विश्व

श्रीलंकामा थामिएन प्रदर्शन, देशभर सुरक्षाबल परिचालन

Photo courtesy Sri Lanka Brief

कोलम्बो । भयानक आर्थिक सङ्कटको सामना गरिरहेको श्रीलङ्कामा प्रदर्शन नथामिएपछि देशभर सुरक्षा बल परिचालन गरिएको छ । उनीहरूलाई सरकारविरोधी प्रदर्शनका क्रममा लुटपाट गर्नेहरूलाई गोली हान्नसक्ने अधिकार समेत दिइएको छ। गत महिनादेखि व्यापक विरोध प्रदर्शन सुरु भएपछिको पहिलो राष्ट्रिय सम्बोधनमा त्यहाँका राष्ट्रपति राष्ट्रपति गोटाबय राजपक्षले शान्ति-सुव्यवस्था पुनर्स्थापित गर्ने वाचा गरेका छन्।

बीबीसीका अनुसार उनले राजीनामाको मागलाई बेवास्ता गर्दै संसद्लाई केही थप अधिकार दिने र नयाँ प्रधानमन्त्री नियुक्त गर्ने प्रस्ताव गरेका छन्। तर त्यसका लागि कुनै समयसीमा तोकेका छैनन्। मूल्यवृद्धि र उपभोग्य वस्तुको अभावले उत्पन्न गरेको आक्रोशबीच उनका दाइ महिन्दा राजपक्षले सोमवार प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए।


खाद्यान्न र इन्धन जस्ता आधारभूत उपभोग्य वस्तुहरू सकिएर वा किन्न नसकिने भएपछि श्रीलङ्काका नागरिकहरू हताश बनेका छन्। राष्ट्रव्यापी कर्फ्यूबीच भीडले लगातार दोस्रो रात पनि आगजनी र आक्रमणहरू गरेका छन्। धेरैले राजपक्ष र अन्य राजनीतिज्ञका सम्पत्तिलाई निशानामा पारेका छन्। उनीहरूले देशमा देखिएको सङ्कटका लागि जनताले दोषी ठान्छन्।

कोलम्बो नजिकैका पसलहरू र पूर्व प्रधानमन्त्री महिन्दा राजपक्षका छोराको स्वामित्वमा रहेको रिसोर्टमा आगजनी भएको छ। राष्ट्रपतिका दाइ तथा दुईपटक राष्ट्रपति बनिसकेका महिन्दा राजपक्षलाई उनको सुरक्षाको लागि पूर्वोत्तर श्रीलङ्काको एउटा नौसेना आधार शिविरमा राखिएको सेनाले पुष्टि गरेको छ। सोमवारदेखि जारी हिंसामा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने करिब २०० जना घाइते भएका छन्।