रक्सीको चुस्की लिदै युवायुवतीहरु आ–आफ्नै दुनियाँमा हराइरहेका देखिन्थे ।

गफ र कुराकानीसँगै गफ चम्किरहेको थियो । वातावरण ज्यादै आकर्षक भइरहेको थियो । त्यहाँ विभिन्न किसिमका खानाका परिकारहरु र ड्रिंकहरु पनि राखिएको थियो । मैले साथीको परिवारसँगै बसेर धेरै परिकारको खानाहरु चाखेँ । परिकारहरु निकै स्वादिला थिए । हाम्रोभन्दा युरोपेली खानाहरु पूर्णरुपमा फरक हुन्छन् । हाम्रा मसला बढी भएको तर युरोपेलीहरुका खाना सादा र मसला कम भएका हुन्छन् ।

ड्रिंकमा बियर हिष्कीसगै पाइन सिटबाट बनाएको एक किसिमको रातो रंगको गुलियो ड्रिंक रहेछ । पिउँदा गुलियो थियो । मैले पनि अलि–अलि गर्दै एक गिलास पिएँ । मीठो थियो । तर झुम्म भएको थियो । नपत्याउँदो शैलीमा म ड्रिंकको प्रभावमा परिरहेको रहेछु । यताउता घुम्दै सबै कुरा निहालिरहेको थिएँ ।
एकै छिनपछि फुटबल पनि शुरू भयो । सबै जना एककट्टा भएर फुटबल हेरिरहेका थिए । साथसाथै मधुरो संगीतको तालमा बियर, रक्सीको चुस्कीसँगै झुमिरहेका देखिन्थे । कति जना रोनल्डोको फ्यानहरु थिए, कति जना जिदेनको फ्यान । त्यस्तै अन्य खेलाडीहरुको फ्यानहरु पनि उनीहरुको खुट्टमा बल पुग्ने बितिक्कै चिच्याउने, कराउने गर्थे । बलसँगै आवाज पनि चर्किन्थ्यो । मान्छेहरु रमाएर, उत्तेजित भएर कराउँदा वातावरण खुबै मोहक लाग्थ्यो । यसरी ९० मिनेटको खेल सकिएको पत्तै पनि पाइएन ।
ब्राजिलको तुलनात्मक हिसाबमा खेल अलि कम्जोर थियो । फ्रान्सले जिरोको विरुद्ध तीन गोल गरेर जीत हासिल ग¥यो । फ्रान्स जित्नुमा जिदानको ठूलो हात थियो । अरु खेलाडीहरुको भन्दा उनको हाइट् राम्रो भएकोले उनले हेड गोलहरु गर्न सफल भएका थिए । म्यान अप दि म्याच भए उनी । म पनि अरुसँगै रमाइरहेको थिएँ । गोलबारे खुबै बहस समेत ठाउँ–ठाउँमा भइरहेथ्यो । त्यस्तै गोल्डेन बुटबाट रोनाल्डोलाई सम्मानित गरेर ब्राजिल र रोनाल्डोको निराश डाइहर्ट फ्यानहरुलाई पनि सान्त्वना मिलेको थियो । उनीहरु भावुक भएर खेल, खेलाडी, एम्पायरबारे कुरा गर्थे । म पनि कतिपय ठाउँमा आफ्ना कुरा र प्रतिक्रिया राखिरहेको थिएँ ।
गेम सकिएपछि पनि हामी राति अबेरसम्म रमाइलो गरेर बस्यौं । हाँसोठट्टा, खानपान, नाचगान र गफ चलिरह्यो । धेरैबेरसम्म रमाइलो भइरह्यो ।
अर्को दिन बिहान उठेर साथीले भने– ‘पासाङ, तिमी आउँछौँ भनेर मैले छुट्टी दुई–तीन दिन नै लिएको छु । त्यसैले आज हामी हिमालतिर जानुपर्छ है ।’ मैले पनि ‘हुन्छ’ भनेँ ।
त्यसपछि ब्रेकफास्ट गरेर उसको अरु चार–पाँच जना साथीहरुसहित हामी सबै मिलेर एउटा ठूलो पहाड चढ्न गयौं । मैले सोचेको थिएँ– हिमाल निकै अप्ठेरो होला । भीर, अग्लो र हिउँ नै हिउँको खात होला भन्ने ठानेँ मैले । हिमालका रमाइला चुचुरा होलान् भन्ने कल्पना मेरो दिमागमा आइहाल्थ्यो । हिमाल भनेपछि हिउँ त टन्न होला सम्झेको थिएँ तर त्यस्तो थिएन । गाईवस्तु चराउने पहाडी जङ्गल पो रहेछ । स–साना पोथ्रा थिए । चौर र पाखो डाँडो थियो । केही होचा रुखपात थिए । मसिना झाडीले भरिएको पखेरो थियो । मैले उसलाई बोलाउँदै भनेँ, यसलाई पनि हिमाल भन्छ र ? हाम्रो देशमा त हिमाल भनेको हिउँ नै हिउँ भएको पहाडलाई पो भनिन्छ ।’ यसोभन्दा ऊ पनि हा… हा… गर्दै हाँसेको थियो ।
मेरा कुराले उसलाई छोएछ । हुन त ऊ मेरो बारेमा मात्रै होइन, नेपालसँगै परिचित थियो । उसलाई नेपालको बारेमा राम्रै जानकारी थियो । दुई दिनसम्मको हिमालको बसाइ रमाइलो नै भयो । मैल मर्कुसलाई ’धेरै धन्यवाद । रमाइलो भयो ।’ भनेँ ।
म आफ्ना घरछेउ खुम्बुका ‘कोङदे पिक’ चुचुरा हेरेर मनमनै मुस्काएको थिएँ ।
उसले भनेको थियो– ‘दिन राम्रो भयो भने फेरि अर्को दिन कतै हिमालतिरै जानु पर्छ ।’ त्यहाँका मान्छेहरुको लाइफ स्टाइल देख्दा लोभलाग्दो थियो । काम पनि तोडले नै गर्ने रहेछन् । साथसाथै रमाइलो पनि । रमाइलो र काम दुवै बीचको सन्तुलन निकै गज्जबको देखिन्थ्यो ।
त्यसैले त्यहाँको जीवनस्तर त्यति राम्रो भएको हुनु पर्छ । सानो शहर थियो म पुगेको ठाउँ । प्रायः एक अर्कालाई चिन्ने रहेछन् । बाटोमा भेट्दा पनि एकछिन रोकेर कुरा गर्ने, हग गर्ने, गालामा चुम्बन गरेर अभिवादन गर्ने गर्थे । दिन राम्रो हुनेबित्तिकै कामै छोडेर कि हिमालतिर ट्रेकिङ गर्न निस्किरहेका हुन्थे, कि अल्टासेको लेकमा पौडी खेल्न र बर्बीक्यु गर्न निस्किहाल्थे । अनि बेलुकी साना–साना बारहरुमा गएर रमाइलो गर्ने हाउस पार्टीहरु पनि त्यतिकै भइरहेको हुन्थे । म त्यहाँ बसुन्जेल दुई–तीनवटा पार्टी त मैले नै भ्याएको थिएँ ।
अरु बेला घरमा खासै तातो खानाहरु कम पकाउने रहेछ । धेरै जसो ब्रेडसँग सलामी र अन्य रेडिमेट सुख्खा मासुहरु त्यस्तै विभिन्न परिकारका चिज खाने चलन रहेछन् ।

त्यतिबेला एउटा बिर्सनै नसक्ने एउटा घटना पनि भएको थियो । एक दिन दिनभरि घुम्न गएर साँझतिर घरमा पुग्यौं। त्यो साँझमा हाम्रो कतै जाने योजना थिएन । घरमा पुगेपछि साथीले किचेनमा छिरेर चियाको लागि पानी तताउनु भयो। चियासंगै सुख्खा ब्रेड र सलामी र चिजहरु डाइनिङ टेबुलमा ल्याएर दिएका थिए । ऊ भोक लाग्यो भन्दै मज्जाले खादै थियो। मैले अलि अलि मात्रै खाएको थिएँ। उसले मलाई मिस्टर शेर्पा ‘भोक लागेको छैन ? खानु है खानु’ भनेका थिए । भोक लागेकोले अलि–अलि त मैले पनि खाएँ । तर धेरै खान नै सकिनँ । मैले सोचेको थिएँ । अब डिनर हुन्छ होला,, डिनरमा मज्जाले खाउला । एकछिनपछि त ’ल म त थाकेँ, अब सुत्छु है। तिमी पनि सुत्न गए हुन्छ । भोलि फेरि बिहानै निस्किनु पर्छ ।’ भनेर भने । अनि साथी त कोठातिर गए । म त एकछिन छक्क परेँ ।
‘यति छिटै सुत्न जाने ? डिनरको कुरै गर्दैन त ?’ मनमनै कुरा खेले । खैर ठिकै छ भनेर म एकछिन टिभी हेर्न थालेँ । एकछिनपछि म पनि कोठातिर लागेँ । कोठामा सुत्न खोज्छु निद्रा नै लाग्दैन । भोक मेटिएकै छैन । मैले त डिनर पनि हुन्छ होला भनेर ब्रेड पनि कमै मात्र खाएको थिएँ । तर त्यो ब्रेड नै डिनर रहेछ । बिचरा, उसले त ब्रेड काटेर दिउँ भनेर दुई तीन चोटि नै सोधेको नै थियो । मैले नै आदरभाव पूर्ण सानो स्वरमा ’नो थ्याङ्क यु’ भेनेको थिएँ ।
नेपालमा, अझ शेर्पा समुदायमा खानु–पिउनु मन नै भए पनि एकै चोटि हुन्छ खान्छु–पिउछु भन्ने चलन हुदैन । यसो गर्दा आदर नगरेको ठहर हुन्छ । एक–दुई चोटि त जसले पनि पर्दैन “थुचे“ नै भन्ने चलन हुन्छ ।
खुवाउनेले पनि एक चोटि ’पर्दैन। थुचे’ भन्दैमा रोक्दैन । अलि कर नै गरेर खुवाउने चलन आजको दिनसम्म पनि यथावत छ । यो पनि एक किसिमको एक अर्कोलाई गरिने सत्कार भित्रै पर्छन् । तर बिचरा, मार्कुसलाई यसबारे के थाहा । उनीहरुको ’नो’ भनेपछि फेरि कर गर्ने चलन नै हुदैन । खान मन नभएरै भनेको होला भन्ने उनीहरुको बुझाई हुदोरहेछ । पछि बल्ल पो थाहा पाइयो । नेपालमा दिनमा दुई छाक तातो–तातो भात खाने बानी भएको म,त्यो एक सुख्खा ब्रेडले र चिजले के पुग्नु । पेट कटकट काट्न थाल्यो । भोकले त रात कटाउनु नै मुस्किल होला जस्तो भएको थियो ।

त्यसपछि, हुँदै भएन भनेर म अरुहरुले थाहा नपाउने गरेर कोठाबाट सुटुक्क निक्लेर रेस्टुरेन्ट खोज्दै हिडेँ । रातको दस बजिसकेको थियो । धेरैवटा रेष्टुरेन्ट त बन्द भैसकेको थियो । बल्लतल्ल दस मिनेट जतिको हिँडाइपछि एउटा रेष्टुरेन्ट खुला देखेँ । धन्न रेष्टुरेन्ट खुलै थियो । मज्जाले खाना अर्डर गरेर खाएँ । अनि बल्ल घरमा आएर सुतेँ । रातमा निद्रा पनि मज्जाले लाग्यो ।
भोलि पल्ट बिहान साथीले सोधे– ‘पासाङ तिमीले त हिजो पनि ब्रेड राम्रोसंग खाएका पनि थिएनौ । भोक लागेको होला है ?’
मलाई मनमनै हाँस उठ्यो । र मुसुक्क हाँस्दै ‘ठिकै छ । त्यस्तो भोग लागेको छैन ।’ भनेको थिएँ । त्यो कुरा संझिदा आज पनि हाँस उठेर आउँछ ।

छोटो समय भए पनि व्यवस्थित थियो । सबै काम, रमाइलोसँगै आफ्नो ब्यस्ततामा लागेको देखिरहेथेँ म । साथीले एकपछि अर्को हिमालतिर जाने योजना बनाउँदै गर्दा मैले उसलाई ठट्यौली पारामा भनेको थिएँ– ‘म त हिमालबाटै आएको मान्छे । हिमाल त हाम्रै देशमा कति–कति छन् । बरु मलाई शहर घुमाऊ न । भयो भने ठूल्ठूला क्लब , मलतिर पनि घुम्न जाने मन छ ।’ मैले त मुखै फोरेँ ।
किनभने उसले म हिमालकै फेदीको मान्छे भएकाले हिमालको चाहना बढ्ता गर्छु कि भन्ने ठानेको हुँदो हो । धेरै हिमाल मात्र हेर्दा ‘वनै पिडालु, घरै पिडालु, ससुराली जाँदा बाह्र हाते पिडालु’ जस्तो लागेर मैले क्लबको कुरा गरेको थिएँ । हुन पनि विदेश जाने भनेपछि ठूला ठूला शहरमा घुम्ने, गगनचुम्बी बिल्डिङहरुका अगाडि बसेर फोटो खिच्ने, शहरको अन्य दृश्यहरु अवलोकन गर्ने जस्ता क्रियाकलापहरु गर्ने सपना बोकेरै गएको हुन्थेँ म ।
युवा अवस्थाको चाहानाहरु पनि यस्तै यस्तै हुन्थ्यो। यो अनौठो पनि त थिएन । नेपालमा त्यो वातावरण बनिसकेको थिएन । त्यहाँका मान्छेहरु ठूलो शहरतिर घुम्न जान त्यति रुचाउदैन रहेछन् । तर पनि मेरो कुरा काट्न नसकेर, साथीले पनि हाँस्दै ’हुन्छ त्यसो हो भने पर्सितिर जाउँला नि, तर ठूलठूला क्लबहरु त ठूलो शहरमा मात्रै हुन्छ ।’ भन्यो ।
उसले मलाई आत्मीयतापूर्ण लैजाने निर्णय सुनायो । म पनि उसको कुराले प्रसन्न भएँ । ‘त्यहाँसम्म पुग्न तीन–चार घण्टाको ड्राइभ नै लाग्छ, त्यसकारण हामी अलि नजिकको शहरमा घुम्न जाउँला र बेलुकीतिर क्लबतिर जाउँला’ भन्यो । मैले पनि हुन्छ भनेँ ।
जसरी ऊ नेपालमा आउँदा उसले इच्छाएको ठाउँमा हामी घुमाउँथ्यौँ, त्यसरी नै उसले पनि सोचेर होला मेरो प्रस्तावमा नाइँनास्ती गरेन । उसको भावनाको सम्मान हामीले गरेका थियौं । उसले पनि सहजै मेरो मनको इच्छालाई कदर गरेको थियो । सहजै मेरो रहर पूरा गर्ने दृढ भावना देखायो साथीले ।
त्यसपछि हामी अर्कोदिन मेरो इच्छाअनुसार नजिकैको बीस मिनेट जतिको ड्राइभमा पुग्ने शहरमा घुम्न निस्कियौँ । दिउँसो दिनभरि शहरमा घुम्यौं । मलतिर गएर किनमेल गर्यौं । पार्कतिर पुग्यौं । नुन खानी भएको ठाउँतिर गयौं । त्यसपछि बेलुकीतिर हल्का डिनर गरेर हामी नजिकैको क्लबमा छिर्यौँ ।
क्लब ठूलै रहेछ । मान्छेहरु पनि खचाखच नै थियो । रमाइलो भइरहेको थियो । नाच्ने, गाउने क्रम भइरहेथ्यो । एक–अर्कालाई समातेर रमाएर नाच्ने र हग गर्नेहरु थुप्रै थिए । बिजुलीको झिलिमिलि थियो । वातावरण अत्यन्तै रमाइलो थियो । बडो कलात्मक हिसाबले क्लब बनेको थियो । युवा युवतीको भीड चर्कै थियो । मेरो साथी मार्कुस, अर्को साथी कार्ल, अनि दुईजना नयाँ साथी गरेर हामी जम्मा पाँच जनाको समूहमा गएको थियौँ । म्युजिक चलिरहेको थियो । डान्स फ्लोरमा नाच्ने नाचिरहेका थिए । छेउ–छेउमा कतै सोफा, कतै टेबुल कुर्सी राखिएको थियो ।
प्रायः सबै भरिभराउ थिए । अनेक खालका पपले गर्दा क्लबको माहौल बडो लोभलाग्दो थियो । नाच्ने, रमाउने, झुम्ने र रमाइलो गर्नेहरु हरेक मिनेट–मिनेटको उपभोग गरिरहेथे ।

छोटो छोटो पहिरनमा युवती वेटरहरु ग्राहकहरुलाई बियर, रक्सी पुर्याउनु भ्याई नभ्याई थियो । जोडी–जोडी बनाएर नाचिरहेका देखिन्थे । कुनै–कुनै जोडीहरु टेबुलमै बसेर चुम्माचाटी गरिरहेका दृश्यहरु देखिन्थे भने कोही एक्लाएक्लै पनि आएर साथीको खोजीमा भएजस्तो देखिन्थे । उनीहरुका आँखाले, शरीरले र बोली व्यवहारले त्यसको संकेत गरेको देखिन्थ्यो । म यी सबै कुरालाई निहालिरहेको थिएँ ।
एक्लो थिएँ, कोही साथी पाएँ नाच्थेँ भन्ने पनि मनमा नभएको होइन मेरो । हामी पनि छेउको एउटा सोफामा बस्यौं । मैले पनि अलि–अलि बियर पिउन सिकिसकेको थिएँ । साथीहरुको समूहमा कसले छिटो बियरको गिलास रित्याउने भन्नेमा कम्पिटिसन जस्तै भएको थियो ।
ग्लास भर्ने र रित्याउने क्रम तीब्र रुपमा चलिरहेथ्यो । हुँदाहुँदा मलाई पनि अलि–अलि लाग्न थालेछ । साथीहरु पनि त्यस्तै–त्यस्तै हालतमा थिए । एकछिनपछि त साथीहरु पनि कोही कता, कोही कता गरेर सबै हराए । सोफामा म एक्लै थिएँ । बियरको चुस्की लिएर बसिरहेको थिएँ ।

घरी–घरी झुम्मबाट निस्कन खोजे पनि त्यसले झन्–झन् गहिरोसँग मलाई लगिरहेको लाग्यो । मातको संकेत पनि पाउँथेँ बेला–बेलामा म । हामी बसेको सोफा सँगैको अर्को सोफामा तीन–चार जना केटीहरु र दुई जना केटाहरु बियर पिउँदै रमाइलो गरिरहेको जस्तो लागेको थियो ।
तर एकछिनपछि ती तीन जना केटीहरु मेरो सोफामा आएर मलाई सोधे– ‘तिमी एक्लै हौ ? हामीसँग जोइन्ट गर्ने हो ?’ उनीहरुले हामीसँग नाच्न, रमाइलो गर्न खोजेजस्तो प्रस्ट देखिन्थ्यो । मैले परिस्थिति आफुअनुकूल भएको हो कि भनेर भित्रभित्रै रमाएँ पनि ।
तैपनि ‘म एक्लै त होइन, मेरो साथीहरु नाच्न गएकोछन् । बस्नु न’ भनेर म अलि सरेर उनीहरुलाई बस्ने ठाउँ खाली गरिदिएँ । ती केटीहरुले पनि पालैपालो आफ्नो परिचय दिए ।
तिनीहरु मध्येमा एक जनाको नाम सोफिया थियो । अरुहरुको नाम खासै याद गर्न सकिनँ मैले । मैले पनि आफ्नो नाम बताएँ । सामान्य चिनाजानीपछि हाँसो, कुराकानी, ठट्टा, गीत, नाचबारे चर्चा चल्न थाल्यो ।

सबै जना खुलेर कुरा गर्न थाले । उनीहरुले हतारिएर ‘ड्रिंक थप्ने होइन म तिमीलाई अफर गर्छु’ भनेर सोधे । मेरो पनि गिलास रित्तिइसकेको थियो त्यसैले ‘हुन्छ, धन्यवाद’ भने । सोफियाले वेटरलाई बोलाएर ड्रिक अर्डर गरिन् । त्यहाँको चलनमा ‘ड्रिंक टुगेदर पे सेपरेट’ हुन्थ्यो ।
मलाई त्यो पनि अलिक अनौठो नै लाग्ने गरेको थियो । किनकि नेपालमा हामी एक–अर्कोमा कसले अफर गर्ने भन्ने हुन्थ्यो । कुनै–कुनै बेलामा त बिल तिर्नमा समेत हानथाप जस्तै हुन्थ्यो । ‘तँ होइन, म यस पालि’ भन्दै हतपत खल्तीबाट पैैसा झिकेर दिन्थ्यौँ । यहाँ पनि ड्रिंक थप्ने कुरामा त्यस्तै होडबाजी जस्तै भयो । मैले पनि नयाँ ठाउँका साथीहरुको प्रेम र आतिथ्यलाई स्वीकारेँ ।
त्यो क्लबभित्र भएको मध्येमा कालो कपाल, गहुँगोरो वर्णको म मात्रै थिएँ । सबै गोरा र खैरो कपाल भएका त्यहाँका स्थानीय मान्छेहरु मात्रै थिए । बाहिर देशबाट घुम्न आउने टुरिष्टहरू कमै मात्र देखिन्थे । त्यसैले पनि सबैको नजर ममाथि परेको हुन सक्छ । हुन पनि कागको बथानमा बक्कुलो जस्तै भइरहेको थिएँ म । कपाल र अनुहारले मेरो फरकपन प्रस्ट छुट्टिएथ्यो । नजिकबाट ख्याल गर्नेले मेरो बोलीबाट समेत म अर्कै देशको हुँ भन्ने प्रस्ट थाहा पाइसकेका हुँदा हुन् ।
ड्रिक पिउदै थिएँ । उनीहरु अब नाच्नु पर्छ भनेर फ्लोरतिर जान लागे र मलाई पनि सँगै नाचौँ भनेर बोलाए । उनीहरु पनि मेरै उमेरको भएकोले मलाई उनीहरुसँग खुल्नुमा त्यति गाह्रो भएन । सँगै नाचेँ, कपल डान्स गरेँ । मलाई पनि एकदम रमाइलो भइरहेको थियो । उनीहरु पनि धेरै रमाइलो मानिरहेका थिए । निकै रमाइलोसँग अनेक खालका नाचहरु भए । हामी अब झनै नजिक भएका थियौँ । हाम्रो व्यवहार अब झनै खुल्ला हुँदै गयो । एकछिन नाच्ने, बस्ने, फेरि नाच्ने क्रम भइरहेथ्यो । त्यसरी गरी सोफामा बस्ने गरि नाच्ने गरेर उनीहरुसंगको घुलमिल राम्रैसंग भएको थियो ।
कहिलेकाहीँ मेरो साथीहरु म भएतिर आएर ’आर यु ओके, मिस्टर शेर्पा ?’ भनेर सोध्ने गर्थे । म पनि ‘स्योर, थ्यांक यु ।’ भन्ने गर्थें । उनीहरु पनि मसँग मज्जाले नजिकिएका थिए । म पनि त्यो वातावरणमा घुलमिल भएर रमाइलो गरिरहेको थिएँ । उनीहरुको मात्रै खाएर भएन भनेर मैले पनि ती तिनै जना केटीहरुको लागि भनेर तीनवटा बियर अर्डर गरेँ । उनीहरु पनि खुसी भए । यसरी हामी रमाइलो गरिरहेका थियौँ ।
त्यतिकैमा दुई जना केटा आँटी नआँटी म बसेको सोफामा बस्न आएका थिए । ती केटाहरु पहिले ती केटीहरुसंगै बसिरहेकोहरु देखिएका थिए । उनीहरु नजानिँदो पारामा पछिल्लो हाम्रो समूहसँग घुसेको लाग्थ्यो । मैले सोचेँ, ती केटीका साथीहरु नै होलान् । त्यसैले हाइ–हेलो ! गर्दै भनेँ, बस्नुस् ।
‘बरु तपाईंहरु पनि ड्रिंक लिनु हुन्छ ?’ भनेर सोधेको मात्रै के थिएँ, उनीहरु म माथि रिस पो देखाउन थाले । एकजनाले त भन्नै भ्याए, ‘तिमीलाई अघिदेखि निहालिरहेको छु म । तिमी हिरो नबन है ।’ भनेर मलाई निहुँ खोज्न पो थाल्यो, बा ! ‘अलिक धेरै रमाइलो गर्न खोजेको म देखिरहेको छु । के हो तिम्रो नियत ?’ मैले कल्पनै नगर्ने खालका प्रश्नहरु ती केटाहरुबाट सुन्न थालेँ ।
मैले केटीहरुतिर आँखा डुलाएँ । केटी साथीहरुले मलाई आँखाको इसारा गर्दै ‘छोडिदिनु’ भन्दै थिए । नजिकै रहेको अर्को केटीलाई खुसुक्क सोधेँ– ‘उनीहरु तपाईंका साथीहरु होइन ?’ ’नो, हामीले उनीहरुलाई चिन्दा पनि चिनेका छैनौं । अघिदेखि हामीलाई लाइन मार्न खोजिरहेका थिए । हामी तपाईसँग बसेको र नाचेर रमाइलो गरेकोले उनीहरुलाई डाह लागेको हो, छोड्दिनुस् ।’ भने । केटीहरुले मलाई नै सघाए । तर केटाहरुले प्रतिशोधपूर्ण व्यवहार गर्न थालेको मैले थाहा पाइहालेँ ।
धेरै गनगन गरेको देखेपछि ती मेरा नयाँ साथीहरुले पनि मेरो पक्ष लिएर उनीहरुकै भाषामा के के भनेर विवाद गर्दै थिए । जति गर्दा पनि उनीहरु संयम हुने नामै लिदैनन् । मलाई पनि रिस उठिसकेको थियो । सहनुको पनि सीमा हुन्छ नि ।

अलि–अलि बियरले पनि काम गरेको थियो । फेरि मेरो गल्तीविनै उनीहरु आफैँ झम्टी–झम्टी मसँग निहुँ खोजिरहेका थिए । ती केटाहरुको गनगनले मलाई इरिटेड नै भइसकेकोले मैले पनि प्रतिकार गर्न खोजेँ । मैले केही प्रतिवाद नगरी नहुने स्थिति भयो । ‘आखिर तिमीहरुलाई के चाहिएको हो ? म तिमीहरुलाई चिन्दा पनि चिन्दिनँ । उता जाउ मलाई बोर नगर ।’ भन्दै ज्याकेट खोलेर सोफामा फ्याक्दै जुरुक्क उठेँ म ।
त्यहाँ हल्लीखल्ली भयो । मैले आफ्नो चुरीफुरी देखाएर भगाउन खोजेको थिएँ । हात हाल्नुअघि अलिक पूmर्तिलो पाराले पनि भगाउन सकिन्छ कि भन्ने थियो । तर वातावरण झनै गम्भीर भयो । केटाहरु त मसँग झगडै गर्न तम्सिरहेका थिए । बिनाकारण हेप्न खोज्दा मेरो रिसको पनि सीमा नाघेको थियो । जे पर्ला पर्ला जस्तो भएको थियो । तँ–तँ, म–म को अवस्था भयो । मैले आफ्नो स्वाभिमान गुमेको ठानेँ र त्यसरी आफ्नो अलिक कडा देखाउनु परिरहेको थियो । मेरो अस्मितामाथि धावा बोलेकाले मलाई सनक चढेको थियो ।
त्यतिकैमा मेरो झगडा पर्न लागेको मेरो साथीले देखेछन् । र उताबाट चिच्याउँदै ‘मिस्टर शेर्पा ! स्टप–स्टप ।’ भन्दै हामी भएको ठाउँतिर आइपुगे । उनी दगुरेर आई माहौल शान्त पार्न खोजे । उनी अलिक चर्कैसँग बोलेका थिए । त्यो सुनेर, एक्कासी ती मसँग झगडा गर्न तम्सेका केटाहरु एक–अर्कोलाई हेराहेर गर्दै मलाई सोध्न पुगे– ‘आर यु मिस्टर शेर्पा ? माउन्ट एभरेस्ट ? ओ माइ गड ।’
‘हामीले सोचेका थियौँ कि तिमी त मिडिल इष्टबाट आएको कोही होला । सरी, वी आर इष्ट्रिम्ली सरी । वी आर बिग फ्यान अफ शेर्पा । मेरो बाबा–आमा बर्षैपिच्छे नेपालमा घुम्न जान्छन् ।’ यति फटाफट भनेर माफ माग्यो ।
एकै छिनअघि आगो भएका गोरे केटाहरु अब घाममा सुकेको हरियो सागको मूठाजस्तै लथ्य्राकलुथ्रुक भएका थिए । उनीहरु पूरै शान्त भएका थिए । म पनि छक्क परेँ । हन के हुँदै छ यो ? अलमलमा परेँ म । म साँच्चै अनौठो मानेर वरिपरि हेर्न थालेँ ।
‘कतै यो नाटक त होइन ?’ प्रश्न पनि गरेँ आफैलाई । अनि मैले पनि ‘इट्स ओके’ भनेर उनीहरुलाई मित्रताको हात बढाएँ । केटीहरु पनि हे¥याहेरै भए । उनीहरु एकअर्कालाई हेरेर मुखामुख गर्न थाले । अघिसम्मको आँधीहुरी एकाएक साम्य भयो । केही अघिसम्म चट्याङ बर्सिरहेको वातावरण अचानक शान्त भएको थियो । परिस्थितिमा बिल्कुल फरक भयो ।
‘हामी पनि जोइन्ट गर्न सक्छौँ’ भनेर सोध्यो अघिको निहु खोजाहा केटाले । मैले पनि ‘ह्वाई नट’ भनेर म अलि उता सरेँ । अनि उनीहरुलाई आरामसँग बस्न दिएँ । ड्रिंकको लागि सोध्दै थियो तर मैले गिलास देखाउँदै ‘पर्दैन, हाम्रो बाँकी छ’ भनेँ । बरु ‘तपाईहरु अर्डर गर्नु न’ भनेर आग्रह गरेँ । त्यसपछि उनीहरु पनि बियर अर्डर गरेर हामीसंगै रमाइलो गरेको थियौँ ।
अब अघिको घृणा प्रेममा बदलियो । अघिको रिस अहिले स्नेहमा बदलियो । माहौल पूरै भिन्न भयो । अन्त्यमा मैले मगाएको ड्रिंकको बिल पनि उनीहरुले नै तिरेर फेरि पनि ‘सरी’ माग्दै त्यहाँबाट निस्के । हाम्रो पार्टी जारी रह्यो । अब वातावरण झन् आत्मीय र प्रेमपूर्ण भयो । माहौल झनै उदार, प्रेममय र हार्दिक भयो । तीन जना केटीहरु र हामी मध्यरातसम्म रमाइलो गरेर बस्याँै ।
बियर अरु थपिए, नाच अरु पनि भए, खानेकुरा अरु पनि मगाइए । हामी सबै पालैपालो नाच्दै, रमाइलो गर्दै समय कटायौँ । यसरी मेरो लास्ट नाम ‘शेर्पा’ भएकै कारण त्यहाँ ठूलो समस्या हुनबाट जोगियो ।
त्यतिबेलाको समयमा युरोपको कतिपय ठाउँमा ‘नेपाल’ भन्दा पनि हिमालयको देश, माउन्ट एभरेस्टको देश अथवा शेर्पा, गोर्खा भनेपछि चिन्ने अवस्था थियो । नेपाल अन्तर्राष्ट्रिय रुपमा शेर्पा, हिमाल, याक, विशेषतः एभरेष्टकै नाउँले स्थापित थियो । सगरमाथासँग गाँसिएको शेर्पा नाउँले नै युरोपभरि सम्मान, इज्जत र आदर पाएको थियो ।

शेर्पा भनेपछि इज्जत दिन्थे । सम्मान गर्थे । जे होस्, हाम्रा पुर्खाहरुले त्यस किसिमको इज्जतिलो काम गरेका छन् । इमानदारिता देखाएका छन्, त्यसैले हामी विश्वमा शेर्पा भनेर चिन्ने मौका मिलेको छ । शिर ठाडो बनाएर हिँड्ने वातावरण बनेको छ । यही शेर्पा परिचयले संसारका धेरै ठाउँमा एउटा विशिष्ट मान, कदर र प्रतिष्ठा पाएको इतिहासलाई आजका दिनमा हामीले नजोगाएर भएकै छैन । इज्जत पाउनु ठूलो कुरा होइन जोगाउनु र बचाउनु ठूलो कुरा हो । यो तथ्यलाई हामीले आज त झनै ख्याल गर्नुपर्ने स्थिति आएको छ । हामी शेर्पाहरु धेरै कुराले संसारका आँखामा परेका छौं । उनीहरुको बुझाइ, हेराइ र मनन गराइ निकै नै महत्वपूर्ण छन् ।
शेर्पा एउटा जाति मात्र होइन । यो त देश र संस्कृतिको विशेष परिचय हो । हाम्रो बेग्लै पहिचान स्थपित छ । फेरि पनि हामीले यस किसिमको निष्ठा, इमानदारिता देखाएर हाम्रा भावी सन्ततिहरुलाई पनि यही किसिमको पहिचान दिलाउने दायित्व हाम्रो काँधमा छ ।
आज आएर संसारका धेरै ठाउँमा शेर्पाहरु कतै शिक्षा, कतै रोजगारी, कतै व्यापार वा कतै पर्वतारोहणकै क्रममा गए पनि आफ्नो मातृभूमि र पितृथलोसँग गाँसिएको गौरवशाली प्रतिष्ठा जोगाउनु आवश्यक छ । पुर्खाले हिजोका दिनमा जसरी अनुशासन, मिहिनेत र पसिना बगाउने कर्मठ जातिको रुपमा शेर्पाको शिर ठाडो पारेका थिए– अब त्यो जिम्मेवारी आज हामी सामु आएको छ । संसारले सधैँ जानोस्– सगरमाथाको शिर ठाडो भएझैँ शेर्पा पनि त्यस्तै कर्मठ छन्, मिहिनेती छन्, समर्पित छन् र आत्मगौरवले समृद्ध छन् ।