समाचार

नेपालमा वर्षा लम्बियो, निर्वाचनको दिन समेत पर्ने सम्भावना

काठमाडौं । स्थानीय वायु र भारतको बिहार–पश्चिम बंगालमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभावका कारण नेपालमा वर्षा लम्बिएको छ । मौसमको यो प्रणाली निर्वाचनको दिनसम्म लम्बिन सक्ने अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ । सोमबार देशभर मौसममा बदली देखिएको छ। बिहान पहाडी भूभागमा आंशिक बदली हुनुका साथै दिउँसो देशभर बदली रहने महाशाखाको अनुमान छ । महाशाखाका अनुसार प्रदेश १, बागमती र गण्डकीका केही स्थान र बाँकी भूभागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको आँकलन गरिएको छ। मंगलबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका केही स्थान र बाँकी भूभागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बुधबार प्रदेश १, बागमती र लुम्बिनीका केही स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

जलवायुविद्हरुले स्थानीय तहको निर्वाचनका दिन मुलुकभर वर्षा हुने प्रक्षेपण गर्दै आवश्यक पूर्व तयारी गर्न सम्बन्धित सबैलाई सचेत गराएका छन्। बंगालको खाडीमा वैशाख २३ गतेदेखि उत्पन्न न्यून चापीय अवस्था आईतबारको दिन समुन्द्री आँधीको रुपमा विकसित हुँदै गएको र त्यसको असर नेपालमा पनि पर्ने भएकाले आवश्यक पूर्व तयारी गर्न विज्ञहरूले सुझाएका हुन्।