समाचार

अब २७ स्थानीय तहको मात्र नतिजा आउन बाँकी

काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ मा एकै पटक ७५३ स्थानीय तहको निर्वाचन भएको थियो । सोमबार बिहानसम्म ७२६ स्थानीय तहको अन्तिम मतपरिणाम आउँदा २७ स्थानीय तहमा भने मतगणनोका काम जारी छ । यसमा दुई उपमहानगरपालिका र पाँच महानगरपालिका रहेका छन् । निर्वाचन आयोगका अनुसार १ महानगर, ९ वटा उपमहानगरसहित ७२६ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको हो । कुल २७ मध्ये २ वटामा मतगणना सुरू नै भएको छैन।

अहिलेसम्म प्राप्त तथ्यांक अनुसार नेपाली कांग्रेसले पालिका प्रमुखदेखि सदस्यसम्म सबैभन्दा बढी पालिकामा जित हात पारि पहिलो स्थानमा छ । दोस्रोमा नेकपा एमाले र तेस्रोमा नेकपा माओवादी केन्द्र छ। प्रदेश १ बाट उदयपुरका दुई वटा पालिका, मधेश प्रदेशबाट रौतहटका ६, सिराहा, धनुषा, बारा र पर्साबाट १, १ पालिकाको अन्तिम नतिजा आउन बाँकी छ। बागमती प्रदेशबाट काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र भरतपुर महानगरपालिका बाँकी छन्।

गण्डकीबाट पोखरा महानगरपालिका बाँकी हुँदा लुम्बिनीबाट रूपन्देहीका ३ पालिका तिलोत्तमा, लुम्बिनी सांस्कृतिक र कोटहीमाई गाउँपालिकाको अन्तिम मत परिणाम आउन बाँकी छ। कपिलबस्तुबाट महाराजगन्ज नगरपालिका र दाङबाट तुलसीपुर उपमहानगरपालिकामा अन्तिम परिणाम आउन बाँकी छ। सुदूर पश्चिम प्रदेशबाट बाजुराको बुढी गंगा, अछामको साफेबगर नगरपालिकामा अन्तिम परिणाम आइसकेको छैन ।