मनोरञ्जन

न्युयोर्कमा ओलाङचुङेहरुको बनभात

ससांग लामा, न्युयोर्क

क्याम्पिङ जानेहरुले आ-आफ्ना टेण्टहरु वलुङ किदुकको भवनमा August 31 मा पुर्याइ सक्नुपर्नेछ ” भनेर उर्दी जारी भाको थियो ।क्याम्पिङको हल्ला त २ महिनाअघि नै पिटिइेएको थियो । न्युयोर्के वलुङेहरु क्याम्पिङ्गको लागि आत्तुरी रहेका थिए । कंक्रिटको जंगलमा बस्दा बस्दा दिक्क भएर, दुइ तिन दिनको लागि भएपनि झोली तुम्बी भिरेर जंगलबास गर्न सुरिरहेका रहेका थिए, बनभात खान तम्सिरहेका थिए ।

अम्रिकी क्यालेण्डर अनुसार सेप्टेम्बर ३,४,५ Long Weekend अर्थात लामो सप्ताहान्त परेको थियो | लामो सप्ताहान्त भन्नासाथ लामो बिदा भन्ने बुझिन्छ | अम्रिकी लेबर डे ५ सेप्टेम्बरमा परेकोले Long Weekend परेको थियो | कहीँ नभाको जात्रा हाँडी गाउंमा भने झैँ, विश्वभर लेबर डे , अर्थात श्रमिक दिवस, मे महिनाको १ तारिख मनाइन्छ भने, अम्रिकामा चाँहि सेप्टेम्बरमा ! लामो सप्ताहान्त आउनै हुन्न, अम्रिकीहरु लामो यात्रामा निस्कन्छन, हाइवेमा हुइँकिन्छन, बतासिन्छन, ज्यान छाडेर आराम गर्छन् ।

न्युयोर्के ब्यस्त जिन्दगीको कुराकानी गरेर साध्य छैन | मेरो ब्राजिलियन सहकर्मी रिता शुक्रबारको दिन हतारिरहेकी थिइन | किन यसरी हतारेकी भनेको त, ‘म अहिले कामबाट सिधा एअरपोर्ट गएर ब्राजिलको प्लेन समात्नु छ’ भनिन । आफुले सकाउनु पर्ने Paper Work गर्नमा तल्लिन थिइन । खोइ लेउ, तिम्रो पेपर वर्क म गरिदिन्छु भनेको त शुरुमा त अनकनाइन । पछि उसले नभ्याउने भएपछि, लु है मेरो Username र Password भनेर बाँकी रहेको काम मलाई जिम्मा दिएर हुर्रीइन | तिनदिने लामो सप्ताहान्त र त्यसमाथि केही दिन थपथाप् बिदा स्विक्रित गराइ तिनी भेकेसनको लागि ब्राजिल हान्निइन्। अनि लोग्नेलाई नलाने भन्दा, मुस्काउंदै भनिन : ‘कहिलेकाहीँ एक्लै जानुको मज्जा बेग्लै हुन्छ’!

क्याम्पिङ्गको कुरो गर्दै, म त मेरो सहकर्मी र सप्ताहान्तको बखान पो गर्न थालेछु । लु लागम अब क्याम्पिङतिर ,, धेरै जसो Camper हरु २ तारिख शुक्रबार नै त्यहाँ पुगेका थिए । Upstate NY स्थित State Park मा अवस्थित क्याम्पिङ साइटमा, डेढघण्टाको ड्राइभमा, भाई कुङ्ग छिरिङ्ग र म चाँहीँ शनिबार बिहानी पुग्यौँ ।मनकारी भाईहरुले हाम्रो पाल पहिले नै टांगिसकेका थिए । हाम्रो पाल संगैको छिमेकी छिमे ग्याजो (भुपु वलुङ किदुक प्रेसिडेन्ट) त धमाधम आफ्नो पाल उखेल्दै पो थियो । “हिजो, तरुनी तन्देरीहरुले रातभर गित गाएर, हल्ला गरेर सुत्नै दिएन” भन्ने उनको गुनासो थियो । हल्लाको कुरो सुनेर पुरानो कुरो पो याद आयो । एकचोटि छोरीले मलाई न्युयोर्कस्थित सेण्ट्रल पार्कमा Open Concert मा लगेकी थिइन | त्यस्तो डाङ्गडाँग र डुङडुङ आवाजमा समेत म निदाएको थिएँ। भनेपछि सुत्न सकिएला भनेर हामी चाँहि ठाउँ सरेनौँ । बेलुकीको बिजुली पानीको असरले होला, हामी दुई दाजुभाइलाई चाँहि हल्लाले हल्लाएन ।

बिहानको बनभात खाएर, को कहाँ पाल टांगेर बसेको रहेछन भनेर, हामीलाई अनुमति प्राप्त क्याम्पिङ साइटको अवलोकन गरियो । न्युयोर्कैमा बसेपनि लामो समयसम्म भेट नभएका ओलाङचुङ भेगका धेरैसित भलाकुसारी भयो । त्यस क्याम्पिङ साइटमा वरिपरि रुख र बीचमा खुला चउरी भएका रमणिय स्थलहरु रहेछन ।मनमिल्ने, हितचित मिल्ने, बिजुली-पानी मिल्नेहरुको आ-आफ्नो ग्रुप थियो | बाग (म्हाजाङ), स्योपरा, क्यारम, तास नारिसकेका थिए | धार्मिक ग्रन्थ बाचन् गरिरहेका एक ग्रुप महिला पनि देखियो | प्रतेक चउरीमा पार्क ब्यवस्थापनले मोबाइल ट्वाइलेट्हरु पनि राखेका थिए | नत्रभने हामी त झाडिभित्र छिरेर, २ नम्बर दिएर, तितेपातीको झारले पुछ्न रेड्डी थियौँ ! रुखतिर फर्केर लघुशंका गर्न कम्ता मज्जा आउंदैन त ! क्याम्पिङ साइट बुकिङ गर्न जाँदा, पार्कका अधिकारीहरुले, ‘तिमारु हल्लेहरुलाई, यही साइट ठीक छ, अन्यत्र हल्ला गर्न दिँदैन’ भनेर ल्याएछन ।

SONY DSC

हाम्रो तिनदिने वलुङ क्याम्पिङमा केवल वलुङेहरु मात्र नभएर, वलुङ, ढोक्पे, लुङथुङ, लेलेप, लेप्चुङ, याङमाक, खाङ्बछेँ, अन्य हिमाली समुदायका सदस्यहरु, Friends of Walung, पनि थिए | बाहिरीय ज्वाँईँ र बुहारीहरु नहुने कुरै भएन । हाम्रो भेलामा तीन भाषा चल्छ । कर्मभुमिको अंग्रेजी भाषा चल्ने नै भयो । जन्मभुमी नेपालको खसभाषा र हाम्रा पुर्खाहरुको उदगम स्थल तिब्बतको तिब्बती भाषा अर्थात सम्बोटा भाषा ! क्याम्पिङ साइटमा पनि यि तिनै भाषामा सुचना जारी गरिएको थियो भने, खाना खान बोलाउंदा चाँहि थाल नै ठट्याइेएको थियो । जंगल भित्र पनि, खानेकुरा राख्ने भण्डार Pantry Room , बफे खानाको टेबल सेटिङ, किचेन आदिको लागि पनि अलग अलग पाल टांगिनु, ब्यवस्थापकहरुको कुशल ब्यवस्थापनलाई मान्नुपर्छ | चुङ्दा उक्यावको नेत्रित्वमा भएको वलुङ किदुक कार्यसमितिको टिमले गरेको कामलाई सबैले सर्हाना गरे ।

समुह समुहमा अलग अलग बसेको हुनाले, ओलाङचुङ गोला गाउंस्थित टोलको नाम ढोङदे र ढोङमे हामीले सम्झयौं । हामी ढोङमेमा थियौँ भने, अझ ग्याजोको पाल त यारोङमा थियो | समुहगत भेलामा, फिन्जो र मिङमा ग्याबो उर्फ धन बहादुरको क्याम्पामा मैले धेरै समय बिताए ठुलो चउरीको कुनोमा उनारुले गजबको ठाउँ फेला पारेको थियो । त्यहाँ काठको रेडिमेड एकढिक्के बेञ्ची र टेबल पनि थियो । रुखको मुनी नै उनारुले पालहरु टाँगेका थिए । नारायण गोपालको मनमोहक गाना सुन्दै, बिजुली पानी टुन्काउँदै, आफ्नो गाउँ ठाउँलाई सम्झन्दै बेस्मारी रमायौँ ।हाम्रा चेलीहरुले ताराम्तार सेकुवाहरु ल्याएर हामीलाई औधी माया गरे । ब्रेकफास्ट र लन्च चाँहीँ नित्य खायौँ, डिनर चाँहीँ खायौँ कि खाएनौँ अत्तो पत्तो भएन, किनभने बेलुकी पख, पोलेको मासु बेस्मारी खाइेएको थियो | हामी हिमाली भेगका बासिन्दाहरु बिहान तातो पानी पिउने हुनाले, बिहान, त्यहाँ ठुलो थर्मसमा तातो पानी राखिएको थियो । तातोपानी पिइसके पछि, नुन हालेको भोटे नौनी चिया, गुलियो चिया र अन्य बग्रेल्ती जुसहरु, छानि छानि पो थियो त !

SONY DSC

Community Outing मा बिहानीपखको समय मलाई औधी मनपर्छ । जहाँ पनि म सखारै उठछु । क्याम्पिङमा पनि सबैजना सुतिरहेको बेला झिसमिसेमा उठदा, एकजना किचेनको भाई, बिहानको चिया नाश्ताको चाँजोपाँजो मिलाउंदै थिए | बातावरण चकमन्न थियो, एकाध चराहरुको चिर्बिर र बेला बेलामा किचनमा भाँडा बजेको आवाज बाहेक केही सुनिदैनथ्यो | कतै जंगलभित्रबाट भालु त फुत्त निस्कन्दैन? भनेर घरि घरि चारैतिर हेर्थें ! मेक्सिकोको रिसोर्ट सिटी कनकुनको समुद्री तटमा बिहानीपख, समुद्रको छालले पखालेको ताजा बालुवामा, नाङ्गै पाइताला हिंडेको रमाइलो क्षण पनि सम्झेँ ।

हामी बसेको चउरीहरु त आधार शिविर थिए ।बनभात लन्च खाएर सबै लाखापाखा लाग्थे ।कोही ताल तलैयातिर, कोही भालु माउण्टेनतिर, कोही हाइकिङतिर, कोही नजिक रहेको गोम्बातिर लाग्थे । पासँग भाईको नेत्रित्वमा हामीले एउटा सानो सानो माउण्टेनमा खल्खली पसिना आउन्जेल हाइकिङ गर्यौँ | अघिल्लो दिन खाएको डोजरको सेकुवा त खलात्त खुलुत्तै गै गो नि ! एकाध क्याम्परहरुले त तिनै दिन, तासमा रमाए , स्योपारा बजारए, बाग ठट्टाए । तिनले खाना खाए कि खाएनन ! जे होस् ! यसो गर्न पाउनु उनारुको गणतान्त्रिक अधिकार हो ।

आयोजक वलुङ कार्य समितिले बिभिन्न खेलहरु पनि खेलाएका थिए । हामीले उहिले स्कुलमा खेलेका खेलहरु – आधा जिउ बोरामा हुलेर कुदने, चम्चामा गुच्चा राखेर दाँतले चेपी हिँडने, गाडीको टायरको दुलोमा खुट्टाले हिर्काएर बल छिराउने, डोरी तान्ने खेल र अन्य बग्रेल्ती खेलहरुको आयोजना भएको थियो । दुई दुई चोटि त बिङ्गो पनि खेलियो । लङ्गुरबुर्जा, क्यारेम, ब्याडमिण्टन, मिनी टेबल टेनिस… के मात्र थिएन । डोरी तान्ने खेलमा त डोरी चुंडेर दुवै पक्षका गर्ल्याम गुर्लुम्मै लडेका थिए । आगामी बनभातमा त ओलाङचुङमा खेल्ने ‘टुनो’ खेल पनि समाबेश गर्नुपर्ला । धनुबाण पनि राखिनु पर्छ मेरो जिकिर छ, कारण हाम्रो पुर्खाहरु शिकारी थिए । ‘व’ भन्ने जन्तुलाई खेद्दै खेद्दै अहिलेको वलुङ ठाउँमा पुगेको किंवदन्ती छ | लुङ भनेको ठाउँँ हो | ‘हामीले क्याम्पिङ साइटमा १०० डलर कुनै ठाउंमा लुकाएको छौँ, जसले भेटछ, त्यो पैसा उसैको भयो’ भनेर पनि घोषणा गरेका थिए । तरुना तन्देरीहरुले धुइँपातल खोजे, अन्त्यमा एकजनाले फेला पनि पारे !

तीन दिनको क्याम्पिङ्ग अर्थात बनभात तुर्याएर हामी फर्केर न्युयोर्के ब्यस्त जीवनमा हेलिइसकेका छौँ । यस् क्याम्पिङले आपासी भाईचारामा अभिवृद्धि भएको छ | एकले अर्कालाई राम्ररी चिन्ने मौका दिएको छ, सामुहिक कार्यगत एकतालाई बढावा दिएको छ । करिब तिसदेखि चालिस धुरी पालहरु थिए | कम्तिमा १०० जना क्याम्पर्स थिए होलान् । कोही पनि कसैसित ठुस्केको, रिसाएको, झगडा गरेको देख्नु परेन | साँझ पखको नेपाली नाचमा सबै रमाए | एउटा गितको बोल यस्तो थियो; “ससुराली जाँदा दिल बस्यो सालीमा… तरुनी तन्देरीहरुले बलिउड संगितमा जिउ हल्लाए । को बैँशे, को अधबैँशे, को तन्देरी , सबै नाचे, सबैले मन पराए । एक किसिमको तरुण बातावरण पो थियो त !

न्युयोर्केली ओलाङचुङ्गेलीहरु र त्यसको सेरोफेरोकाहरुले मनाएको क्याम्पिङ ब्रितान्त अपुरो हुनेछ यदी मैले एण्डिलाको बयान गरिन भने | उनको नाम एण्डी हो । बयस्क, बच्चा वलुङ्गेहरु सबैले उनलाई मान गरेर एण्डीला भनेर बोलाउँछन । ७० बर्ष नाघिसकेका यी वृद्धा एण्डिला, रुमेनियाबाट सानैमा अमेरिका आएका हुन । न्युयोर्कस्थित वलुङ किदुक अर्थात ओलाङचुङ समाजका भुप प्रेसिडेन्ट छिमे ग्याजोसित एण्डिलाको भेट सन २००८ मा फरेष्ट हिलमा भएको रहेछ । बौद्व धर्ममा आस्था राख्ने एण्डिलाको धर्म गुरु चाँहीँ नाम्खा रिम्पोन्छे रहेछ | ग्याजो र एण्डिलाको हिम्चिम बढदै गै यि दुइजना जिगरी दोस्त नै बन्न पुगेछन । एन्डिला वलुङ किदुक अम्रिकाको सदस्य पनि हो र उनले लेबी पनि बुझाउंदै आएका छन । यसपाली फुटुकको अवसरमा न्युयोर्कबाट वलुङ जाने समुहमा उनी संलग्न पनि हुन चाहेका थिए । तर आफ्नो उमेरका कारण पैदल् हिंडन सकिन्छ कि सकिन्न भने दोधारले गर्दा उनले आफ्नो बिचार हाफ्नु पर्‍यो| तर उनी दुई महिनाको लागि भारतस्थित धर्मशाला जाँदैछन ।

क्याम्पिङबाट सबैसित अलग्गिने दिन, फिन्जोको कुनोमा बसेर हामीले घेछ्याङ (बिदाइको छ्याङ ) पियौँ । यो बनभात ओलाङ्चुङेहरुको मात्र थिएन । ओलाङचुङको सेरोफेरोमा रहेका थुप्रै बस्तिहरुलाई प्रतिनिधित्व गर्ने पुर्वेलीहरुको बनभोज थियो । हिमाली भेगकै बाहुल्य थियो | यो अपुर्व पुनर्मिलन, भेला, जमघटको सम्झना, निकै समयसम्म मनमा आलै रहनेछ । यही बनभोज सम्बन्धी कथा लेख्ने क्रममा एउटा खुसीको कुरा खुलस्त पार्न चाहें : न्युयोर्कस्थित ओलाङचुङ समाजले, सानै भएपनि, न्युयोर्कमा, सामुदायिक भवन् किन्न सफल भएको छ । यस् समाजका सम्पूर्ण सदस्यहरुले मननयोग्य चन्दा दिएर यो वलुङ घर किनिएको हो । बेबी सिटर, हाउसकिपर, क्याब ड्राइभर, कन्स्ट्र्कशन वर्कर, नेल टेक्निसियन, स्वास्थ्यकर्मी आदिले मनग्गे पैसा दिएर घर जोडिएको हो | पैसा दिनलाई मिलिनियर हुनु पर्दैन रहेछ, मनकारी हुनुपर्दो रहेछ । न्युयोर्कस्थित ठुला नेपाली संस्थाहरुले पनि ओलाङ्चुङेहरुबाट प्रेरणा लेओस ! सानो गाउँ, ठुलो मुस्कान छर्नेबाट सिकोस ! यतिमै बिट मारेँ ।