समाचार

महानगरमा एमालेले मेयर जित्ने सम्भावना कम

काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ को अन्तिम मत परिणाम आउने क्रम जारी रहँदा ५ महानगरपालिकामा भने गणना जारी छ । एक महानगरपालिकाको नतिजा आइसकेको छ । ७५३ रहेको पालिकामा हालसम्म ७२६ पालिकाको अन्तिम नतिजा आएको छ । ६ महानगरमध्ये विराटनगर महानगरपालिकामा कांग्रेस विजयी भएको छ । बाँकी ५ महानगरपालिकामा समेत मत गणनाका हिसावले एमालेले जित्ने सम्भावना करीव अन्त्य जस्तै भएको छ ।

ललितपुर, पोखरा, भरतपुर र वीरगन्जमा सत्ता गठबन्धनका उम्मेदवार अगाडि हुँदा काठमाडौंमा स्वतन्त्र उम्मेदवारको अग्रता छ । ११ उपमहानगरमध्ये ९ वटाको अन्तिम नतिजा आइसकेको छ। अब धनुषाको जनकपुरधाम र दाङको तुलसीपुर उपमहानगरमा अन्तिम नतिजा आउन बाँकी छ। जनकपुरमा स्वतन्त्र उम्मेदवार अगाडि हुँदा तुलसीपुरमा एमालेका उम्मेदवारको अग्रता छ।

काठमाडौं महानगरपालिकामा स्वतन्त्रबाट बालेन शाहले ४३ हजार ८५० मत ल्याउँदा कांग्रेसकी सिर्जना सिंहको २५ हजार ९४४ र एमालेका केशव स्थापितको २५ हजार ०५९ मत आएको छ । यहाँ उपमेयर भने नेकपा एमालेले जित्ने निश्चित भएको छ । ललितपुर महानगरपालिकामा कांग्रेसका चिरीबाबु महर्जन ३५ हजार ७०३ मत सहित अगाडी छन् । उनलाई एमालेका हरिकृष्ण ब्यञ्जनकारले २० हजार ९४२ मतसहित पच्छ्याइरहेका छन् ।

भरतपुर महानगरपालिकामा माओवादीकी रेनु दाहाल ४३ हजार ४८४ मतसहित अगाडी छिन् । एमालेका विजय सुवेदी ३३ हजार ६१२ मतसहित दोस्रो स्थानमा छन् । वीरगन्ज महानगरपालिकामा जसपाका राजेशमान सिंह ३८ हजार ४३७ मतसहित अगाडी छन् । उनलाई एमालेका विजयकुमार सरावगीले मात्र १९ हजार ६७९ मतसहित पच्छ्याएका छन् । पोखरा महानगरपालिकामा समाजवादीका धनराज आचार्य ४७ हजार ९९२ मतसहित अग्रतामा छन् । उनलाई एमालेका कृष्णबहादुर थापाले ४४ हजार १३९ मतका साथ पच्छ्याएका छन् ।