मनोरञ्जन

बलिउड अभिनेत्री फर्नान्डिजको करोडौंको सम्पत्ति जफत, यस्तो छ कारण

मुम्बई । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजको साढे ७ करोडको सम्पत्ति जफत भएको छ । भारतको पर्वतर्न निर्देशनालाय(ईडी)ले सम्पत्ति शुद्धीकरण मुद्दामा ७ करोड २७ लाख बराबरको सम्पत्ति जफत गर्ने निर्णय गरेको भारतीय संचारमाध्यमले लेखेका छन् । सम्पत्ति शुद्धीकरण प्रकरणमा सुकेश चन्द्रशेखरसँगको सम्बन्ध बाहिरिएपछि ज्याकलिन उक्त प्रकरणमा जोडिएकी हुन् । चन्द्रशेखरविरुद्ध चलिरहेको आपराधिक क्रियाकलापसम्बन्धीको मुद्दामा ज्याकलिनको नाम आएपछि ईडी अफिसले उनलाई धेरै पटक सोधपुछ गरेको थियो ।

चन्द्रशेखरले ज्याकलिनलाई महँगा उपहार दिएका थिए । ती उपहारहरु अवैध सम्पत्ति आर्जन र मानिसहरुलाई ठगेर कमाएको पाइएको थियो । सुकेस चन्द्रशेखरसँगै फोर्टिस हेल्थकेयरका पूर्व प्रमोटर शिविन्दर मोहन सिंहकी श्रीमती अदिति सिंह पनि अवैध सम्पत्ति आर्जन मामिलामा जोडिएकी छन् । ज्याकलिनले गत वर्षको अगस्ट र अक्टोबरमा ईडी अफिसलाई सुकेशचन्द्रबाट आफूलाई महँगो मूल्य पर्ने ब्याग, इयर रिंग्स, जुत्ता,ब्रेसलेटलगायतका उपहारहरु पाएको बयान दिएकी थिईन् ।

ज्याकलिनले चन्द्रशेखरबाट ९ लाख रुपैयाँ पर्ने ३ वटा पर्सियन बिरालो, ५२ लाख रूपैयाँ पर्ने एउटा अरेबियन घोडा, १५ जोडी हिराको इयररिंग्स, महँगा मूल्य पर्ने भाडावर्तन, गुचीलगायतका ब्रान्डका महँगा ब्याग तथा जिममा लगाइने पोशाक,विभिन्न ब्रान्डका जुत्ता, एउटा रोलेक्स घडी,गाडीलगायतका उपहारहरू लिएको ईडी अफिसले जनाएको छ ।