समाचार

फेरिँदै प्रचार शैली, फेसबुक बुस्टिङमा लाखौं बाहिरियो

काठमाडौं । प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा प्रचार शैली फेरिन थालेको संकेत मिलेको छ । साविकमा ठूल्ठूला आम सभा, पर्चा पम्प्लेट छपाएर गाउँगाउँ पुग्ने उम्मेदवार अब सामाजिक सञ्जालमा केन्द्रित हुन थालेका छन् । फेसबुक, ट्वीटर, इन्स्टाग्राम, टिकटकलगायत सामाजिक सञ्जाल र इन्टरनेटमा आधारित अन्य प्लेटफर्ममार्फत प्रचार गर्नेको संख्या बढेको छ । यसले लाखौं रुपैयाँ बाहिरिएको समेत पाइएको छ ।

फेसबुक सञ्चालन गरिरहेको मेटाले सार्वजनिक गरेको ‘मेटा एड लाइब्रेरी रिपोर्ट’ अनुसार गत सेप्टेम्बरदेखि नोभेम्बर ११ तारिक (सोमबार दिउँसो १२ बजेरसम्ममा) पाँच हजार पाँच सय ६० फेसबुक पेज र प्रोफाइलबाट चुनावी विज्ञापन ‘बुस्ट’ गरिएको छ। यो संख्या निर्वाचन र राजनीतिक क्षेत्रसँग जोडिएका विषयबारे मात्रै गरिएको सःशुल्क विज्ञापन रहेको राससले जनाएको छ । सोमबार दिउँसोसम्ममा कूल ६७ हजार ३६ अमेरिकी डलर बराबर खर्च भइसकेको मेटाको विवरणमा देखिन्छ।

प्रतिनिधिसभातर्फ काठमाडौँ क्षेत्र नम्बर ५ का उम्मेदवार श्रीराम गुरुङले पछिल्लो ३० दिन अवधिमा सबैभन्दा बढी तीन हजार एक सय २५ डलर खर्च गरेको मेटाको विवरणमा उल्लेख छ। काठमाडौँ क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभातर्फका स्वतन्त्र उम्मेदवार सुशान्त श्रेष्ठको फेसबुक पोस्ट बुस्ट गर्नका लागि दुई हजार दुई सय ३८ डलर खर्च भइसकेको छ।

नेकपा (एमाले)का तर्फबाट काठमाडौँ क्षेत्र नं १ मा प्रतिनिधिसभाका उम्मेदवार किरण पौडेलले एक हजार तीन सय ५० डलर खर्च गरेका छन्। त्यस्तै डा. सुरेस बस्नेतको फेसबुक अकाउन्ट बुस्ट गर्नका लागि एक हजार आठ सय डलर खर्च भइसकेको देखिन्छ। बस्नेत भोजपुर–१ बाट प्रतिनिधिसभाका उम्मेदवार छन्।

‘विकास पुरुष इस्तियाक राइलाई फेरि जिताऔँ, नेपालगञ्जलाई समृद्ध बनाऔँ’ नामको फेसबुक पेजका पोस्ट बुस्ट गर्न एक हजार दुई सय ६८ डलर खर्च भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकातर्फबाट काठमाडौँ क्षेत्र नं ७ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार गणेश पराजुलीको फेसबुक पेजमा राखिएका पोस्ट बुस्ट गर्न नौ सय ३७ डलर खर्च भइसकेको मेटाको तथ्याङ्कबाट देखिन्छ।

काठमाडौँ क्षेत्र नं ५ प्रदेश ९ख० बाट प्रदेशसभाका लागि स्वतन्त्र उम्मेदवार जगन्नाथ लामिछानेको फेसबुक पोस्टबाट भएको विज्ञापनका लागि नौ सय चार डलर खर्च भएको छ। फेसबुक पोस्ट बुस्ट गर्नकै लागि भएको खर्चमा त्यस्तै सोमप्रसाद पाण्डे नामको अकाउन्टमा आठ सय ४२ डलर, प्रदीप पौडेल नामको पेजमा सात सय १७ डलर, अनुप बोहराको फेसबुक पोस्टमा छ सय ७८ डलर, रन्जु दर्शना नामको पेजका लागि छ सय ६६ डलर र उपेन्द्र यादव नामको पेजमा छ सय ५२ डलर खर्च भएको छ।

ह्वाइ नेपाली कांग्रेस नामको पेजमा पाँच सय ३५ डलर र रवीन्द्र मिश्रको नाममा पाँच सय ३५ डलर खर्च भएको छ। त्यस्तै ‘नो, नट अगेन’ अभियानका कुरा पनि फेसबुकमा बुस्ट भएका छन्। सामाजिक सञ्जालमा नो नट अगेट अभियान चलाउने व्यक्तिहरू पहिचान गरी कारबाही गर्न निर्वाचन आयोगले प्रहरीलाई पत्राचारसमेत गरेको थियो। तर त्यसविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको थियो भने उक्त अभियानलाई कारबाही नगर्न आदेश दिएको छ।