बिचार

नेपालको समृद्धिको लागि दोहोरो नागरिकता प्रणाली

योगेश आदी

विषयवस्तुको उठानले नै पाठकको मनमा अनेकन प्रश्नहरु उठोस् भन्ने चाहन्छु । यसले नेपाललाई के फाइदा हुन्छ ? के बेफाइदा हुन्छ ? नेपाललाई किन आवश्यक छ ? नेपाल जस्तो भूराजनैतिक पृष्ठभूमि भएका अन्य देशमा के छ ? यो कति प्रकार र किसिमले गर्न सकिन्छ ? विश्वका कति देशले लागू गरे ? किन गरे ? यावत सन्दर्भको अध्ययन गरी उत्तर खोज्ने प्रयास गरेको छु।

संसारमा नेपाल जस्तै तेश्रो विश्वका सूचिमा दरिएका करिव १५२ देशहरू छन् । दोश्रोमा परेका लगभग १०० देशहरू छन् भने केवल ३१ देशहरू मात्र मानव सचेतना, भौतिक विकास र आर्थिक समुन्नतको मापदण्ड पुरा गरी पहिलो विश्वको दर्जा प्राप्त गरेका छन् । त्यसो त विश्वमा १९५ देशहरू छन् । प्राय देशहरु माथि उक्लिने र तल झर्ने क्रममा भएकोले गणित अमिल्दो लाग्दछ । जे भएपनि नेपाल लगायतका अधिकांश देशहरू भने तेश्रो मुलुकमा नै छन् । गरिब देशहरु अन्य विषयमा अल्मलिएर महत्वपूर्ण तथा राष्ट्रको समृद्धिसँग जोडिएका विषय ओझेलमा परेकाले बहस उठान गर्न जरूरी परेको हो ।

नेपाल जस्तै आर्थिक अवस्था र भूराजनैतिक पृष्टभूमि भएका बंगलादेश, पाकिस्तान र फिलिपिन्सले शर्तसहित दोहोरो नागरिकता प्रणाली लागू गरेर देशमा बर्षेनि अरबौं डलर भित्र्याएको दृष्टान्तबाट हामीले सिक्न जरूरी छ ।”

देश भनेको जमिनको सिमाना मात्र होइन । त्यो जमिनसँग सरोकार राख्ने जनसंख्या हो । जनभावना हो । भावना जोडिएका जनसंख्यालाई सम्बोधन गर्न सकेन भने देश नाम र दस्तावेज मात्र रहन जान्छ । जनसंख्या र जनभावना नै समग्रमा राष्ट्र हो । त्यो देशसँग मुलजरा जोडिएका भाषीहरु असहज अवस्थामा फर्किने भुमि नै वास्तवमा देश हो । हामी टाढा पुग्नु पर्दैन । करिब १५ लाख रोहिङ्गा मुस्लिम रहेको म्यान्मारबाट आधा बंगलादेश फर्किनु परेको घटना र भुटानबाट डुकको अत्याचारमा परेर नेपाल लखेटिनु परेको दशौं लाख नेपाली भुटानी दाजुभाइ अनि पाकिस्तानबाट भारत फर्किनु परेका भारतीय सिन्धियाको कथा नै काफी छ । मुलदेशसँग प्रत्यक्ष र अप्रत्यक्ष सरोकार राख्ने तर विभिन्न कारणले बिदेशमा बसोवास गर्दै आएका जन्मसिद्ध र बंसजका आधारमा अधिकार भएका आफ्ना नागरिकलाई देशसँग जोडिराख्न देशले यस विषयमा गम्भिर भएर सोच्नु पर्दछ । त्यसै गरी बिदेशमा रहेका नेपालीले पनि अफ्ठ्यारो अवस्था आइपरेमा फर्काइने वा फर्किने देश भनेको नेपाल नै हो । त्यसैले दोहारो नागरिकता प्रणालीको विषयमा देशले उचित सम्बोधन गर्नुपर्दछ । यसले देशलाई आर्थिक र सामाजिक रुपमा केवल फाइदा मात्र छ।

दोहोरो नागरिकता पद्दति अन्तर्गत नेपालको चर्चा गर्दा नेपाल र नेपाल जस्तै भूराजनैतिक अवस्थामा रहेका देशहरू जसले दोहोरो नागरिकता प्रणाली अपनाएका छन्, तीनका पहिले र अहिलेको आर्थिक अवस्था एवम् दोहारो नागरिकता प्रणाली अपनाएका पहिलो विश्वका देशहरूको परिणाम हेर्नुपर्ने हुन्छ । संसारमा हालसम्म ६६ देशहरुले पूर्ण रूपमा दोहारो नागरिकता प्रणाली लागू गरेका छन् । केही देशहरुले तोकिएका देशहरु बाहेक भनेका छन् भने केहीले शर्तहरु लगाएका छन् ।

नेपाल जस्तै आर्थिक अवस्था र भूराजनैतिक पृष्टभूमि भएका बंगलादेश, पाकिस्तान र फिलिपिन्सले शर्तसहित दोहोरो नागरिकता प्रणाली लागू गरेर देशमा बर्षेनि अरबौं डलर भित्र्याएको दृष्टान्तबाट हामीले सिक्न जरूरी छ । नेपालको सम्पूर्ण जनसँख्याको १४% अर्थात ३५ लाख नेपालीहरू अन्य देशमा रहेको कारणले पनि देशले यस विषयमा यथासक्य चाँडो सम्बोधन गर्न जरुरी छ । ती १४% ले पठाएका वार्षिक ११ अर्ब विप्रेषण (रेमिटेन्स) को टेवा र योगदानलाई राष्ट्रले भुल्न हुँदैन । प्रायश देशहरुले १०% भन्दा बढी जनसँख्या देश बाहिर रहेपछि यस विषयमा निर्णय गरेको देखिन्छ । बंगलादेशले २००८ मा अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानाडा र सम्पूर्ण यूरोपका देशहरूलाई मात्र मान्य हुनेगरी दोहोरो नागरिकता प्रणाली लागू गरेपछि ती देशमा रहेका बंगालीहरूले बंगलादेशमा रहेका सम्पत्ति बेचेर बिदेश लैजानुको साटो बंगलादेशमानै थप लगानि गरे । यसले बंगलादेशको अर्थतन्त्रमा राम्रो प्रभाव पर्यो । त्यस्तै पाकिस्तानले बंगलादेशले गरेका सम्पूर्ण देशहरुसहित थप बहराइन, इजिप्ट, जोर्डन, सिरियामा भएका पाकिस्तानिलाई देशसँग पुन: जोडे । त्यस्तै फिलिपिन्सले बिदेशमा रहेका फिलिपिनोहरूलाई देशमा निर्धक्क उद्योगधन्दा गर्ने बाटो खोल्दिएका छन् । यी सबै देशका नागरिकहरू इच्छा अनुसार दुई वा एक पासपोर्ट बोकेर यात्रा गर्छन् ।

प्रविधिको पहुँच र यातायात सुविधाले विश्वनै एउटा गाउँ जस्तो अवस्थालाई मध्यनजर राख्दै हालै नर्वे जस्तो सम्पन्न र लाइबेरिया जस्तो बिपन्न देशले पनि दोहोरो नागरिकता प्रणाली अर्थात दुई पासपोर्ट सहितको आवतजावतलाई मान्यता दिइसकेको अवस्थामा नेपालले तोकिएका देश र शर्त तोकेर लागू गर्दा राम्रो हुने देखिन्छ । त्यसो त जसले जन्मको आधारमा नागरिकता प्राप्त गरेको छ उसको जन्मसिद्ध अधिकारलाई अर्थात प्राप्त गरी सकेको नागरिकतालाई अर्को देशको नागरिकता लिएकै आधारमा जन्मसिद्ध अधिकार नै खोस्ने पुरातनबादी सोच, आरिस, संकिर्ण मानसिकता र भेदभावबाहेक कुनै वैज्ञानिक आधार छैन । हेर्ने नै हो भने हाल धेरै देशहरुले ३ फरक देशका पासपोर्टलाई र केहीले ४ वटा समेत स्वीकार गरिसकेको अवस्था छ ।

दोहोरो नागरिकता प्रणाली लागू गरेमा नेपाल जस्तो देशलाई कुनै पनि बेफाइदा देखिएको छैन । त्यसो त नेपाललाई फाइदा के के हुन्छ ?
१, विप्रेषणका अलावा लगानि भित्रिने छन् ।
२, नेपालमा भएका सम्पत्ति बेचेर बिदेश लैजाने छैनन् ।
३, जारी गरिने पासपोर्ट र नागरिकताबाट राजस्व बढ्नेछ ।
४, दोहोरो कर लगाउन पाउने छन् ।
५, आवश्यक परेमा सेनाको लागि अनिवार्य गर्न सक्नेछन् ।
६, कानुनको अधिनमा राख्न पाउने छन् ।

संसारका श्रोत र साधनले सम्पन्न ‘पहिलो विश्व’ कहलिने अमेरिका-युरोपका देशहरुले र कयैन नेपाल जस्ता विकासोन्मुख देशहरूले समेत दोहोरो नागरिकता पद्दति लागू गरेर दिर्घकालिन आर्थिक र सामाजिक सेतु निर्माण गरिसकेको अवस्थामा नेपालले अलमलिरहनु पर्ने कारण देख्दिन । भूराजनीतिक अवस्था र खुला सिमानाको असहजतालाई मनन गरेर सार्क राष्ट्र लगायतका देशउपर शर्त राखेर गर्दा नेपाललाई कुनै बेफाइदा छैन ।