बिचार

पतनको बाटोमा नेपाली काँग्रेस

बीके नेवा, न्युयोर्क

नेपाली काँग्रेसले आरोह र अवरोहका सात दशक पार गरिसकेको छ । स्थापनकालमै २००३ सालको मजदुर आन्दोलनको नेतृत्व गरेको काँग्रेसले प्रजातन्त्र प्राप्तिका लागि मुलुकमा भएका सबै आन्दोलनको नेतृत्व गरेको छ ।
२००३ सालमा विराटनगरमा मजदुर आन्दोलन होस् वा राणा विरोधि २००७ सालको क्रान्ति, २०११ को सत्याग्रह, २०१४ को भद्र अवज्ञा आन्दोलन, २०३३ को जनमत संग्रह, २०४२ को सत्याग्रह अनि २०४६ को ऐतिहासिक जनआन्दोलन अनि २०६२–६३ को लोकतान्त्रिक आन्दोलनदेखि गणतन्त्र स्थापनासम्म काँग्रेसको विगत गर्विलो छ ।
तर अहिले काँग्रेसको विगतलाई सम्झिएर मात्रै बस्नुपर्ने बेला आएको छ । गुटको द्वन्द्वले काँग्रेसले राणाकाल र पञ्चायतकालमा पनि पिरोलेको थियो । तर पनि विगत गौरवमय थियो । अहिले भने काँग्रेस निरीह छ , पतनको बाटोतर्फ उन्मुख छ । अहिले आफ्नो खुट्टामा उभिन नसकेर प्रचण्ड र माधव नेपालजस्ता अवसरवादी पतित नेतासित तालमेल गरेर चुनावमा जाने अवस्थामा पुगेको छ ।
नेपाली काँग्रेस भन्न वित्तिकै प्रजातन्त्रको पर्यावाची हो भन्ने बुझिन्छ । तर कसरी भन्यो भने यसको जवाफ निकाल्न गहिरो चिन्तन मनन गर्नुपर्ने हुन्छ । सबै काँग्रेसीहरूले यो बुझ्न जरुरी छ कि नेपाली काँग्रेस भनेको आफैमा एउटा सामाजिक आन्दोलन हो । भौगलिक रुपमा आधुनिक नेपालको निर्माण जसरी पृथ्वीनारायण शाहले सुरुवात गरे त्यसैगरी सामाजिक रुपमा आधुनिक नेपालको निर्माण गराउने अवसर बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह लगायतका नेताहरुलाई प्राप्त भयो । २००७ सालको क्रान्तिभन्दा अगाडि नेपाली समाजमा सामाजिक रुपमा सबैखाले विकृति र विभेद थियो । महिलाहरुले पढ्न लेख्न नपाउने, दलितहरु विद्यालय जान नपाउने र ब्रामणहरुले हलो जोत्न नहुने जोतेमा जनै फाल्नु पर्ने अवस्था थियो । लमजुङ जिल्लाको दुरा डाँडामा २००८ साउन ११ गतेका दिन करिब २८ जना उपाध्याय ब्रामणहरुले पण्डित तोयनाथ अधिकारीको अगुवाइमा हलो जोतेर हलो क्रान्ति गरेको इतिहास नेपाली काँग्रेसको इतिहासमा बिर्सन सकिँदैन ।

१७ हजार नेपाली मार्ने माओवादीलाई जंगलबाट सुनपानी छर्केर सदन र सरकारमा ल्याउने गिरिजाप्रसाद कोइरालाकै कारण काँग्रेस जनताको नजरमा गिरेको हो । अहिले शेरबहादुर देउवाले पनि माआवादीलाई बोकेर तालमेल गरी चुनावमा जाँदा काँग्रेसले झन जनमत गुमाई पतन हुनेछ ।”


नेपाली काँग्रेसको जन्म सामाजिक आन्दोलनको लागि नै भएको हो र यो आन्दोलन अविच्छिन्न चलिरहन्छ । नेपाली काँग्रेसको पहिचान भनेको सहभागिता र समावेशी हो किनभने समावेशी र सहभागिताबिना नेपाली काँग्रेसको पहिचान बन्न सक्दैन । बीपी कोइरालाका पिताजी धनी व्यापारी भइकन पनि कृष्णप्रसाद कोइरालाले भएको सुखसयल मोजमस्ति त्याग गरेर राणाको विरुद्धमा लाग्ने अठोट गरे । जसको कारण ज्यान जोगाउनका लागि भारततिर पसेका हुन् । बडाकाजी रत्नमानसिंहका नाति गणेशमान सिंह जस्ता नेताहरुको जीवन सुखसयल र मोजमस्ति गरेर पनि आनन्दले बित्न सक्थ्यो तर गौतम बुद्धलाई जस्तै भौतिक सुख सुविधाले शान्ति दिन नसके जस्तै नेपाली काँग्रेसका नेताहरुलाई नेपाली जनताको अधिकारका लागि लडन पर्ने बाध्य बनायो ।
कुनै पनि राजनीतिक दलहरुलाई चिन्न र जान्नका लागि त्यसको आदर्श के हो थाहा पाउनुपर्ने हुन्छ । नेपाली काँग्रेसको आदर्श राष्ट्रियता,लोकतन्त्र र समाजवाद हो । यसैबाट थाहा हुन्छ कि नेपाली काँग्रेसको पहिचान भनेको राष्ट्रियता बलियो बनाउने, लोकतन्त्र स्थापना गर्ने र समाजवादलाई कार्यान्वयन गर्ने दावित्व हो भन्ने कुरा कुनैपनि काँग्रेस अभिन्यताले बिर्सनु हुँदैन । हामीले कुनै पनि राजनीतिक दल माथि विश्वास र मतदान गर्नका लागि अन्य राजनीतिक दलसँग के फरक छ ? यसको उत्तर खोज्नुपर्ने हुन्छ ।
काँग्रेस आफैमा सामाजिक जागरण आन्दोलन भएको हुँदा २००७ सालको क्रान्ति सामाजिक परिवर्तनको आन्दोलन थियो । नेपाल कम्युनिस्ट पार्टी र नेपाली काँग्रेसको स्थापना लगभग एकै समयमा भएको हो । २००६ सालमा नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टीको स्थापना भारतको कलकत्तामा नै भएको हो । १०४ वर्षे राणा शासन फालेर आधुनिक नेपालको सुरुवात गराउने कार्यमा नेपाली काँग्रेसको तुलनामा नेकपा नगन्य रुपमा नै छ । २००७ सालको क्रान्तिको नेतृत्व,२०१४ सालको भद्र अवज्ञा आन्दोलन गरी २०१५ सालको संसदीय आमनिर्वाचन गराउन राजा महेन्द्रलाई बाध्य गराउने काम, २०१५ सालको आम निर्वाचनमा नेपाली काँग्रेसले दुईतिहाइ बहुमत प्राप्त गरी नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला भएका हुन् ।
२०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर बीपी कोइराला गणेशमान सिंह लगायतका नेताहरु स्वदेश फिर्ति नीति अहिले पनि उत्तिकै सान्दर्भिक छ । २०३६ सालको जनमत संग्रहमा बहुदललाई जिताउने उद्देश्य नेपाली काँग्रेसको थियो । २०४२ सालको पञ्चायतको विरुद्धमा सत्याग्रह, २०४६ सालमा नेपाली काँग्रेसको नेता गणेशमान सिंहको नेतृत्वमा पञ्चायत फाल्ने जनआन्दोलन, माओवादीलाई वार्ता गरी जंगलबाट सहर र सदनमा ल्याउने काम पनि नेपाली काँग्रेसले नै गरेको हो । २०६२÷६३ सालको जनआन्दोलनको अगुवाई, २४० वर्षको शाह वंशीय राजतन्त्रको अन्त्य र २०७२ साल असोज ३ गते नेपाली काँग्रेसको तत्कालीन सभापति तथा प्रधानमन्त्री सुशील कोइरालाको अगुवाइमा नेपालको संविधान जारी गर्ने काम पनि नेपाली काँग्रसको नेतृत्वमा भएको ऐतिहासिक प्रमाण छन् ।
नेपाली काँग्रेसको चार तारे झण्डा भन्ने बित्तिकै यसको पहिचान आफ्नै प्रकारले बनेको छ । नेपाली काँग्रेसले फहराउने चारतारे नेपालकै झण्डा हो र नेपालकै डन्डा हो । नेपाली काँग्रेसले झण्डाको निर्माण गरी नेपाली काँग्रेसको स्थापना भएको दिन २००६ साल चैत २७ गते सार्वजनिक गरिएको हो । तीन तहमा निर्माण गरिएको झण्डाको माथि रातो, बीचमा सेतो र तल रातो छ । बीचको भागमा चारवटा ताराहरु छन् । रातो भागले अन्यायको विरुद्धमा राजनैतिक क्रान्ति गर्ने अर्थात् लोकतन्त्रको स्थापना गर्ने, बिचको सेतो भागले शान्ति र अहिंसा स्थापना गर्ने र तलको रातो भागले पुन निर्माण र रोजगारको लागि आर्थिक क्रान्ति गर्ने संकेत गरेको छ । चार वटा ताराहरु मध्य पहिलो ताराको अर्थ राजनैतिक स्वतन्त्रता, दोस्रो ताराको अर्थ आर्थिक स्वतन्त्रता,तेस्रो ताराको अर्थ धार्मिक स्वतन्त्रता र चौंठो ताराको अर्थ वाक स्वतन्त्रता र भयबाट मुक्त हो । नेपाली काँग्रेसले फहराउने चारतारे झण्डा नेपालको नेपाली काँग्रेस पार्टी बाहेक कसैले पनि प्रयोग गरेको पनि छैन र प्रयोग गर्न पनि पाउदैन । यो झण्डाले राष्ट्रियता लोकतन्त्र र समाजवादको प्रतिनिधित्व गर्दछ ।
नेपाली काँग्रेसको सिद्धान्त प्रजातान्त्रिक समाजवाद आज संसार भरी अनुसरण भैरहेको छ । नेपाली काँग्रेस पूर्णरुपमा लोकतन्त्र प्रति प्रतिवद्धता राख्दछ । बीपी कोइरालाको भनाइमा समाजवादमा प्रजातन्त्र झिकिदियो भने साम्यवाद बन्छ र साम्यवादमा प्रजातन्त्र थपिदियो भने समाजवाद बन्छ अर्थात् समाजवाद प्रजातन्त्र.साम्यवाद हुन्छ भने साम्यवादं प्रजातन्त्र. समाजवाद हुन्छ । नेपाली काँग्रेसको विचार भनेको वाक स्वतन्त्रता,प्रेस स्वतन्त्रता र शान्ति र अहिंसा हो ।
नेपाली काँग्रेस नेपालको अन्य राजनैतिक दलहरु भन्दा विचारको हिसाबले,नारा र नीतिको हिसाबले मात्र नभएर इतिहास एवं संघर्षलाई अध्ययन गर्दा धेरै उच्च देखिन्छ । किनभने नेपालका मधेशवादी पार्टीले क्षेत्रीय नारा लगाउछन् भने केही जातको आधारमा खोलिएका पार्टीले साम्प्रदायिक नारा लगाउछन् । राप्रपा जस्ता पार्टीले राजाको वकालतदेखि एकल धर्मको वकालत गर्छन् भने कम्युनिस्ट विचार बोकेका दलहरु पनि झण्डा एकै किसिमको भए पनि नारा र नीति फरक फरक लगाउछन् र लोकतन्त्र प्रति पूर्ण बफादार देखिन्न । अत्यन्तै जनतालाई दिग्भ्रमित पार्ने कुरा गर्छन् । नेपाली काँग्रेसको विचारले मात्रै हिमाल,पहाडर तराईलाई समेट्न सक्छ ।
अब प्रश्न उठ्छ नेपाली काँग्रेसको सबै कुरा राम्रो हुँदा हुँदै पनि किन जनताको मन जित्न सकेको छैन ? भन्ने यक्ष प्रश्न पनि छ । नेपाली काँग्रेस आफैमा सामाजिक आन्दोलन भएको हुँदा सबै जिम्वेवार काँग्रेसीहरु सामाजिक परिवर्तनका अभियन्ता हौँ भन्ने कुरा बिर्सेको देखिन्छ । सिद्धान्त जतिसुकै राम्रो भए पनि व्यवहार राम्रो भएन भने नेपाली काँग्रेस जनताको नजरमा ठिक देखिन सक्दैन । नेपाली काँग्रेस आफैमा लोकतान्त्रिक पार्टी भएकाले लोकतन्त्र भनेको आफैमा समावेशी र सहभागिता हो भन्ने कुरा काँग्रेसीहरूले बिर्सनु हुँदैन । नेपाली काँग्रेसका नेताहरु व्यक्तिगत स्वार्थको कारण नेपाली काँग्रेसको विचारलाई आफ्नो अनुकुल बंग्याएर ब्याख्या गर्न सक्छन् तर नेपाली काँग्रेसको विचार सोझो नै छ कालजायी नै हुने छ । नेपाली काँग्रेसको विचार ठिक छ भन्ने सावित गर्नका लागि काँग्रेसीहरुले व्यवहार सुधार्नु आवश्यक मात्रै होइन अनिवार्य छ ।
१७ हजार नेपाली मार्ने माओवादीलाई जंगलबाट सुनपानी छर्केर सदन र सरकारमा ल्याउने गिरिजाप्रसाद कोइरालाकै कारण काँग्रेस जनताको नजरमा गिरेको हो । अहिले शेरबहादुर देउवाले पनि माआवादीलाई बोकेर तालमेल गरी चुनावमा जाँदा काँग्रेसले झन जनमत गुमाई पतन हुनेछ । काँग्रेस आफ्नै खुट्टामा उभिन सकेन भने यसको साख अरु गिरेर जानेछ ।