बिचार

युक्रेनसँगको युद्धले एक्लियो रुस

बीके नेवा, न्युयोर्क

युक्रेनसँगको युद्धले विश्वबाट रुस एक्लिएको छ । युक्रेनमाथिको रुसी सैन्य कारबाहीको विश्वव्यापी विरोध भएको छ । अमेरिका, बेलायत, संयुक्त राष्ट्रसंघ, युरोपली संघ, नेटोलगायतले रुसमाथि नाकाबन्दी लगाएका छन् । अमेरिकी राष्ट्रपति जोए बाइडेनले रुसलाई पटक पटक युक्रेनमाथि आक्रमण नगर्न चेतावनी दिए । तर रुसले मानेन । यो आक्रमणले रुस विश्वमाझ नांगिएको छ ।
रुसको प्रतिकार गर्न युक्रेनमा नेटो सैनिक पठाउने हो भने युरोपभरि नै युद्ध फैलिने साथै रुस र अमेरिकाबीच नै युद्ध हुने आकलन गरी बाइडेनले नेटो सेना पठाउन मानेनन् । उनको यो राजनीतिक सुझबुझले जारी युद्ध रुस र युक्रेनबीच सीमित रहने छ । तत्काल दुवै पक्षबीच वार्ता गरी युद्ध अन्त्य गर्नुपर्नेमा बाइडेनको जोड छ ।
दुई छिमेकी रुस र युक्रेनबीच युद्ध जारी छ । यसलाई दोस्रो विश्वयुद्धपछिको ठूलो युद्ध मानिएको छ । युद्धको सुरुवात रुसले गर्यो । रुसले एकतर्फीरुपमा युक्रेनका दुई विद्रोही क्षेत्र डोनेत्स्क र लुहान्स्कलाई स्वतन्त्र राज्यको मान्यता दियो । त्यहाँ शान्ति स्थापनाको नाममा आफ्ना सेना पठाएलगत्तै रुसले युक्रेनविरुद्ध सैन्य कारबाही सुरु भएको घोषणा गर्यो ।
वर्षौदेखिको रुस–युक्रेन विवाद अन्त्यमा युद्धमा परिणत भयो । रुसी राष्ट्रपति राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको डोनेत्स्क र लुहान्स्कलाई फेबु्रअरी २१ स्वतन्त्र राज्यको मान्यता दिएको घोषणा गरे । फेबु्रअरी २२ मा ती दुवै राज्यमा शान्ति स्थापना गर्ने भन्दै रुसी सेना प्रवेश गरे । फेब्रुअरी २३ मा युक्रेनले मुलुकभर सङ्कटकाल घोषणा गर्दै सैनिक कानुन लागू गर्यो । सोही दिन अमेरिका, बेलायतलगायत ३२ देशले रुसविरुद्ध नाकाबन्दी लगाए ।
फेबु्रअरी २४ मा रुसी राष्ट्रपति पुटिनले औपचारिक रुपमा युक्रेनविरुद्ध सैन्य कारबाही सुरु भएको घोषणा गरे । सो घोषणालगत्तै रुसी सेना युक्रेन प्रवेश गरी आक्रमण गर्न थाले । रुसी सेनाले युक्रेनको राजधानी किभलगायतका सहरमा क्षेप्यास्त्र आक्रमण गरे । युक्रेनको चेर्नोविल आणविक भट्टीमाथि रुसले कब्जा जमायो । रुसी सेना दुई दिनमै राजधानी किभ प्रवेश गर्यो ।
फेबु्रअरी २६ मा संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा युक्रेन प्रस्तावमाथि रुसले भिटो प्रयोग गर्यो । फेबु्रअरी २७ मा अमेरिकाले देश छाड्न भने पनि युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले अस्वीकार गरे । सोही दिन युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा पनि रुसी आक्रमण सुरु भयो । फेबु्रअरी २८ मा बेलारुसले रुसलाई सहयोग गर्न सेना पठाउने निर्णय गर्यो । सोही दिन युरोपेली सङ्घले युक्रेनलाई हतियार दिने र रुसमाथि हवाई प्रतिबन्ध लगाउने निर्णय गर्यो । रुसले युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई आत्मसमर्पण गर्न भन्यो । तर उनले अस्वीकार गरे ।
रुससँग नौ लाख सेनासहित अत्याधुनिक हतियार छ भने युक्रेनमात्र दुई लाख पचास हजार सेना र सीमित हतियार छ । सानो राष्ट्र युक्रेन ठूलो राष्ट्र रुससँग कति दिन युद्ध गर्नसक्छ ? नेटो सेना युक्रेनको पक्षमा नलडेकाले यो युद्ध धेरै दिन नलम्बिने सम्भावना छ ।
रुसले स्वतन्त्र राज्यको मान्यता दिएका दुई क्षेत्रमा विद्रोहीहरुले खुसियाली मनाउँदै रुसी कदमको स्वागत गरे । ती दुवै क्षेत्र रुसले समर्थन गरेका विद्रोहीका पकड क्षेत्र हुन् । उनीहरू युक्रेनको सेनासँग सन् २०१४ देखि लडिरहेका छन् । हालसम्म त्यहाँ १४ हजार मानिस मारिएका छन् ।
अमेरिकालगायत पश्चिमा देशले अघिल्लो महिनादेखि नै रुसले सीमा क्षेत्रमा सैन्य बल तैनाथ गरेसँगै कुनै पनि बेला युक्रेनमाथि सैनिक कारबाही गर्नसक्ने भन्दै रुसी तयारीको विरोध गर्दै आएका थिए । तर रुसले भने युक्रनमाथि आक्रमणको योजना नभएको बताएको थियो जुन गलत सावित भयो । रुसले युक्रेनको विद्रोही क्षेत्रलाई स्वतन्त्र राज्य घोषणा गर्दै सेना पठाउनु अन्तर्राष्ट्रिय कानुनविपरीतको कदम हो । विद्रोही क्षेत्रबाट आक्रमण सुरु गरेको रुसी सैन्यबल राजधानी किभ पुगेर केन्द्रीय सत्ता कब्जा गर्न युद्ध गरिरहेको छ ।
युद्ध सुरु हुनुअघि रुस र युक्रेनबीच संवाद गराई विवाद मिलाउन गरिएको अन्तर्राष्ट्रिय प्रयास सफल हुन सकेन । फ्रान्सले शान्तिवार्ताका लागि प्रयास गरेको थियो । तर रुस आफ्नो अभियानबाट पछि हटेन । युद्ध सुरु भएपछि पनि रुस र युक्रेनबीच वार्ता भए पनि सहमति भएन ।
युक्रेनविरुद्ध रुसले गरेको सैन्य कारबाही सर्वत्र विरोध भएको छ । अमेरिकी राष्ट्रपति जोए बाइडेन र बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले रुसी हस्तक्षेपको निन्दा गरे । संयुक्त राष्ट्रसङ्घ, युरोपली सङ्घ((ईयू) र उत्तर एटलान्टिक सन्धि सङ्गठन(नेटो)ले पनि रुसको घोषणा अन्तर्राष्ट्रिय कानुनविपरीत भएको भन्दै सो घोषणा फिर्ता गर्न रुसी नेतृत्वलाई आग्रह गरे ।
युक्रेनले आफ्नो सार्वभौमिकतामाथिको ठाडो हस्तक्षेप भन्दै रुसी कदमको विरोध गर्यो । युक्रेनका राष्ट्रपति जेलेन्स्कीले र रुसी हस्तक्षेप अस्वीकार्य भएको बताउँदै रुससँगको कूटनीतिक सम्बन्ध अन्त्य भएको घोषणा गरे ।
उता अमेरिकी बाइडेनले युक्रेनको विद्रोही क्षेत्रको नेतृत्व र रुसी अधिकारीविरुद्ध थप प्रतिबन्ध लगाउने आदेश जारी गरे । उनले सैनिक हस्तक्षेप बन्द गर्न रुसलाई थप चेतावनी दिए । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले पनि रुसी कदमलाई अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लङ्घन भन्दै निर्णय फिर्ता गर्न आग्रह गरे ।
सन् २०१४ मा युक्रेनको क्रिमिया प्रायद्विपलाई रुसले बलपूर्वक आफूमा विलय गराएको थियो । सो घटनासँगै पूर्वी युक्रेनका दुई क्षेत्र दोनेत्स्क र लुहान्स्कमा स्वतन्त्रताका लागि विद्रोह सुरु भएको हो । युक्रेनविरुद्ध लड्दैआएका ती क्षेत्रलाई पुटिनले युक्रेनसँग शत्रुता बढेसँगै नयाँ स्वतन्त्र राज्य भएको घोषणा गरेका हुन् अर्काको भूमिलाई यसरी स्वतन्त्र राज्य घोषणा गर्नु न्याय संगत होइन बल मिच्याइँ हो । रुसको आक्रमणले गम्भीर प्रश्न खडा भएको छ ।
युक्रेनले नेटोको सदस्यता लिने तयारी गरेको छ । जुन कुरा रुसलाई स्वीकार्य छैन । रुसले सो कदमबाट आफ्नो सुरक्षा खतरामा पर्ने भन्दै विरोध गर्दै आएको छ ।
पश्चिमा देशसँग युक्रेन​ कहिले पनि नेटोको सदस्य नहोस् भन्ने उसको माग छ । पूर्वी युरोपमा नेटोले उसका गतिविधि नगरोस् भन्ने चाहना रुसको छ । पूर्वी युरोपमा नेटो विस्तार रुसलाई सह्य छैन । उसले यस कदमलाई रोक्न हदैसम्मको बल प्रयोग गर्ने बताउँदै आएको छ ।
सन् २०२४ सम्म ईयूको सदस्यताका लागि आवेदन दिने युक्रेनको तयारी छ । अहिले युक्रेनमा आफ्नो पक्षधर राष्ट्रपति पनि नभएको साथै ईयू र नेटोको सदस्यता लिन युक्रेनले तयारी गरेकाले रुसलाई यो सह्य भएको छैन । युक्रेन पनि नेटोको सदस्य राष्ट्र बने अमेरिकी नेतृत्वको सेना रुसको सीमामा पुग्नेछ । रुस र युक्रेनबीच १२ सय माइल सीमा जोडिएको छ । युक्रेनी नेतृत्व विरोधी भए रुसको सुरक्षा खतरामा पर्ने रुसी अधिकारीको चिन्ता छ । रुसको यो चिन्ता सम्बोधन गरी युक्रेनसँगको युद्ध अन्त्य गर्नुपर्छ । युद्ध लम्बिए युक्रेनको अस्तित्व नै सङ्कटमा पर्ने सम्भावना प्रबल छ ।