समाचार

नेपाल विद्युत प्राधिकरणको एक वर्षको नाफा १६ अर्ब ९ करोड

काठमाडौं । कुलमान घिसिङको नेतृत्वमा निरन्तर राम्रो प्रदर्शन गरिरहेको नेपाल विद्युत प्राधिकरणले एक वर्षको अवधिमा १६ अर्ब ९ करोड रुपैयाँ मुनाफा कमाएको छ । प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८\७९ को अपरिस्कृत तथ्यांक अनुसार संस्थाको वार्षिक नाफा १६४ प्रतिशतले बढेको हो । आव २०७७\७८ मा ६ अर्ब १० करोड मात्र खुद नाफा थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार सार्वजनिक संस्थाहरूमध्ये सबैभन्दा बढी आम्दानी भएको र नाफा आर्जन गर्ने संस्था प्राधिकरण बनेको छ।

ऊर्जा खपत २७ प्रतिशत वृद्धि हुँदा बिक्री आम्दानी बढेको उनले बताए । यस वर्ष विद्युत निर्यात समेत बढेको छ । प्राधिकरण स्वामित्वका विद्युत गृहहरूबाट विद्युत उत्पादन १६ प्रतिशतले बढ्दा समेत मुनाफा बढेको उनले बताए । आव २०७२\०७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरूमा निरन्तर नाफामा गएको छ । त्यसयता कुलमान नै नेतृत्वमा छन् ।

प्राधिकरणले विद्युत बिक्रीबाट ८८ अर्ब रुपैयाँ आम्दानी गरेको छ। विद्युत महसुल संकलन विनियमावली बमोजिम समयमै महसुल तिर्ने ग्राहकलाई करिब ९८ करोड रुपैयाँ छुट दिइएको छ। यसबाट विद्युत बिक्रीबाट ८७ अर्ब खुद आम्दानी भएको छ, जुन अघिल्लो आवको तुलनामा २२ प्रतिशतले बढी हो। विद्युत चुहावट १५.३८ प्रतिशतमा झरेको छ ।

प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रण गर्न सञ्चालन गरिएका अभियानबाट विद्युत् चुहावट १५.३८ प्रतिशतमा झारिएको छ। ‘चुहावट नियन्त्रणबाट मात्र प्राधिकरणलाई अघिल्लो वर्षको तुलनामा करिब २ अर्ब रुपैयाँ थप आम्दानी भएको छ । आव २०७८\७९मा भारतर्फको विद्युत निर्यात बढेको छ । आयात घटेको छ।