समाचार

सोमबार पूर्वी नेपालमा भारी वर्षाको सम्भावना

काठमाडौं । सोमबार देशभर मौसम आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान छ । मौसमविद्‍का अनुसार हाल प्रदेश नम्बर–१, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली छ। देशका बाँकी भूभागमा आंशिक बदली छ। कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। अहिले मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेकाले पूर्व क्षेत्रमा वर्षा भइरहेको छ। पूर्वबाट मौसको नयाँ प्रणाली प्रवेश गरेको छ। जसले आज प्रदेश नम्बर १ मा भारी वर्षा हुने सम्भावना छ ।

आज राति प्रदेश एक सँगै बागमती प्रदेशमा पनि भारी वर्षा हुने सम्भावना रहेको समेत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो प्रणाली आजै हटेर जाने भएकाले अरू प्रदेशमा आंशिक देखि सामान्य बदली हुँदा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । महाशाखाका अनुसार भोलि मंगलबार लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। बुधबार भने बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।