फिचर

नेपालबाट जापानमा शून्य लागतमा कामदार पठाउन गृहकार्य थालियो

काठमाडौं । नेपालबाट शून्य लागतमा जापानमा कामदार पठाउने बारे गृहकार्य शुरु भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पहिलो चरणमा जापानिज भाषा र सीप परीक्षा उत्तीर्ण गरेकामध्ये ८ सय ५० जनालाई जापान पठाउने तयारी गरेको छ । अहिले जापानको प्रक्रिया रोकिए पनि परीक्षा भने सञ्चालन भइरहेको छ । अहिलेसम्म झन्डै ५ हजार ३ सय जनाले जापानिज भाषा र सीप परीक्षा पास गरिसकेका छन् ।

जापानले विशिष्टीकृत दक्ष मोडल (एसएसडब्ल्यू) बाट कामदार लैजान्छ । सन् २०१९ मा नेपाली नागरिकलाई जापानमा रोजगारीका अवसर प्रदान गर्ने गरी नेपाल र जापानबीच श्रम समझदारी भएको थियो । श्रम समझदारीअनुसार नेपाली युवालाई जापानको श्रम बजार प्रवेशमा सहजीकरण गर्ने उद्देश्यले आज संयुक्त कार्यसमितिको बैठक बस्दैछ ।

काठमाडौंमा बस्ने बैठकमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेलको नेतृत्वमा परराष्ट्र र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधि सहभागी हुनेछन् । जापान सरकारका तर्फबाट त्यहाँका सहायक उपमन्त्री चोसुमो नाकागावाको नेतृत्वमा जापानी प्रतिनिधिमण्डल बैठकमा सहभागी हुने छन् । बैठकले नेपाली नागरिकलाई जापानमा रोजगारी दिने सन्दर्भमा छलफल गरी उपयुक्त निर्णयका लागि दुवै देशका सरकारलाई सिफारिस गर्नेछ ।