समाचार

हेटौडाबाट रविको प्रश्न : झ्याल–झ्याल र कोठा–कोठामा मन्त्रालय किन चाहियो ?

हेटौडा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बाग्मती प्रदेशको राजधानी हेटौँडामा एउटै भवनका झ्याल–झ्याल र कोठा–कोठामा मन्त्रालय राखेको भन्दै कडा आलोचना गरेका छन् । प्रदेश संरचना संचालन गर्दा चरम दुरुपयोग गरिएको प्रति उनले विरोध जनाएका हुन् । प्रदेश संरचनालाई व्यवस्थित तरिकाले सञ्चालन गर्नुपर्ने उनको भनाई छ । हेटौँडामा शुक्रवार आयोजित बाग्मती प्रदेश भेलालाई सम्बोधन गर्दै लामिछानेले प्रदेश सरकारलाई आफ्नो कार्यकर्ता पोस्ने स्थान बनाइएको आरोप लगाए ।

उनले बाग्मती प्रदेशका १८ जना मन्त्रीलाई साँढेको संज्ञा दिए । ‘१८–१८ जना साँढे किन चाहिन्छ ? यदि यसलाई सही ढङ्गबाट चलाउन सकेको भए, चुस्त तरिकाले चलाउन सकेको भए, यसलाई खर्च कम हुने र नागरिकसम्म पुग्न सकेको भए एउटा अर्को तह हुन सक्थ्यो,’ उनले भने । लामिछानेले नागरिकलाई विभिन्न झुटा आश्वासन देखाएर नागरिककै पसिनाको पैसा उठाएर खानेहरूको खाता खोलेर हिसाब गर्नुपर्ने समय आएको उल्लेख गरे । मकवानपुरमा सुरुङ मार्गको झुटा आश्वासन देखाएर पैसा खानेहरू र उद्योग कलकारकाखा बन्द गर्नेहरूका खाता खोलेर हिसाब निकाल्ने समय आएको उनको भनाई छ ।