फिचर

एक वर्षमा कामनपाको खर्च ७ अर्ब ३१ करोड

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ मा ७ अर्व ३१ करोड ३५ लाख २९ हजार ४४२ रुपैयाँ ४७ पैसा खर्च गरेको छ ।

बुधबार राष्ट्रिय सभा गृहमा वार्षिक समीक्षा बैठकमा वित्त विभागले यो अङ्क प्रस्तुत गरेको हो। काठमाडौं महानगले करिब १९ अर्बको बजेट ल्याएकोमा साढे १६ अर्बमा झार्दा पनि ४४.२४ प्रतिशत मात्रै खर्च गरेको तथ्यांकले देखाएको छ ।

बैठकमा महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)ले, समीक्षाबाट गएको वर्षमा भएका कामको तथ्य र तथ्याङ्कीय अवस्था प्राप्त हुने राम्रा कामलाई निरन्तरता दिन, कमजोरी सुधार गर्न तथा अभाव कम गराउन मद्दत हुने बताए ।

प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले प्रस्तुतिहरुमा समस्यासँगै समाधानका उपाय सुझावका रुपमा आउनुपर्ने बताए। उनले समीक्षाबाट प्राप्त भएको तथ्यका आधारमा सुधार गर्दै जानुपर्छ। विगतमा देखिएका कमजोरी दोहोरिन दिनु नहुने बताए।

समीक्षामा महानगरका प्रवक्ता एवं वडा १७ का अध्यक्ष नविन मानन्धरले जनप्रतिनिधिले बनाएका नीतिहरु कर्मचारीहरुले प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताए।

गत वर्षको स्वीकृत नीति तथा कार्यक्रमका आधारमा कार्यान्वयन गरिएका र गर्न नसकिएका कार्यक्रमको मूल्याङ्कनका लागि समीक्षा बैठक आयोजना गरिएको महानगरले जनाएको छ। बैठकमा विभाग, आयोजना, एकाइ, सचिवालय गरी २४ क्षेत्रबाट प्रस्तुतिकरण हुनेछ।