फिचर

एक दशकपछि नेपालमा अमेरिकी उच्च अधिकारीको भ्रमण हुँदै, उपमन्त्री जिया काठमाडौं आउने

काठमाडौं । अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपमन्त्री तथा तिब्बती मुद्दाका लागि अमेरिकी विशेष संयोजक उज्रा जिया तीनदिने भ्रमणमा शुक्रबार काठमाडौं अवतरण गर्ने भएकी छिन् । यो पछिल्लो एक दशकयता अमेरिकाबाट नेपालमा हुन लागेको सबैभन्दा उच्च तहको भ्रमण हो । सन् २०१२ मा अमेरिकाका दुई उपसचिव वेन्डी शेरम्यान र मारिया ओटेरोले नेपाल भ्रमण गरेका थिए । सन् २००२ मा तत्कालीन विदेशमन्त्री कोलिन पावेलले नेपालको औपचारिक भ्रमण गरेका थिए  ।

सन् २०१२ यता यो स्तरको अमेरिकी अधिकारी नेपाल आएका छैनन् । नेपाल–अमेरिका कूटनीतिक सम्बन्ध ७५ वर्ष पुगेको अवसरमा जिया आउन लागेको बताइएको छ । परराष्ट्र मन्त्रालयले भने औपचारिक रुपमा भने यसबारे विवरण सार्वजनिक गरेको छैन । उपमन्त्री जियाले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का र अन्य वरिष्ठ अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको स्थानीय संचारमाध्यमले लेखेका छन् ।