विश्व

ब्रिटेनका नयाँ राजा चार्ल्सले पहिलो पटक गरे बेलायती संसदमा सम्बोधन

Reuters

लण्डन । ब्रिटेनका राजा चार्ल्स तृतीयले त्यहाँको संसद्‌लाई लोकतन्त्रको जीवन्त अङ्ग भन्दै प्रशंसा गरेका छन्। राजाका रूपमा संसद्‌मा गरेको पहिलो सम्बोधनका क्रममा उनले महारानी एलिजाबेथ द्वितीयाको निधनमा सांसदहरूले व्यक्त गरेको समवेदना स्वीकारेको बीबीसीले लेखेको छ । राजा चार्ल्सले आफ्नी आमाले गरेको निःस्वार्थ सेवाका उदाहरण अनुशरण गर्ने बताए। राजा बनेपछि पहिलो पटक संसद्‌लाई सम्बोधन गर्न वेस्टमिन्स्टर हलमा पुगेका चार्ल्स तृतीयलाई ट्रम्पेटको धुनसहित स्वागत गरिएको थियो।

महारानी एलिजाबेथ द्वितीयाको निधन भएको पाँचौँ दिन राजा चार्ल्स त्यहाँ पुगेका हुन्। आफ्नो मन्तव्यका क्रममा उनले संसदका दुवै सदनका सभामुखहरूले व्यक्त गरेको समवेदना स्वीकार गर्दै आफ्नो भनाइ राखेका थिए। सो क्रममा क्रममा उनले भने, ‘हाउस अफ लर्ड्स् र हाउस अफ कमन्समा व्यक्त भएका समवेदनाप्रति म एकदमै कृतज्ञ छु।’ म तपाईँहरूको अघि उपस्थित भइरहँदा वेस्टमिन्स्टर हलमा रहने सांसदहरूको इतिहासको ओज महसुस गरिरहेको छु।’ संसद्‌मा सम्बोधन गरेपछि एडिन्बरा पुगेका राजा चार्ल्स तृतीय र क्वीन कन्सोर्ट कमिला सेन्ट जाइल्स कथिड्रलसम्मको शवयात्रामा सहभागी भएका थिए।

त्यहाँ दिवंगत महारानी एलिजाबेथको पार्थिव शरीर २४ घण्टाका लागि राखिने छ। मानिसहरूले त्यहाँ महारानीप्रति सम्मान व्यक्त गर्न सक्नेछन्। सेप्टेम्बर १९ मा वेस्टमिन्स्टर एबीमा अन्तिम संस्कार गर्नुअघि महारानी एलिजाबेथ द्वितीयाको पार्थिव शरीरलाई चार दिन राजकीय अन्तिम श्रद्धाञ्जलिका लागि राखिने छ। उक्त समयमा सर्वसाधारणलाई शवपेटिकामा अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न दिइने छ। महारानीको राजकीय अन्तिम संस्कारमा उनको परिवार, राजनीतिक नेता र विश्वनेताहरू ब्रिटेनको समयानुसार सेप्टेम्बर १९ को दिन ११ बजे सहभागी हुनेछन्।

उक्त दिनलाई ब्याङ्क होलिडे अर्थात् सार्वजनिक बिदा घोषणा गरिएको छ। विभिन्न स्थान हुँदै एडिन्बरा विमानस्थलबाट महारानीको शवपेटिका बकिङ्गम प्यालेस लगिने छ। बुधवार अपराह्न ब्रिटेनको समयानुसार ३ बजे त्यसलाई वेस्टमिन्स्टर हलमा पुर्‍याइने छ। त्यसपछि अन्तिम संस्कारअघि बिहीवार चार दिन राजकीय सम्मानसाथ पार्थिव शरीरलाई राखिने छ।

राजकीय अन्तिम संस्कार सेप्टेम्बर १९ को दिन ११ बजे हुनेछ र त्यस बेला विन्ड्सर कासलसम्म शवयात्रा हुने छ। महारानीको अन्तिम संस्कार विन्ड्सरस्थित किङ जोर्ज सिक्स्थ मेमोरिअल च्यापलमा हुनेछ। अन्तिम संस्कारअघि नयाँ राजाले स्कटल्यान्ड, नोर्दन आयरल्यान्ड र वेल्सको भ्रमण गर्नेछन्।