फिचर

कोभिडपछि रोकिएको कोरियाको रोजगारी पुनः सूचारु गर्ने

काठमाडौं । रोजगार अनुमति प्रणाली ईपीएसअन्तर्गत कोरिया रोजगारीका लागि कृषि तथा पशुपालनतर्फको पहिलो चरणमा भाषा, सीपसहितका अन्य प्रक्रियामा सफल भएका उम्मेदवारलाई कात्तिकभित्र दक्षिण कोरिया पठाउने प्रक्रिया थालिएको छ । वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखाले कृषितर्फको पहिलो चरणमा लिइएको भाषा र सीप परीक्षामा उत्तीर्ण भएका उम्मेदवारको नाम दक्षिण कोरिया मानव संशाधन विभाग (एचआरडी) को रोस्टरमा पठाउन लागेको हो ।

ईपीएस कोरिया शाखाका अनुसार रोस्टरमा नाम पठाउने सूचीमा रहेका उम्मेदवारको व्यक्तिगत चारित्रिक विवरण ठीक भएको प्रहरी प्रतिवेदन र स्वास्थ्य परीक्षणको रिपोर्टसहित रोजगार आवेदन फारमसहितको नाम रोस्टरमा पठाइएको छ । दक्षिण कोरिया सरकारले कृषि तथा पशुुपालनतर्फ दुई हजार ७४१ जना श्रमिकको माग आएकोमा पहिलो चरणमा एक हजार ८०९ जना उत्तीर्ण भएका छन् । परीक्षाका लागि जम्मा छ हजार ५९७ जनाले आवेदन दिएकोमा छ हजार १०६ जनाले परीक्षा दिएका थिए ।

कृषितर्फको दोस्रो चरणका लागि असार १३ गतेदेखि २२ गतेसम्म भएको परीक्षामा एक हजार १०३ जना उत्तीर्ण भएका छन् । दोस्रो चरणमा उत्तीर्ण भएका उम्मेदवारको स्वास्थ्य परीक्षण, व्यक्तिगत चारित्रिक विवरण ठीक भएको प्रहरी प्रतिवेदनसहित रोजगार आवेदन फारम भराउने काम भइरहेको छ । कृषि तथा पशुपालनतर्फको पहिलो र दोस्रो चरणमा गरेर दुई हजार ९१२ जना उत्तीर्ण भएका छन् । ईपीएस शाखाका उक्त क्षेत्रका लागि दुई हजार ७४१ जनाको माग रहेको छ । मागको सङ्ख्या र उत्तीर्ण सङ्ख्या हेर्दा १७१ जना बढी हुन आउँछ ।

सन् २०२२ मा उत्पादनतर्फ ईपीएसमार्फत रोजगारीमा दक्षिण कोरिया जानेका लागि पहिलो चरणको परीक्षण साउन २ गतेदेखि भदौ ९ गतेसम्म सञ्चालन गरिनेछ । ईपीएस शाखाका अनुसार उत्पादनतर्फको पहिलो चरणको परीक्षाका लागि १५ हजार ३८३ जनाले आवेदन दिएका छन् । यस्तै उत्पादनतर्फको दोस्रो चरणको परीक्षा आउँदो भदौ २० गतेबाट असोज २१ गतेसम्म सञ्चालन हुने ईपीएस कोरिया शाखाले जनाएको छ ।

सो शाखाका अनुसार दोस्रो चरणको परीक्षाका लागि १८ हजार ९९५ जनाले आवेदन दिएका छन् । उक्त परीक्षाबाट यस वर्षका लागि उत्पादनतर्फ माग भएको छ हजार ९१३ जना छनोट गरिनेछ । सन् २०१९ पछि दुई वर्ष रोकिएको भाषा परीक्षा सन् २०२२ का लागि नौ हजार ६५४ जनालाई छनोट गर्ने योजनासहित आवेदन माग गरिएको थियो ।