बिचार

नयाँ उचाइमा नेपाल—अमेरिका सम्बन्ध

बीके नेवा, न्युयोर्क

नेपाल र अमेरिकाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ । दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध स्थापना भएको ७५ वर्ष पूरा भएको छ । सन् १९४७ मा नेपालको अमेरिकासँग कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । यसै सन्दर्भमा अमेरिकी संसदीय टोलीले नेपाल भ्रमण गरेर द्विपक्षीय सम्बन्धलाई नयाँ गति दिएको छ । नेपालले अमेरिकी मिलेनियम सहयोग एमसीसी पास गरेर लगानीका लागि विश्वासको वातावरण बनाएको छ ।
विश्वको महाशक्ति राष्ट्र अमेरिकासित सम्बन्ध सुमधुर बनाउनु नेपालजस्ता विकासशील राष्ट्रका लागि महत्वपूर्ण अवसर हो । नेपालको आर्थिक विकासका लागि ठूलो मात्रामा विदेशी सहयोग आवश्यक छ । त्यसका लागि लगानीमैत्री वातावरण बनाउन जरुरी छ । एमसीसी सम्झौता गरेको ३१ महिनापछि नेपालको संसद्बाट यो सम्झौता पारित भएको हो । समयमै एमसीसी पास नहुँदा विभिन्न खाले आशंका उत्पन्न भएको थियो । सम्झौता पारित गरेर नेपालले ठूलो कूटनीतिक उपलब्धि हासिल गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको विशेष सक्रियतामा एमसीसी पास भएसँगै नेपाल र अमेरिकाबीच नयाँ विश्वासको वातावरण बनेको हो । कूटनीतिक सम्बन्ध स्थापना भएदेखि अहिलेसम्म अमेरिकाले नेपाललाई आर्थिक तथा प्राविधिक सहयोग दिँदै आएको छ । अमेरिकी सहयोग र समर्थनले नेपाललाई ठूलो टेवा पुगेको छ । नेपाल र अमेरिकाबीचको सम्बन्ध सुधार गर्न बेलाबेलामा द्विपक्षीय भ्रमणले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
पहिलोपटक औपचारिक भ्रमणमा नेपाल आउने अमेरिकी अधिकारी जर्ज आर मेरेल हुन् । त्यसबेला भारतको दिल्लीस्थित अमेरिकी दूतावासमा चार्जे डि’अफेयर रहेका मेरेल सन् १९४५ नोभेम्बर १६–२२ मा नेपाल आई तत्कालीन प्रधानमन्त्री पद्मशमशेर जबरासमक्ष दोस्रो विश्वयुद्धमा नेपालका गोर्खा सैनिकले बेलायती सेनाका तर्फबाट पु¥याएको योगदानको कदरस्वरूप अमेरिकी सेनाको लेजन अफ मेरिट चढाएका थिए ।
त्यसअघि सन् १९४४ मा नयाँ दिल्लीबाट फरेन इकोनोमिक एड्मिनिस्ट्रेसनमा कार्यरत एन्ड्रयु कारी नेपाल आएका थिए । त्यस्तै सन् १९४५ मा फरेन इकोनोमिक एड्मिनिस्ट्रेसनकै ह्यारी विट र अमेरिकी सेनाका लेफ्टिनेन्ट अल्फ्रेड ब्राउन वाणिज्य सम्बन्ध स्थापनाका लागि छलफल गर्न नेपाल आएका थिए । सन् १९४५ मा अफगानिस्तानका लागि अमेरिकी मिनिस्टर कर्नेलियस वान एच इन्गर्ट नेपाल आएका थिए भने कलकत्ताका भाइस कन्सुल हेलेन निकोल्स १९४६ मा आएका थिए । इन्गर्ट र निकोल्स दुवै बेलायती मन्त्रीको पाहुनाको रूपमा यहाँ आएका थिए ।
अमेरिकामा पहिलो नेपाली अधिकारीको भ्रमण चाहिँ सन् १९३९ को अन्त्यतिर भएको थियो । लण्डनस्थित नेपाली मन्त्री जनरल कृष्ण राणा घर फर्कने क्रममा अमेरिका हुँदै आएका थिए । उनका उत्तराधिकारी जनरल सिंह राणा १९४५ को अन्त्यतिर अमेरिका पुगेका थिए । सन् १९४६ को गृष्म ऋतुमा कमान्डिङ जनरल बबरशमेशर जबराको नेतृत्वमा अमेरिकी विदेश र सामरिक मन्त्रालयहरूको पाहुना भई गएको नेपाली मिसनले केही हप्ता अमेरिकामा बिताएको थियो । उक्त टोलीले जुलाई २५ देखि अगस्ट १ सम्म वासिङ्टनको भ्रमण गरेको थियो ।
सन् १९४७ मार्च २२ तारिखमा विदेश मन्त्रालयले नेपालका लागि एक विशेष कूटनीतिक मिसन पठाउने घोषणा गरेको थियो । मिसनमा जोसेफ इकोनोमिक अफेयर्स काउन्सेलर, नयाँ दिल्ली, रेमन्ड ए हेयर, विलियम सी जोन्स्टन जुनियर प्रमुख सार्वजनिक मामिला अधिकारी, नयाँ दिल्ली, लेफ्टिनेन्ट कर्नेल नथानियल आर हास्कट सहायक सैनिक सहचारी, नयाँ दिल्ली, जे जेफर्सन जोन्स तृतीय भाइस कन्सुल, बम्बई, र चाल्र्स डब्लू बुथ भाइस कन्सुल, कराँची सम्मिलित थिए ।
स्याटर्थवाइट अमेरिकी राष्ट्रपतिको व्यक्तिगत प्रतिनिधिका रूपमा मिनिस्टर स्तरीय हैसियतमा नेपाल मिसनमा आएका थिए । उनी अप्रिल १३ तारिखमा काठमाडौँ आइपुगेका थिए र अप्रिल २१ मा उनले राजा त्रिभुवनलाई अमेरिकी राष्ट्रपति ह्यारी एस टुम्यानको पत्र चढाएका थिए । यसरी अमेरिकाले नेपाललाई स्वतन्त्र राष्ट्रको मान्यता दिएको थियो ।
सन् १९४७ अप्रिल २५ तारिखमा काठमाडौंमा नेपाल र अमेरिकाबीच वाणिज्य तथा मैत्री सम्झौतामा हस्ताक्षर भएको थियो । उक्त सम्झौताले दुई देशबीच कूटनीतिक र कन्सुलर सम्बन्ध स्थापित गर्ने ढोका खोलेको थियो, साथै अमेरिकी नागरिकप्रति गरिने व्यवहारको मापदण्ड स्थापित गर्दै भविष्यका वाणिज्य सम्बन्धहरूमा पक्षपातरहित व्यवहार अपनाइने नीति अवलम्बन गरेको थियो ।
त्यही दिन गरिएको अर्को सहमतिले भारतका लागि अमेरिकी राजदूतलाई नेपालका लागि पनि मिनिस्टर तोकेको थियो । त्यस्तै, नयाँ दिल्ली र कलकत्तामा भएका अन्य कर्मचारी पनि नेपाल हेर्नेगरी तोकिएका थिए । त्यसैगरी नेपालले पनि वासिङ्टनमा चार्जे डि’अफेयरको नेतृत्वमा नेपाली लिगेसन र न्यूयोर्कमा कन्सुलेट स्थापना गर्ने सहमति भएको थियो ।
स्याटर्थवाइटले नेपालमा मिसन खोल्ने कुराको वर्णन गर्दै ‘मिसन टु नेपाल’ लेखेका थिए जुन अमेरिकन फरेन सर्भिस जर्नलको अगस्ट १९४७ को अंकमा पृष्ठ ८–१०, ३२–४० मा प्रकाशित भएको थियो । उनका अनुसार त्यस बेला विदेशीहरू तत्कालीन प्रधानमन्त्रीका पाहुना भएर वा उनीहरूको अनुमति लिएर मात्र देशभित्र प्रवेश पाउँथे । नेपालमा आधिकारिक मिसन हुने एक मात्र युरोपेली राष्ट्र बेलायत थियो । नेपालसँग जोडिएको कुनै पनि सीधा मार्ग थिएन । उनीहरूको मिसन यहाँ आउँदा रेल र रोडको यात्रा तय गरी अन्तिममा घोडा र खच्चर साथै डोलीमा चढेर काठमाडौँसम्म आउनुपथ्र्यो ।
१९४८ फेब्रुअरी ३ मा अमेरिकी विदेश मन्त्रालयले नेपाल र अमेरिका दुवैले एक अर्को देशमा मिनिस्टरहरू राख्ने घोषणा ग¥यो । बेलायतका लागि नेपाली राजदूत कमान्डिङ जनरल केशरशमशेर जबराले वाशिङ्टनमा पनि नेपालको प्रतिनिधित्व गर्ने निधो भयो । उनले वाशिङ्टनमा आफ्नो ओहदाको प्रमाणपत्र सन् १९४८ फेबु्रअरी १९ तारिखमा बुझाएका थिए ।

१९४८ मे ३ तारिखमा भारतका लागि अमेरिकी राजदूत हेनरी एफ ग्रेडीले नेपालका लागि पहिलो मिनिस्टरका रूपमा ओहदाको प्रमाणपत्र बुझाए । सन् १९५९ सम्म नेपाल हेर्ने जिम्मेवारी पाएका अमेरिकी कूटनीतिक अधिकारीहरू भारतको पनि जिम्मेवारीमा हुन्थे र त्यहीँ बस्थे ।
१९४८ डिसेम्बर ३ मा भारतका लागि अमेरिकी राजदूत र नेपालका लागि मिनिस्टर लोय डब्लू हेन्डर्सनले काठमाडौँमा ओहदाको प्रमाणपत्र बुझाए । उनको नियुक्ति जुलाई १४ मा भएको थियो ।
अतः नेपाल र अमेरिकाबीचको सम्बन्धलाई आगामी दिनमा अझ बलियो बनाउनुपर्छ । अमेरिकासित असल सम्बन्ध स्थापना गरी नेपालले भरपुर फाइदा लिन सक्नुपर्छ । सानो मुलुक नेपालले सन्तुलित परराष्ट्र सम्बन्धबाट मुलुकलाई हित हुने काम गर्नुपर्छ । यसैमा नेपालको भलो हुन्छ ।