विज्ञान प्रविधि

जलवायु परिवर्तन न्युनिकरण नगरे जिडिपीमै असर पर्छ : विश्व बैंक

काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण नगर्ने हो भने नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी)मा गहिरो असर पर्ने विश्व बैंकले चेतावनी दिएको छ ।

नेपालको राष्ट्रिय जलवायु तथा विकास प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकले जलवायु परिवर्तनका असर न्यूनीकरण नगर्ने हो भने त्यसले जीडीपीमै असर पर्ने बताएको हो ।

सन् २०५० सम्म कुल गार्हस्थ उत्पादनमै ७ प्रतिशतसम्मको गिरावट आउन सक्ने प्रतिवेदनमा औल्याइएको छ । प्रतिवेदनले जलवायु उत्थानशीलता निर्माण गर्नुपर्ने खाँचो औल्याएको छ ।

हरित, उत्थानशील र समावेशी विकास हासिल गर्न जलवायु तथा विकासमा एकीकृत समाधान गर्न आवश्यक नीति एवम लगानी सम्बन्धी विभिन्न सुझाव प्रतिवेदनमा दिइएको छ ।

नेपालको आपूर्ति श्रृंखला, कृषक र शहरी वासिन्दाहरू यसअघि नै बाढी, पहिरो तथा खडेरीजस्ता जलवायु परिवर्तनका विनाशकारी असरको सामना गर्न बाध्य भएको समेत विश्व बैंकले जनाएको छ । यस पृष्ठभूमिमा उत्थानशीलता निर्माणका लागि संगठित प्रयास नभए भविष्यमा आउने जलवायुजन्य प्रकोपले देशको दीर्घकालीन विकासलाई जोखिममा पार्ने समेत प्रतिवेदनमा उल्लेख छ ।

दक्षिणी क्षेत्र बाढी एवं उष्ण दबावका बढ्दो घटना र उत्तरी क्षेत्र भूक्षय, पहिरो, जलदबाव तथा हिमतालको अधिप्रवाहबाट प्रभावित हुँदा जलवायु परिवर्तनशीलता नेपालमा खाद्य असुरक्षा र गरिबीको प्रमुख कारण बनेको प्रतिवेदनले उल्लेख गरेको छ

देशको अर्थतन्त्र वृद्धि हुँदै गर्दा नेपालले हरितगृह ग्याँस उसर्जन र वायु प्रदूषणको समस्यालाई समेत सम्बोधन गर्नुपर्ने सुझाव प्रतिवेदनको छ । विश्वव्यापी जलवायु परिवर्तनमा नेपालको भूमिका नगन्य (विश्वमा उत्सर्जन हुने कूल हरितगृह ग्यासको करिब ०.१ प्रतिशत) रहेको भएपनि यस राष्ट्रको हरितगृह उत्सर्जन दर तीव्र गतिमा वृद्धि भइरहेको प्रतिवेदनमा उल्लेख छ