समाचार

बाबुराम भट्टराईसँग सहकार्य लामो समयसम्म चल्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा. बाबुराम भट्टराईसँगको सहकार्य लामो समयसम्म जाने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले आफूहरुको सहकार्य चुनावसम्म मात्र नभएको बताए । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले एउटै चुनाव चिह्नमा प्रतिस्पर्धा गर्दैछन् । प्रचण्डले देशलाई समृद्धिको विकासको नयाँ मोडल दिनु पर्छ भनेर सहकार्य गरिएको बताए ।

संविधान जारी भएपछि बाबुराम भट्टराईले वैकल्पिक राजनीतिको र आफूले नेकपा एमालेसँग एकताको छुट्टाछुट्टै प्रयोग गरेको तर ती दुबै व्यवहारतः सफल नभएको भन्दै प्रचण्डले अब फेरि बाबुरामसँग मिल्ने बताए । प्रचण्ड र बाबुराम एक ठाउँमा हुँदा लाखौं करोडौं जनता एक ठाउँमा हुने उनको भनाई छ । प्रचण्ड र बाबुराम इतिहासले पैदा गरेको नेतृत्वहरु र युगान्तकारी भूमिका खेल्ने नेताहरु भन्दै प्रचण्डले उनीहरु अलग हुँदा कसरी आन्दोलन नै नराम्रोसँग धक्का खाँदो रहेछ र क्रान्तिकारीहरु हेपिँदा रहेछन् भन्ने अहिले भोगिरहेको बताए ।