विश्व

चीनद्धारा अमेरिकासँगका महत्वपूर्ण सहकार्य स्थगित भएको घोषणा

बेइजिङ । चीनको विदेशमन्त्रालयले अमेरिकासँग जलवायु परिवर्तन, सैन्य वार्तासँगै अपराध, लागुऔषध र गैरकानुनी आप्रवासनसम्बन्धी सहकार्यहरू स्थगित गर्ने जनाएको छ। बेइजिङले अमेरिकी सभामुख न्यान्सी पलोसी र उनको परिवारविरुद्ध पनि प्रतिबन्धहरू लगाउने भएको छ। तर, कस्ता प्रतिबन्धहरू लगाइएका हुन् स्पष्ट पारिएको छैन। बीबीसीका अनुसार व्यक्तिगत प्रतिबन्ध पलोसीलाई मात्रै नभई उनको परिवारमाथि पनि लगाइएको छ।

यद्यपि थप कदमहरू धेरै बृहत् छन्। दुई देशबीच उच्च स्तरीय सैन्य वार्तासहित अन्तर सीमा अपराधजस्ता विषयका सहकार्य पनि चीनले स्थगित गर्न लागेको छ। यसअघि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले ताइवान वरपरको क्षेत्रमा सैन्य गतिविधि बढाउन पलोसीको शान्तिपूर्ण भ्रमणलाई चीनले बहाना बनाएको बताएका थिए।


उता, चीनले ताइवान वरपर थालेको सैन्य अभ्यास दोस्रो दिन पनि जारी राखेको छ। ताइवानको रक्षा मन्त्रालयले मुख्यभूमि चीनले ताइवान छुटिने क्षेत्र वरपर ६८ वटा विमान र १३ वटा पानीजहाज सक्रिय बनाएको जनाएको हो। त्यसको प्रतिक्रियामा ताइवानले हवाई र समुद्री गस्ती गरिरहेको र क्षेप्यास्त्र प्रणालीलाई सक्रिय पारिएको जनाएको छ।

अमेरिकाको राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले वासिङ्टनले सङ्कट नचाहेको तर ताइवानलाई समर्थन गर्ने र वेस्टर्न प्यासिफिकमा आफ्नो कारबाहीबाट विचलित नहुने जनाएका छन्। ताइवानका विदेशमन्त्रीले पनि पलोसीको संक्षिप्त तर विवादास्पद भ्रमणको बचाउ गरेका छन्। उनले पलोसीको भ्रमण अत्यन्तै महत्त्वपूर्ण रहेको र चीनको प्रतिक्रियाले ताइपेईमा आमन्त्रित हुन प्रजातान्त्रिक नेताहरूलाई नरोक्ने बताएको बीबीसीले लेखेको छ ।