समाचार

भोटका लागि एमालले नागरिकता विधेयकमा पाखण्डी प्रचार गरिरहेको छ : प्रचण्ड

भरतपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नागरकिता विधेयकबारे एमालले भोटका लागि पाखण्डी प्रचार गरिरहेको बताएका छन् । विधेयकका प्रावधान एमालेले ल्याएको अध्यादेश भन्दा फरक नभएको भन्दै अहिले उसले गरिरहेको प्रचार केवल भोटका लागि भएको प्रचण्डको भनाई छ । बुधबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले नेकपा एमालेले भोट बटुल्न गलत प्रचार गरेको बताएका हुन् ।

विधेयकमा आमाबुवा दुवै नेपालको नागरिक भएका छोराछोरीले नागरिकता पाउने विषय मात्र नयाँ भएको समेत स्पष्ट पारे । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा लगिएको अध्यादेशमा भएका व्यवस्थाभन्दा कुनै फरक नभएको भन्दै उनले अगाडी भने, ‘ती मान्छेहरू जसले यही विधेयकलाई पोहोर अध्यादेशका रूपमा लगेका थिए तिनीहरूले नै यसलाई राष्ट्रघाती भन्नुभन्दा बेइमानी र अनैतिक केही हुँदैन ।’

राज्यव्यवस्था तथा सुशासन समितिको प्रस्ताव सदनमा लैजान पनि तत्कालीन नेकपाका अध्यक्ष ओली र एमाले गुटले नै नमानेको उनले बताए । एमालेले चुनावलाई हेरेर गलत प्रचार गरिहेको छ भन्दै उनले भने, ‘राष्ट्रवादको मुकुण्डो लगाएर भोट बटुल्न सकिन्छ कि भनेर दुस्साहस गरिररहेका छन् । तर नेपाली जनता सचेत भइसकेका छन्, बुझिसकेका छन् । यस्ता पाखण्डी प्रचारको पछि लाग्दैनन् ।’