स्थानीय

रेनु दाहाल दोस्रो पटक भरतपुरको मेयर

चितवन । नेकपा माओवादी केन्द्रकी रेनु दाहाल चितवनको भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि दोहोरिएकी छिन् । मंगलबार बिहान रेनुले ५२ हजार ३० मत पाइन । एमालेका उम्मेदवार विजय सुवेदीले ३९ हजार ५८१ मत पाए । रेनु र विजयबीचको मत अन्तर १२ हजार ४४९ छ । मतगणनाको परिणाम सार्वजनिक भएपछि माओवादी कार्यकर्ताहरुले विजय उत्सव मनाउन शुरु गरेका छन् । मत गणनास्थल औद्योगिक प्रदर्शनी केन्द्र वरपर माओवादी कार्यकर्ताहरुको भिड बढेको छ ।

भरतपुरको मेयरका लागि माओवादी केन्द्रका केन्द्रीय सदस्य रेनु दाहाल र एमाले नेता विजय सुवेदीबीच प्रतिस्पर्धा भएको थियो । सत्ता गठबन्धनको साझा उम्मेदवार रेनुविरुद्ध नेपाली कांग्रेसका बागीको रुपमा जगन्नाथ पौडेलले पनि प्रतिस्पर्धा गरेका थिए । पौडेलले १४ हजार ७२८ मत पाएका छन् ।

उपमेयर तर्फ पनि नेपाली कांग्रेसका चित्रसेन अधिकारीको जित सुनिश्चित भएको छ । उनले ५२ हजार ८०३ मत पाएका छन् । उनका प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले ३० हजार ५२ हजार ८०३ मत पाएकी छन् । भरतपुरमा नेकपा एमाले र राप्रपाले तालमेल गरेका थिए । मेयरमा एमालेका विजय सुवेदी र उपमेयरमा राप्रपाकी हिमला गुरुङ उम्मेदवार थिए । तर उनीहरु दुबै जना भारी मत अन्तरले पछि परेका छन् ।