समाचार

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारी

काठमाडौं । सरकारले बुद्धकालीन कपिलवस्तुको राजधानी तिलौराकोटलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्ने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले बुद्धकालीन कपिलवस्तुको राजधानी तिलौराकोटलाई जतिसक्दो छिटो विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रयास गरिने बताएका हुन् । सोमबार तिलौराकोटको अवलोकन गर्न पगेका मन्त्री श्रेष्ठले तिलौराकोटको सम्वर्द्धन र संरक्षणका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताए।

गौतम बुद्धले बाल्यकाल बिताएको र २५ सय वर्षअघिको तिलौराकोट पुरातात्विक दृष्टिकोणबाट विश्वकै महत्वपूर्ण स्थल भएको भन्दै उनले तिलौराकोट दरबारलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउन जतिसक्दो छिटो आवश्यक प्रक्रिया पूरा गरिने बताए । तिलौराकोट दरबारको समुचित विकास एवं प्रचारप्रसारमा ध्यान दिनुपर्ने बताउँदै उनले यस क्षेत्रको विकासमा स्थानीय, प्रदेश र संघीय सरकारको सहकार्य जरूरी रहेको बताए। सो अवसरमा लुम्बिनी विकास कोषको सदस्यसचिव सानुराजा शाक्यले बौद्धकालीन इतिहास र तिलौराकोट दरबार क्षेत्र उत्खननबारे मन्त्री श्रेष्ठलाई जानकारी गराए।

लुम्बिनीलाई ऐतिहासिक, धार्मिक र पुरातात्विक क्षेत्रका रूपमा विकास गर्ने सरकारको नीति छ। बृहत्तर लुम्बिनी क्षेत्रमा पर्ने लुम्बिनी, तिलौराकोट र रामग्रामको एकीकृत विकास गर्नुपर्नेमा उनले जोड दिए। तिलौराकोट इसापूर्व छैठौं शताब्दीमा योजनाबद्ध सहरीकरण भएको शाक्य राज्यको राजधानी हो। गौतम बुद्धले बाल्यकाल बिताएको तिलौराकोट विश्वभरका बौद्धमार्गीहरूका लागि महत्त्वपूर्ण स्थल मानिन्छ