विश्व

दिल्लीमा एक कार्यालय भवनमा आगलागी, कम्तिमा २७ जनाको मृत्यु

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा रहेको एक कार्यालय भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ । घटनामा कम्तीमा १२ जना घाइते भएको त्यहाँस्थित आपत्कालीन सेवा प्रदायकहरूले बताएका छन्। बीबीसीका अनुसार आगलागीको बेला त्यस चार तले भवनमा ७० जना भन्दा बढी मानिस रहेको बताइएको छ। प्रहरीले झ्यालको सिसा फोडेर मानिसहरूको उद्धार गरेको थियो। भारतको राजधानी दिल्लीको पश्चिममा रहेको मुन्ड्का मेट्रो स्टेसन नजिकै भएको घटनामा आगो निभाउन करिब २० वटा दमकल प्रयोग गरिएको थियो।

आगलागी हुनुको कारण विद्युतीय अवरोधका (सर्ट सर्किट) भएको अनुमान गरिएको छ। ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मृत्यु हुनेहरूको परिवारका लागि दुई लाख भारतीय रुपैयाँ क्षतिपूर्ति दिने बताएका छन्। आगो नियन्त्रणमा आएपछि उद्धार कार्य जारी राखिएको छ। स्थानीय अधिकारी जोगीराम जैनका अनुसार प्रारम्भिक विवरणमा विद्युतीय अवरोधका कारण आगलागी भएको हो। उनले भवनमा उचित अग्नि सुरक्षा प्रमाणीकरण नभएको समेत बताए।