समाचार

एक वर्षमा वैदेशिक रोजगारीमा गएकामध्ये १४३३ जना नेपालीको निधन

काठमाडौं । नेपालबाट वैदेशिक रोजगारीका सिलसिलामा गएका मध्ये एक वर्षको अवधिमा १४३३ जनाले ज्यान गुमाउनु परेको छ । आर्थिक वर्ष २०७८-७९ मा वैदेशिक रोजगारीमा गएका नेपालीमध्ये सो संख्यामा नेपालीको ज्यान गएको वैदेशिक रोजगार बोर्डले जनाएको छ । बोर्ड सचिवालयको तथ्यां अनुसार एक वर्षमा एक हजार ४७९ जना मृतकका परिवारले क्षतिपूर्ति बुझेका छन् । मृत्यु हुनेमा ४६ जना महिला छन् । एक हजार ४३३ जना पुरुष छन् ।

अघिल्लो वर्ष आर्थिक वर्ष २०७७÷७८ मा एक हजार २४२ जनाले ज्यान गुमाएका थिए । सो वर्ष कोरोना महामारी समेत धेरै थियो । अहिले विदेशमा दैनिक औसत ४ जनाले ज्यान गुमाउने गरेको पाइएको छ । बोर्डले एक वर्षमा मृत्यु भएका श्रमिकका परिवारलाई क्षतिपूर्तिबापत ८३ करोड ६० लाख रुपैयाँ प्रदान गरेको छ ।

कुन आवमा कतिको मुत्यृ ?
वैदेशिक रोजगार बोर्डको सचिवालयका अनुसार आर्थिक वर्ष २०७१\७२ मा एक हजार ६ जनाको विदेशमा मृत्यु भएको थियो, आर्थिक वर्ष २०७२\७३ मा ८२६, २०७३\७४ मा ७५८, २०७४\७५ मा ८२६, आर्थिक वर्ष २०७५\७६ मा ७६३, २०७६\७७ मा ६७२ जना मृतक श्रमिकका परिवारले बोर्डबाट क्षतिपूर्ति बुझेका थिए । आर्थिक वर्ष २०७७\७८ मा १ हजार २४२ पुगेको संख्या अहिले करिब १५ सय नजिक पुगेको हो ।