समाचार

नेतालाई गाली गरेर समाज भत्काउन खोजियो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेतालाई गाली गरेर समाज भत्काउन खोजिएको बताएका छन् । पछिल्लो समय आगामी निर्वाचनमा सबै पूर्वप्रधानमन्त्रीहरुलाई हराउने भन्दै सामाजिक सञ्जालमा जारी अभियानबारे प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् । शनिबार काठमाडौंमा नेकपा माओवादी केन्द्रको सम्पर्क समन्वय समितिको कार्यक्रममा उनले एकथरि मान्छेहरुले बुढाहरु चाहिँदैन, प्रौढहरु चाहिँदैन भनेर समाज भत्काउन खोजेको बताए । ‘यो समाज भत्काउने विचार हो, समाज बनाउने विचार होइन’ उनले भने, ‘समाज बनाउन युवा, प्रौढ, वृद्धवृद्धा पनि चाहिन्छ ।

सबैको उचित समायोजन गरेर मात्र राजीनीति, समाज र राष्ट्र चल्न सक्छ ।’ प्रचण्डले परिवर्तन नरुचाउनेहरुले अनेक बहानामा वृद्ध नेताहरुलाई निषेध गर्न खोजेको आरोप लगाए । ‘परिवर्तन नरुचाउनेहरुले कहिले युवा, कहिले वृद्धलाई कहिले नेताहरुलाई निषेध गर्न खोजेर समाज भत्काउने, परिवर्तन भत्काउने कोशिस भएका छन्’ उनले भने । नेतालाई गाली गरेर समाज भत्काउने संस्कारलाई तर्कसंगत प्रतिवद गर्नुपर्ने प्रचण्डले बताए ।