समाचार

दोहाबाट कुवेत ट्रान्जिट गरी सिधै भैरहवा आउन सक्ने भए यात्रु

Photo : Gorakhapatra

काठमाडौं । यूरोप-अमेरिकाबाट कतारको दोहा झरेका वा दोहामै रहेका यात्रु समेत अब कुवेत ट्रान्जिट गरी भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आउन पाउने भएका छन् । जजिरा एयरवेजले जहाज दोहा–कुवेत–भैरहवा रुटमा उडाउने गरि तालिका सार्वजनिक गरेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडान २ जेठमा हुने छ ।

नियमित उडान भने २९ जेठबाट शुरु हुनेछ । २९ जेठबाट आइतबार, मंगलबार र बिहीबार यो जहाज भैरहवा आउने छ । जजिरा एयरवेजले अहिले काठमाडौंमा दैनिक एक उडान गरिरहेको छ । जजिराले सार्वजनिक गरेको तालिका अनुसार भैरहवाका लागि उड्ने जहाज कतारको दोहाबाट कुवेत जानेछ । दोहामा साढे १ घण्टाको ट्रान्जिट हुने छ । त्यसपछि जहाज भैरहवाका लागि उड्ने छ । अर्थातः कतारबाट सिधै भैरहवा आउन चाहने यात्रुले समेत यस उडानमा सेवा लिन सक्ने भएका छन् ।