फिचर

१० महिनामा ५ लाखले लिए श्रम स्वीकृति

काठमाडौ । चालू आर्थिक वर्षको १० महिनाको अवधिमा वैदेशिक रोजगारीमा जान ५ लाख भन्दा बढी मानिसले श्रम स्वीकृति लिएका छन् । पछिल्लो समय अधिकांश मुलुकले रोजगारीलाई पूर्ण रुपमा खुला गरिसकेका छन् । वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको साउनदेखि वैशाखसम्ममा रोजगारीका लागि विदेश जान श्रम स्वीकृति लिनेको सङ्ख्या पाँच लाख नौ हजार ४३० पुगेको हो । यो सङ्ख्या गत आर्थिक वर्षको सो अवधिको तुलनामा तीन गुणा धेरै हो ।

चालू आर्थिक वर्षकै चैतको तुलनामा वैशाख महिनामा श्रम स्वीकृति लिनेको सङ्ख्या केही घटेको छ । विभागका अनुसार चैतमा ५९ हजार ४६१ जनाले श्रम स्वीकृति लिएकोमा वैशाखमा ४५ हजार पाँच जनाले श्रम स्वीकृति लिए । आव २०७७÷७८ मा एक लाख ६६ हजार ६९८ जनाले श्रम स्वीकृति लिएका थिए । आव २०७६÷७७ मा एक लाख ९० हजार ४५३ जनाले श्रम स्वीकृति लिएका थिए ।

विगत तीन आर्थिक वर्षमा प्रमुख सात श्रम गन्तव्य कतार, संयुक्त अरब इमिरेटस् (यूएई) मलेसिया, साउदी अरब, बहराइन, कुवेत र ओमान हुन् । पछिल्लो समय कतार, साउदी आरब र यूएई जाने नेपालीको सङ्ख्या शतप्रतिशतले बढेको छ ।