फिचर

स्वर्ण पदक विजेता सञ्जु चौधरीको आत्महत्या रहस्यमै, गृह जिल्लामा अन्त्येष्टी गरिने

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुदमा नेपालका लागि ऐतिहासिक स्वर्ण जितेकी भारत्तोलन खेलाडी सञ्जु चौधरीले ‘आत्महत्या’ गरेसँगै उनको मृत्यु रहस्यमय बनेको छ । प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी सञ्जुले सोमबार राति सोही घरको भुइँतलाको कोठामा सलको पासो लगाएर ‘आत्महत्या’ गरेको अवस्थामा फेला परेकी हुन् । प्रहरीले मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि पाटन अस्पताल पुर्‍याएको थियो ।

उनको शव अपरान्ह त्रिपरेश्वरमा राखिएको थियो । जहाँ खेलाडी तथा पदाधिकारीहरुले उनलाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे । उनको अन्तिम संस्कार भने गृह जिल्ला बाँकेमा हुने भएको छ । ६ महिनाअघि नेपाल प्रहरीको जागीर छाडेर बसेकी सञ्जु एसियाली खेलकुदका लागि राष्ट्रिय टोलीमा छानिएकी थिइन् । १३औं सागमा स्वर्ण जित्ने पहिलो महिला भारत्तोलन खेलाडीको कीर्तिमान राखेकी उनको लक्ष्य एसियाली खेलकुदमा शीर्ष पाँचभित्र पर्ने थियो ।

पुलिसको जागीर छाडेपछि भारत्तोलनका प्रशिक्षक र डाइट न्युट्रिसियनसमेत रहेका सञ्जय महर्जनले सञ्जुलाई आश्रय दिएका थिए । एशियाली खेलकुदमा छनोट भएपछि ललितपुरको लुभुस्थित महर्जनको घरमा बसेर उनले तयारी गरिरहेकी थिइन् । सोमबार राति १० बजेर ३ मिनेटमा सञ्जुले आफ्नो फेसबुक एकाउन्टमा एउटा भिडियो सेयर गरेर क्याप्सनमा लेखेकी छन्, ‘मिसिङ यू लभ ।’ उनले यो बाटो किन रोजिन, रहस्यमै छ ।